२१ बैशाख २०८१, शुक्रबार

 

संसर्ग नगरी गोही आफैँ गर्भवती भएको पुष्टि

भाले गोहीसँग संसर्ग नगरी एउटी पोथी गोही आफैँ गर्भवती भएको घटना पहिलो पटक कोस्टा रिकाको एउटा चिडियाखानामा पत्ता लागेको छ।उक्त गोही र उसको अण्डाभित्र विकसित भ्रूणमा ९९.९ प्रतिशत आनुवंशिक समानता छ।

‘भर्जिन बर्थ’ अर्थात् ‘कुमारी आमाबाट हुने जन्म’ पनि भनिने त्यस्तो प्रक्रिया चराचुरुङ्गी, माछा र अन्य सरीसृप (घस्रिने जीव) मा देखिन्छ। तर यसअघि गोहीमा पनि त्यस्तो हुने गर्छ भन्ने तथ्य थाहा थिएन।

क्रमविकासका क्रममा कुनै पुर्खाबाट त्यस्तो क्षमता गोहीमा पनि विकसित भएको हुनसक्ने वैज्ञानिकहरूको आकलन छ। यसबाट प्राचीनकालमा पृथ्वीमा विचरण गर्ने तर लोप भइसकेको डाइनसोरका पोथीहरू पनि भालेको संसर्गबिनै प्रजनन गर्न सक्थे भन्ने देखिन्छ।

रोयल सोसाइटीको वैज्ञानिक जर्नल ‘बायोलजी लेटर्स’ मा यसबारे भर्खरै एउटा शोधपत्र प्रकाशित भएको छ।

कसरी पत्ता लाग्यो

कोस्टा रिकाको ‘पार्क रेप्टिलानिया’मा पालिएको एउटा १८ वर्षे पोथी गोहीले सन् २०१८ को ज्यानुअरीमा पारेको अण्डामा यो घटना पुष्टि भएको हो।

उक्त अण्डामा भ्रूण पूर्ण रूपमा विकसित भएको थियो तर कोरलिन नपाई त्यो मर्‍यो।उक्त पोथी गोहीलाई दुई वर्षको उमेरदेखि त्यो चिडियाखानामा एक्लै राखिएको थियो।

चितवनमा घडियाल गोही

तर गोहीले अण्डा पारेपछि चिडियाखानामा कार्यरत वैज्ञानिकहरूको टोलीले संयुक्त राज्य अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयमा कार्यरत डा. वारन बूथसँग सम्पर्क गरे।

उनी विगत ११ वर्षदेखि पशुपक्षीमा ‘पार्थनोजनेसिस’ अर्थात् भाले र पोथीको संसर्गबिनै हुने प्रजननबारे अनुसन्धान गरिरहेका छन्।

डा. बूथले गोहीको भ्रूणको विश्लेषण गरे। उक्त भ्रूणको आनुवंशिक संरचना माउसँग ९९.९ प्रतिशत मिलेको पत्ता लाग्यो। त्यसका आधारमा उक्त भ्रूणको बाउ नभएको पुष्टि उनले गरे।

कति सामान्य घटना हो

यो कुरा पत्ता लाग्दा आफू छक्क नपरेको डा. बूथले बीबीसी न्यूजलाई बताएका छन्।”हामी यस्तो घटना शार्क, चराचुरुङ्गी, सर्प र छेपाराहरूमा देख्छौँ। अनि यो निकै सामान्य र व्यापक छ,” उनले भने।

गोहीमा यसअघि ‘पार्थनोजनेसिस’ भएको पत्ता नलाग्नुको कारण मानिसहरूले तिनमा त्यस्तो घटना नखोजेको हुनसक्ने अनुमान उनको छ।

“मानिसहरूले घरमा सर्प पाल्न थालेपछि सर्पमा पार्थनोजनेसिस देखा परेका घटनाबारे थुप्रै विवरणहरू आउन थाले। तर एउटा सामान्य सरीसृप पालकले प्रायः गोही पाल्दैन,” उनले भने।आफ्नो प्रजातिको सङ्ख्या घटेको र मासिन सक्ने जोखिम भएको अवस्थामा पार्थनोजनेसिस गर्न सक्षम जीवले संसर्गबिनै सन्तान जन्माउन सक्छन् भन्ने एउटा मान्यता छ।

पर्यावरणीय परिवर्तनका कारण आफ्नो सङ्ख्या घट्दा डाइनसोरका केही प्रजातिले यही विधिबाट सन्तान जन्माएको हुनसक्ने डा. बूथले बीबीसी न्यूजलाई बताए।

“धेरै प्रजातिहरूमा पार्थनोजनेसिसको विधि समान हुँदा यो निकै प्राचीन गुण भएको र युगौँदेखि चल्दै आएको देखिन्छ,” उनले भने।”यसबाट डाइनसोरहरूले पनि यही तरिकाबाट प्रजनन गरेको हुनसक्ने सङ्केत पाइन्छ।”

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्