५ जेष्ठ २०८१, शनिबार

 

शिक्षा प्रणालीलाई युगमैत्री बनाउन आवश्यक : पूर्वशिक्षा मन्त्री पौडेल

बागलुङ । बागलुङ क्षेत्र नं २ का सांसद तथा पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षाक्षेत्र सुधार गरी शिक्षा प्रणालीलाई आजको युगमैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ । सदाशिव प्राथमिक विद्यालय बागलुङ नगरपालिका ६ भान्सामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नवनिर्मित भवनको उद्घाटन गर्दै पौडेलले यस्तो बताउनु भएको हो ।

पौडेलले नेपालमा शिक्षा क्षेत्रमा राज्यले ठुलो लगानी गरिरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालयले अत्यधिक मेहनत गर्नुपर्ने बताउनु भयो । शिक्षा प्रणाली सुधार गर्न राज्यको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै सबैै सरोकारवालासँग सहकार्य गर्नु पर्ने बताउनु भयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे भवन निर्माणका लागि प्राप्त भएको १८ लाखमा विद्यालयले एक लाख गरी ३ कोठे भवन निर्माण गरिएको छ ।

कार्यक्रमा बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्का, बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, बागलुङ नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रुद्र केसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको परिवारले आफ्ना बुवा अगन्धर सापकोटाको स्मृतिमा स्थापना गरेको अगन्धर सापकोटा स्मृति अक्षय कोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

गत वर्षको वार्षिक परीक्षामा विद्यालयमा सर्वोत्कृष्ट अंक ल्याउने दुई जना छात्र, दुई छात्रा, विपन्न छात्र छात्रा गरी ६ जनालाई जनही १ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा युकेजीमा अध्यन गर्ने छात्रा स्वीकृति सापकोले छात्रवृत्तिबाट प्राप्त गरेको रकम विद्यालयको अतिरिक्त क्रियाकलाको लागि सहयोग गरेकी छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता, विद्यालयका सल्लाहकार गोविन्द आचार्यको स्वागत र प्रधानाध्यापक लक्ष्मण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।विसं २०४८ सालमा स्थापना भएको सदाशिव प्राथमिक विद्यालयमा ६५ जना विद्यार्थीहरुले अध्ययन गर्दछन् ।

शिक्षक र कर्मचारी ९ जना रहेको यस विद्यालयमा व्यवस्थापन समितिका सबै सदस्यहरुले आफना छोराछोरीहरु यसै विद्यालयमा पढाउने गरेको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले नयाँ विश्वलाई बताउनुृ भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्