१ जेष्ठ २०८१, मंगलवार

 

सुरक्षाको माग गर्दै बैंकर्स बागलुङले बुझायो प्रजिअ श्रेष्ठलाई ज्ञापनपत्र

बागलुङ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञापनपत्र बुझाएको छ । शुक्रबार बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।

बिहीबार म्याग्दी जिल्ला, बेनी बजारको एनआईसी एसिया बैंकको शाखा प्रबन्धक विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि एक समूहले कुटपिट गरेको थियो । आक्रमण गरी गम्भीर घाइते बनाइएका कार्यकारी सहायक आलेलाई थप उपचारको लागि हिजै पोखरा लगिएको थियो ।

केही दिनअघि मात्रै मकवानपुरमा कुमारी बैंकको शाखा कार्यालयमा गई कर्मचारीमाथि एक समूहले अभद्र व्यवहार गरेको थियो । यस्तो खालको घट्ना बागलुङ जिल्लामा नहोस भनि पूर्व सावधानी अपनाइयोस भनि ज्ञापनपत्र बुझाइएको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

बैंकले आफनो बक्यौता रकम असुल उपर गर्नको लागि ऋणी ग्राहकलाई फोन, पत्रचार र भेटघाट गर्नु नियमित प्रक्रिया भएको र ऋण लिएर नियतवश नर्तिर्ने ग्राहकलाई बैंकले ताकेता गर्दा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप भएकोले यस्तो. गतिविधि रोक्न बैंकर्स बागलुङमा आवद्ध सबै बैंकका शाखा प्रबन्धकहरुले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख छ ।यी घटनालाई लिएर बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले घोर भत्सर्ना गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्