४ जेष्ठ २०८१, शुक्रबार

 

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्।  दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्। द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ।

दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको राजदूत शंकर शर्माले जानकारी दिएका छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्