१ जेष्ठ २०८१, मंगलवार

 

दिलप्रसाद जस्ले रामचन्द्रका लागि चिठी लुकाएर जेलभित्र पुर्‍याउँथे

बागलुङका दिलप्रसाद सापकोटा उमेरले ६३ वर्षका भए । पेसाले उनी किसान हुन् । अहिले पनि दैनिक खेती–किसानीमै व्यस्त हुन्छन् । बागलुङको काठेखोला गाउँपालिका– ६ बिहुँका सापकोटा ०४६ सालदेखि नै दैनिक आफ्ना गाईभैँसीको दूध बिक्री गर्न बागलुङ बजार पुग्थे । उवेला दैनिक दुई घन्टा पैदल हिँडेर बागलुङ बजार पुग्थे ।

यता दिलप्रसाद दिनहुँ दूधदही लिएर बजार झरिरहँदा उता पञ्चायतविरुद्धको आन्दोलन उत्कर्षमा थियो । त्यहीवेला भेट भयो अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको । बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सापकोटा निकै हर्षित छन् । सापकोटा हर्षित नहुन् पनि कसरी रु किनकि यी दुईको सम्बन्ध बडो रोचक छ ।

जगदिश उपाध्यायको घरमा दैनिक दूध ल्याउदा रामचन्द्रलाई चिन्ने मौका पाए

सापकोटा र पौडेलको सम्बन्ध ०४६ सालको पञ्चायतविरुद्धको आन्दोलनदेखि निकट बन्यो । नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन र पार्टी संगठन विस्तारका लागि ०४६ मंसिरमा बागलुङ आउँदा सापकोटा र पौडेलको सम्बन्ध जोडियो ।

नेविसंघका तत्कालीन अध्यक्ष जगदिशचन्द्र उपाध्यायको घरमा भएको एउटा कार्यक्रममा सापकोटा र पौडेलको भेट भएको थियो । सापकोटा उपाध्यायको घरमा दैनिक दूध ल्याउँथे । त्यहाँ पञ्चायतविरोधी आन्दोलनका बारेमा छलफल र कांग्रेसको संगठन विस्तारका बारेमा छलफल चलिरहेको हुन्थ्यो ।

उनी पनि सोही कार्यक्रममा सहभागी भए रामचन्द्र पौडेललाई चिन्ने मौका पाए । बागलुङको कार्यक्रम सकाएर म्याग्दीको बेनी जान लागेका पौडेललाई बागलुङ–म्याग्दी जोडिने ढोडेनी खोलाबाट प्रहरीले फर्काइदियो ।

त्यसपछि पौडेल पर्वतको फलेवासमा कांग्रेस नेताहरु डिल्ली राज पौडेल, गंगा राज पौडेललाई भेट्न पुगे । सोही क्रममा ०४६ साल मंसिर २६ गते प्रहरीले पौडेललाई पक्राउ गर्‍यो । पौडेललाई पहिलो दिन बलेवा राखेर भोलिपल्ट बागलुङ कारागारमा पुर्‍याइयो ।

पौडेलभन्दा अघि बागलुङका तत्कालीन नेविसंघका अध्यक्ष हालका कांग्रेस बागलुङका नेता जगदिशचन्द उपाध्याय पक्राउ परिसकेको थिए । उपाध्यायसहित पौडेललाई पक्राउ गरेर कारागार चलान गरिएको थियो ।

व्यवस्थाविरोधी काम गरेको भन्दै पौडेलविरुद्ध विभिन्न मुद्दा लगाइएका थिए । उक्त मुद्दामा पौडेलसहित बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कँडेल, रघुपति कँडेल, शेखर कँडेल, ऋषिराम कँडेल विष्णु गिरी र तनहुँका लक्ष्मी आचार्यसमेत कारागार चलान भएको सापकोटा सम्झन्छन् ।

झट्ट मकै भुटेर जेलमै ल्याइदिन्थे

‘भर्खरै चिनजान भएको थियो । जगदिशसँगै रामचन्द्र र अन्य नेतालाई पनि पक्राउ गरेर जेल पठाएको रहेछ,’ सापकोटाले भने,‘मैले दैनिक जगदिशकोमा ल्याउने दूध कारागारमा लान थालेँ । त्यसपछि उहाँहरूसँग झनै निकटता बढ्दै गयो ।’

सापकोटाले पौडेलका लागि गाउँबाट घ्यू, दूध, दहीसँगै तरकारी पनि लैजान्थे । ‘मैले रामचन्द्रजीका लागि भनेर गाउँमा झट्ट मकै भुटेर पुर्‍याइदिन्थेँ । दूध त दिनदिनै पुर्‍याउँथेँ,’ सापकोटा भन्छन्,‘उहाँहरूको सूचना आदानप्रदान गर्ने माध्यम पनि मै भएको थिएँ । खानेकुरासँगै पत्रपत्रिका पनि लगिदिन्थेँ । अन्य कोही भेटघाटका लागि आउनुभयो भने मसँगै जानुहुन्थ्यो । मसँग गएपछि भेट्न पाइन्थ्यो नत्र दिँदैनथ्यो ।’

तत्कालीन सहमहामन्त्री रिसालले पौडेलका लागि पठाएको पत्र जेलभित्र पुुर्याए

सापकोटाले काठमाडौंबाट कांग्रेसका तत्कालीन सहमहामन्त्री वासुदेव रिसालले पौडेलका लागि पठाएको पत्र घ्यूको डिब्बाभित्र लुगाएर पुर्‍याएको बताउँछन् । रामचन्द्र जेलमा हुँदा पत्रपत्रिका पुर्‍याउने क्रममा एकदिन पञ्चायतविरुद्धको पर्चा प्रहरीले भेट्टाएपछि सापकोटा पनि एकदिनभर कारागारमा थुनिए ।

