१९ बैशाख २०८१, बुधबार

 

बीपीले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी छ : मुख्यमन्त्री पाण्डे

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीपी कोइराले देखाएको बाटोमा नेपाली कांग्रेस हिडेपनि उहाँले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताउनुभयो ।

नेपाली कांग्रेस बागलुङले आज ४१ औं बीपि स्मृति दिवसको अवसरमा गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण पछि बौल्दै मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका पाण्डेले बीपिलाई व्यक्ति हैन विचार हो भन्ने कुरा सबै राजनैतिक दलले स्वीकार गरिसकेको बताउनुभयो ।

उहाँले बीपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।“बीपीले देखाएको बाटोमा कांग्रेस हिडिरहेको छ, अन्य दलहरुले समेत बीपिको विचारलाई मान्ने गरेका

छन् तर बीपिले परिकल्पना गरेको आर्थिक विकासको बाटोलाई व्यवहारमा अगाडि बढाउन नसकेको अवस्था छ” मुख्यमन्त्री पाण्डेयले भन्नुभयो “उहाँले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट लागौं, देशमै उद्योग धन्दा, कल कारखाना र पर्यटनको माध्यमबाट देश आर्थिक समृद्धि तर्फ जानेछ ।”

अव बीपीको विचार र दर्शनलाई बोकेर मात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्ताहरुलाई मुख्यमन्त्रीले आग्रह गर्नुभयो । मुख्यमन्त्री पाण्डेले वृक्षारोपणसँगै कालिका मन्दिरको दर्शन गर्नुभएको थियो ।

कालिका मन्दिर परिसरमा ४१ औं बीपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्ष रुखको वृक्षारोपण गरिएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस बागलुङका पार्टी सभापति जित शेरचनको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव हरिहर शर्माले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्