५ जेष्ठ २०८१, शनिबार

 

देउराली प्राविमा ४ कोठे भवनको पूर्वशिक्षामन्त्री पौडेलद्वारा शिलन्यास

बागलुङ । बागलुङ नगरपालिका– ५ ओडारचौरमा निर्माण हुने श्री देउराली प्राथमिक विद्यालयको ४ कोठे नयाँ भवनको पूर्वशिक्षा मन्त्री तथा बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले आज शिलान्यास गर्नुभयो ।

पूर्वशिक्षा मन्त्री पौडेलले भौतिक पूर्वाधार विकाससँर्गै शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । सर्वसाधारण जनताका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयको समग्र अवस्था सुर्धान समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीहरु एकजुट भएर विशेष मेहनत गर्न सके नगरको नमुना विद्यालय बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

बागलुङ नगरपालिकाका नगर–उपप्रमुख राजु खड्काले शैक्षिक विकास र बालमैत्री वातावरण निर्माण गर्नका लागि नगरपालिका विद्यालयसँग सदैव साथमा रहेको बताउनुभयो । सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ५० लाखको लागतमा भवन निर्माण प्रक्रिया अगाडि बढाइएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी आचार्यले नयाँ विश्वलाई बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमारी शर्माको अध्यक्षता, बानपा ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीको स्वागत र विद्यालयका शिक्षक उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।२०५१ सालमा स्थापना भएको यस विद्यालयमा २८ जना बालबालिका अध्ययन गर्दछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्