भन्छन्,‘दिनदिनैको पत्रिका जेलमा पुर्‍याउँथेँ । खल्तीमा पञ्चायतको विरोधमा लेखिएको पर्चा रहेछ । पुलिसले थाहा पाइहाल्यो । दिनभरि कारागारभित्रै थुनिएँ । बेलुका भैँसीले दूध दिँदैन भन्ने बहानामा फुत्किएँ ।’

रामचन्द्र पौडेलका लागि दिनदिनैको पत्रिका जेलमा पुर्‍याउँथेँ । खल्तीमा पञ्चायतको विरोधमा लेखिएको पर्चा रहेछ । पुलिसले थाहा पाइहाल्यो । दिनभरि कारागारभित्रै थुनिएँ । बेलुका भैँसीले दूध दिँदैन भन्ने बहानामा फुत्किएँ ।

त्यस बेला जेलबाहिरको कुरा खासै थाहा हुँदैनथ्यो । जेल सबैको पहुँचमा थिएन् । ‘त्यस्तो बेला पनि वामपन्थी विचार प्रति प्रतिबद्ध भएका भरत कुमार पीडित, लालचन्द्र राजभण्डारी र श्रीमती शोभा राजभण्डारीले साहस गरेर हामीलाई भेट्न आउनु भएको थियो’ त्यति बेलाको कुरा सम्झदै उपाध्यायले भन्नु भयो ।

त्यस बेला म नेविसंघ बागलुङको जिल्ला अध्यक्ष थिए । विद्यार्थी संगठनका नेताहरु प्रशासनको नजरमा सबै भन्दा कतरनाक व्यवस्था विरोधी तत्व हुने गथ्र्ये उपाध्यायले भन्नु भयो ।मै हुँ भन्ने साथीहरु दरबारले दिएका तक्मा र दौरा सुरुवाल लगाएर पंच र्यालीमा गएको बेला हामी केहि साथीहरु परिवर्तनको लागि ज्यान हत्केलामा राखेर हिडेका थियौ उहाँले भन्नु भयो ।

हामीलाई बाहिरी सबै सूचना पुर्‍याउने दिलप्रसादजी हुनुहुन्थ्यो – जगदिशचन्द्र उपाध्याय

पौडेल करिब ६ महिना बागलुङ कारागारमा बस्दा बाहिरबाट सबै सहयोग सापकोटाले नै गरेको कांग्रेस बागलुङका नेता जगदिशचन्द्र उपाध्याय बताउँछन् । ‘रामचन्द्र दाइ र हामीलाई बाहिरी सबै सूचना पुर्‍याउने नै दिलप्रसादजी हुनुहुन्थ्यो,‘उपाध्याय भन्छन्,‘भित्रको खबर पनि उहाँलाई नै पठाउँथ्यौँ । उहाँलाई प्रहरीले रोक्दा पनि चिठीपत्र हामीसम्म आइपुग्थ्यो ।’

पञ्चायतको धरपकडका बाबजुद पौडेलको पक्षमा बागलुङका अधिवक्ताहरु पद्यनाथ शर्मा, ऋषिराम सापकोटा, पोखराका अधिवक्ता भूपनिधि पन्त र काठमाण्डौका अधिवक्ता यज्ञ निधि बन्जाडेले वकालत गरेका थिए । बहुदल घोषणापछि धेरै राजबन्दी छुट्दा पौडेल छुट्न पाएनन् । अन्ततः ०४७ वैशाख २ गते मन्त्रिपरिषद्को निर्णयले मात्रै पौडेल छुटे । कारागारबाट छुटेपछि पौडेलले धौलागिरि बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए ।

रामचन्द्र दाईले केही वर्ष पहिले घरमै आएर भेटर जानुभएको थियो – सापकोटा

सापकोटाले पौडेल जेलबाट छुटेपछि पनि समय–समयमा भेट्ने गरेको बताए । ‘बागलुङका हरेक कार्यक्रममा आउँदा म उहाँलाई भेट्ने प्रयास गर्थेँ । उहाँ पनि भेट्नुहुन्थ्यो । केही वर्ष पहिले घरमै आएर जानुभएको थियो,’ सापकोटाले भने ।

सापकोटा अहिले पनि गाउँमै कृषिकर्ममा व्यस्त छन् । सापकोटाले खेती–किसानी गरेर एउटा छोरालाई जापान पठाए भने एउटा छोरालाई इन्जिनियर पढाएका छन् । तीन छोरीमा दुईवटैको विवाह भयो । एउटी छोरीलाई स्टाफ नर्स पढाएका छन् ।

उनीसँग अहिले पनि दुईवटा भैँसी छ । उनी त्यही भैँसी स्याहारमा व्यस्त छन् । भन्छन्, ‘मैले नजिकबाट चिनेको, उहाँले पनि मलाई चिनेको व्यक्ति अहिले मुलुकको राष्ट्रपति हुँदा साह्रै खुसी लागेको छ । म किसानको छोरा त यति खुसी छु, अरू झनै कति खुसी होलान् ।’पौडेलको पाँचवर्षे कार्यकाल विवादरहित बितोस् भन्ने कामना सापकोटाले व्यक्त गरे । उनले भने,‘फेरि एकपटक भेट्ने चाहना छ । केही दिन पछि जान्छु ।’

 

प्रतिक्रिया दिनुहोस्