१७ बैशाख २०८१, सोमबार

 

‘नेपाल जहाँ कार्ल मार्क्स जीवित छन्’ ( मदन भण्डारीले न्युजविकलाई दिएको चर्चित अन्तर्वार्ता )

अन्तरिम कालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री कुष्ण प्रसाद भराईलाई पराजित गरेपछि कमरेड मदन भण्डारी देशभित्र होइन , देश बाहिर पनि चर्चित हुनु भयो । उहाँ जुन दिनदेखि तत्कालीन नेकपा मालेको महासचिवको रुपमा सार्वजनिक हुनुभयो । त्यसैबेलादेखि चर्चाको शिखरमा हुनु हुन्थ्यो ।

यसै क्रममा न्युजविकले उहाँको अन्तर्वार्ता लियो ,जुन मे २७ १९९१ को अंकमा प्रकाशित भयो । उहाँ न्युजविकमा अन्तर्वार्ता प्रकाशित गर्ने पहिलो नेपाली नागरिक हुनुहुन्छ । न्युनविकका मिकेल लिट्विनले “नेपाल जहाँ कार्ल मार्क्स  जीवित छन् ” शीर्षक राखी कमरेड भण्डारीसँग लिएको अन्तर्वार्ता नेपाली अनुवाद

१ अरु देशमा त कम्युनिष्टहरु असफल भइरहेका छन् । यस्तो स्थितिमा तपाईहरु सफल हुन्छौ भनेर कसरी सोच्नु हुन्छ ?

कम्युनिष्टको मुल लक्ष्य समाजबाट शोषण , अन्याय, भ्रष्टाचार जस्ता कुराहरुलाई निर्मुल गर्नु हो । यसका नीतिहरुलाई लागु गर्ने कुरामा विगतमा केही गल्तीहरु भए पनि यसको मतलब कम्युनिष्ट सिद्धान्तको लक्ष्य नै असफल भएको होइन । हाम्रो पार्टीको सन्दर्भमा प्रजातन्त्रको संस्थापनप्रति हामी प्रतिबद्ध छौ र जनादेश प्राप्त गरेपछि मात्र सत्तामा जानेछौ ।

२ तपाईसँग उत्तर कोरियामा नेता किमइल सुङ्गका किताबहरु रहेको देखियो । किमइल सुङ्गका बारेमा तापाईको धारणा छ ?

उहाँ एउटा सफल कम्युनिष्ट नेता हुनुहुन्छ , जसले आफ्नो देशको क्रान्ति र विकासमा योगदान पु¥याउनु भएको छ । उहाँको विचारधारालाई पछ्याउर्नु पर्छ भन्ने छैन ।

३ माओका रचनाहरु वारे नि ?

हाम्रा ग्रामीण युवाहरु चीनीँया आन्दोलनको इतिहास पढ्दै हुनुहुन्छ र उहाँहरु त्यसबाट सिक्दै हुनुहुन्छ ।

४ नेपालको कम्युनिष्ट पार्टीलाई चीन , सोभियत संघ र उत्तर कोरियाका कम्युनिष्ट पार्टीसँग कुन रुपमा तुलना गर्नु हुन्छ ?

ती सबै कम्युनिष्ट पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित नयाँ समाजको स्थापनामा संलग्न छन् । ती देशका कम्युनिष्ट आन्दोलनहरु विभिन्न ढंगले अगाडि बढेका छन् । चीनमा सशस्त्र संघर्षबाट नै उनीहरु मुक्त भए । तर नेपालमा यति बेला हामी शान्तिपूर्ण आन्दोलनमा छौ ।

५ केही गैर कम्युनिष्टहरु भन्छन् तपाईहरुले चीन र भारतको कम्युनिष्ट पार्टीबाट आर्थिक सहयोग प्राप्त गरिरहनु भएको छ ?

यो झुट हो । चीन होस् वा उत्तर कोरिया , अथवा भारतका कम्युनिष्ट पार्टीहरु नै किन नहोस हामीले कसैसँग पनि कहिल्यै आर्थिक वा भौतिक सहयोग मागेका पनि छैनौ र पाएका पनि छैनौ । यस्तो आरोप हामीलाई हाम्रो तिनै विरोधिहरुले लगाएका छन् जो चाहि वास्तवमा विदेशी मुलुकबाट सहयोग पाइरहेका छन् ।

६ जातीयता र धार्मिक स्वतन्त्रता बारेमा तपाईहरुको धारण के हो ?

