१५ बैशाख २०८१, शनिबार

 

कृषि गरेर परिवारको गुजारा चलाउन अपांगताले छेकेन युवराज कँडेललाई

जन्मँदा कुनै शारीरिक दुर्बलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो। खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन्।

खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैंका लागि अपांगता भयो। ५० वर्षका उनी अहिले हात र खुट्टा दुवैको सहाराले सामान्य हिँड्डुल मात्रै गर्न सक्छन्। युवराजमात्रै होइन उनकी श्रीमतीसमेत शारीरिक अपांगता छिन्। ४० वर्षीया ढालकुमारी कँडेलको देब्रेहात छैन। भाँचिएको हात नजोडिँदा ढालकुमारीको देब्रे हात काट्नुपर्‍यो।

श्रीमान खुट्टाको अपांगता र श्रीमती हातको अपांगता भएपछि आयआर्जन गर्न समस्या भयो। एक छोरी र दुई छोराको परिवार पाल्न अपांगता नै बोझ बन्यो कँडेल दम्पतीलाई। उनीहरूलाई सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन अपांगताले भने छेक्न सकेन।

श्रीमतीको हात छैन, म खुट्टाको अपांगता, हातले टेकेर हिँड्नुपर्ने बाध्यता मलाई छ, अपांगतालाई गाउँमा बाँच्न समस्या भयो, भिरपाखा कसरी हिँड्ने, सहज खोज्न सहर पस्ने निधो गर्‍यौं, तर कठिन थियो परिस्थिति,ु २० वर्षअघिका दिन सम्झँदै युवराजले भने, ुरु एक लाखमा आफ्नो भागको पुर्ख्यौली सम्पत्ति बेचेर बुर्तिवाङ बजार आएका हौं, सामान्य किराना पसल गरेर छाप्रो बनाएका हौं।ु

युवराजको जस्तै खुट्टा भाँचिने समस्या १३ वर्षीय कान्छो छोरा भरत कँडेलमा पनि देखिएको छ। भरत वैशाखीको सहारामा विद्यालय आउने जाने गर्छन्। छोराको उपचारका क्रममा चिकित्सकबाट युवराजले टुक्रे र झुरो हड्डीका कारण बाबा र छोरामा यो समस्या आएको सुनेको बताए। उनका छोराको अपांगता बाल अस्पताल बनेपामा उपचार भएको थियो।

युवराज परिवारका तीन सदस्य अपांगता जेठो छोरी र छोरा भुवन मात्रै सबलाङ्ग छन्। छोरीको विवाह भइसकेको छ भने भुवन कक्षा १२ मा अध्ययनरत छन्।

छाप्रो अघि तीन प्लास्टिक टनेल र केही खाली जग्गामा प्याजका बिरूवा बिक्रीका लागि तयारी अवस्थामा थिए। कँडेलले आफ्नो कृषि कर्म देखाउँदै भने, परिवार पाल्न बाध्य भएर कृषिमा लागे, अधिकारी चौरमा पुर्खाले कृषि नै गरेका थिए, अहिले अधिकारीचौर गाउँ टनेल गाउँ भएको छ, प्याजका बिरूवासहित अन्य तरकारी बिक्री गरेर चार जनाको परिवार धानिँदै आएको छ।

कँडेल दम्पतीले साह्रो गाह्रो काम अन्य कामदार बोलाएर गर्दै आए पनि तरकारीको स्याहारसुसार भने आफैं गर्दै आएका छन्। वार्षिक रु १२ हजार भाडा तिर्ने गरी साढे दुई रोपनी जग्गामा अहिले प्याजका बिरूवा उत्पादन भएर बिक्री भइरहेका छन्। अन्य समयमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका कँडेल दम्पतीले कृषि पेसा रहरको नभएर जीवन निर्वाहका लागि गरेको बताए।