हामी विभिन्न जातिहरु माझ रहेको सामाजिक विभेदलाई अन्त्य गर्न चाहन्छौ । तर विभिन्न जातिको संस्कृति , परम्परा र धर्मको भने हामी सम्मान गर्छौ । केही बुढापाकाहरुमा अझै पनि जातपातबारे चर्को भावना रहेको पाइन्छ । त्यस्ताका बिरुद्ध पनि हामी शक्ति प्रयोग गर्न चाहदैनौ ।

उनीहरुको अन्तस्करणमा रहेको जातीय विभेदको भावनालाई हटाउन उनीहरुलाई शिक्षा दिक्षा दिने प्रयत्न गर्नेछौ । तल्लो जातकालाई अपमानित गर्ने अधिकार कसैलाई हुनुहुन्न भने माथिल्लो जातको आगाडि कोहि निहुरिनै पर्छ भन्ने पनि छैन । हामी चाहन्छौ राज्य धर्मनिरपेक्ष होस् जहाँ प्रत्येकले आफ्नो धर्म अँगाल्न सक्नेछन । राष्ट्र सबै धर्मप्रति तटस्थ रहनेछ ।

७ देशका भुमिपतिहरुप्रति तपाईहरुको कस्तो रहने छ ?

हामी भुमिपतिबाट जमिन लिनेछौ र जोतहाहरुलाई दिनेछौ । यो काम हामी शान्तिपुर्ण तरीकाले गर्छौै । र विना मुआब्जा जमीन खोस्दैनौ । यदि भुमिपतिहरुले यसलाई स्वीकार नगरेमा हामी उनीहरु बिरुद्ध शक्ति प्रयोग गर्न बाध्य हुनेछौ ।

८ मुआब्जाको रकम कहाँबाट ल्याउनु हुन्छ ?

जमिनको स्वामित्व लिन चाहने किसानहरुबाट हामी त्यो रकम जम्मा गर्छौै । आवश्यक भएमा सरकारी राजस्व वा सरकारी स्वामित्वका उद्योग धन्दाहरुको शेयरबाट पुर्ति गरिनेछ । नगदको कमीलाई हटाउन मुआब्जा किस्ताबन्दीमा भुक्तानी गरिनेछ ।

९ सामुहिकरणको पक्षमा हुनुुहुन्छ ?

यो विचारलाई लागु गर्दा शक्ति प्रयोग गरिने छैन , तर जनताको सेवाका लागि नमुना सहकारीको स्थापना गर्न प्रोत्साहित गरिनेछ ।

१० कम्युनिष्टहरुले बहुमत पाएको अवस्थामा नेपालका लागि विदेशी सहयोग बन्द हुनसक्ने कुरावाट चिन्तित हुनुहुन्छ कि ?

कम्युनिष्टहरु सरकारमा आउने बित्तिकै विदेशी सहयोग बन्द गरिनुपर्ने कुनै कारण छैन । यद्यपि हामी हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता , गरिमा र सार्वभौमिकताको मूल्यमा विदेशी सहयोग माग्ने पक्षमा छैनौ । हाम्रा लागि यी कुराहरु विदेशी सहयोग भन्दा धरै महत्वपुर्ण छन् ।

११ भारतको सवालमा तपाई कस्तो विदेशनीतिको वकालत गर्नुहुन्छ ?

विगतमा भारतसँग केही असमान र अपमानजनक सन्धिहरु भए । हामी ती सन्धिहरुको संशोधन गर्नेछौ र नवीकरण गर्ने प्रयत्न गर्नेछौ । हाम्रा लागि अपमान र अपमानजनक रहेका कुराहरु हटाउन चाहन्छौ । हामी चीन र भारत दुवैसँग उत्तिकै राम्रो सम्बन्ध राख्न चाहन्छौ । हामी चीनमुखी पनि हुन चाहदैनौ र भारतमुखि पनि हुन चाहदैनौ ।

१२ जुन बेला नेपाली जनता राजतन्त्र विरुद्ध अघि बढीरहेका थिए , त्यहि वेला अन्य धरै मुलुकका जनता त्यहाँका कम्युनिष्ट शासकहरु बिरुद्ध उठिरहेका थिए । यदि यहाँ त्यस्तो भयो भने के गर्नु हुन्छ ?

हामी सत्तामा जब जान्छौ , त्यो बेला त्यस्ता बिरोधि प्रदर्शनहरु हुने छैनन् । तर पनि कुनै बेला असमाजिक तत्वहरुले समाजमा अस्थिरता फैलाउने प्रयत्न गर्नेछन् । त्यस्तोमा हामी राज्यशक्ति प्रयोग गर्ने छैनौ । जनतालाई नै परिचालित गर्नेछौ । हामी असमाजिक तत्वहरु विरुद्ध प्रदर्शन गर्न जनतालाई आव्हान गर्नेछौ । तर प्रहरी शक्तिको प्रयोग गर्ने छैनौँ ।

प्रतिक्रिया दिनुहोस्