उपचारको अभावले भाँचिएको हात नलागेपछि अपांगता भयो, भिरपाखामा काम गर्न समस्या भएपछि सहर झरेर किराना पसल गरेका थियौं, व्यापार राम्रै थियो, कान्छो छोरा जन्मेपछि पुनस् समस्या थपियो, श्रीमानको खुट्टा भाँचिने समस्या कान्छो छोरामा देखियो,ढालकुमारीले भनिन्, बुर्तिवाङ बजारमा छाप्रो बनाउन सहयोग गरेको किराना पसल छोराको उपचारले छोड्न बाध्य भयौं, तीन महिना अस्पताल बस्नुपर्ने समस्याले पसल छाडियो, अहिले थला परेको छोरो सबैको सहयोगमा उपचारपछि वैशाखी टेकेर हिँड्ने भएको छ।

कान्छो छोरा भरतको खुट्टाको शल्यक्रिया गर्न पाँच लाख रुपैयाँ लाग्ने भएपछि सहयोग संकलन अभियानमार्फत रु चार लाख जुटेर शल्यक्रिया गरेको युवराजले बताए। छोराको खुट्टाको उपचार सहयोग संकलन गरेर गरे पनि दैनिक घर खर्च चलाउन कृषि कार्य गर्दै आएको उनको भनाइ छ।

किराना पसल छाडेपछि परिवार हुर्काउनकै लागि कृषिमा लागेको कँडेल दम्पतीको भनाइ छ।

ुकिराना पसल राम्रै चलेको थियो, छोराको उपचारका लागि पटक–पटक अस्पताल धाउँदा समस्या भयो, पसल छाडियो,ु उनले भने, छोराको उपचार गर्ने खर्च सामाजिक सञ्जाल र मिडियाले जुटाए, तर घर खर्च चलाउन कृषि कर्ममा छौं, कृषिमा लागेकै आठ वर्ष भयो।

घर खर्च चलाउन समस्या भएपछि नर्सरी पेसामा अहिले कँडेल परिवार छ। उनले शारीरिक अपांगताका बाबजुत व्यावसायिक नर्सरी तथा तरकारी खेती अँगाल्दै आएका छन्। अहिले हात र खुट्टा दुवैले टेकेर हिँड्ने अवस्थामा भएका युवराजले श्रीमतीको सहारामा प्याजका बिरूवा उत्पादन गरेर बिक्री गर्दै आएका छन्।

उत्पादन गर्न सके बजारको अभाव नभएको बताउँदै उनले धेरै उत्पादन गर्न शारीरिक अवस्थाले नसकेको बताए।

उनले घर नजिकै थोरै जग्गा भए पनि टाढा गएर कृषि गर्न नसक्दा बिरूवा र तरकारीको माग हुँदा पुर्‍याउन नसकिएको बताए। कान्छो छोराको देब्रे खुट्टामा स्टिल राखिएको छ भने दाहिने खुट्टामा उपचार खर्चको अभावले नै स्टिल राख्न नसकिएको युवराजले बताए।

कान्छो छोराको अहिलेसम्म छ पटक खुट्टा भाँचिएको उनले जानकारी दिए। अहिले उनका छोराले वैशाखीको सहाराले हिँड्डुल गरे पनि विद्यालय जानरआउन दाइको सहारा चाहिने गरेको छ। कान्छो छोराको उपचारमा मात्रै हालसम्म रु १३ लाखभन्दा बढी रकम खर्च भइसकेको बुवा युवराजले बताए।

बीउ पुँजीका लागि प्याजको बीउ खरिद गर्न ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी संस्थाले रु १५ हजार सहयोग गरेको जनाउँदै कँडेलले रु १५ हजारको बीउबाट उत्पादन गरेका बिरूवा बिक्री गरेर रु ४० हजार कमाएको सुनाए। कँडेल दम्पतीले प्याजका बिरूवाबाहेक, सिमी, बन्दा र काउली उत्पादन गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्