२० बैशाख २०८१, बिहीबार

 

यो सरकार विरुद्ध नयाँ गठबन्धन बन्दैछ भन्नु हल्ला मात्र हो : देवेन्द्र पौडेल

बागलुङ । माओवादीका केन्द्रीय सचिव, सांसद तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकराले भ्रष्ट्राचार बिरुद्दको अभियान थालेको बताएका छन् । उनले कसैको दवावमा नपरी काम गरेको भन्दै वर्तमान सरकार आएपछि भ्रष्टाचारी र सुदखोरीहरु डराएको बताए ।

उनले सरकारले सुशासनको एजेण्डा बोकेपछि आर्थिक चलखेल गर्ने र कानूनको छिद्र खोजेर अनियमितता गर्नेहरुले सरकार बिरुद्धको आवाज उठाएको पनि बताए । उनीहरुको उक्साहटमा लागेर केही राजनीतिक दलका नेता कार्यकर्ताले पनि सरकार विरोधी धारणा बनाएको बताए ।

उनले अहिलेसम्म संस्थागत रुपमा कुनैपनि दलले सरकार विरुद्धको अभियान नचलाएको बताए । ‘एकादुइ जनाले कतै व्यक्तिगत बोले पनि संस्थागत रुपमा यो गठबन्धन विरुद्ध पनि आवाज आएको छैन’ उनले भने, ‘सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएको कसैलाई मन नपरेको हुन सक्छ ।’

तर संस्थागत रुपमा कसैले सरकारको विरोध गरेमा पनि केही फरक नपर्ने उनले बताउ ।अहिले नयाँ गठबन्धन बन्दैछ भन्ने कुरा हल्ला मात्र भएको र यो सरकारलाई हटाएर नयाँ सरकार आउने कुरा निराधार भएको पौडेलले बताउनु भयो ।

प्रेस सेन्टर नेपाल, बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा बोल्दै पौडेलले लामो समय अलपत्र परेका शिक्षा ऐन, संघिय निजामती ऐन लगायतका कानून आउने बताए । मिटर व्याजी विरुद्धको विधेयक पास भएको र अन्य धेरै समस्याका समाधानमा सरकारले काम गरेको बताए । उनले प्रधानमन्त्रीको दलको सचिवको नाताले धेरै काममा दलको अपनत्व भएको पनि बताए ।

उनले हाल जिल्लामा बल्झेको इमेज सहकारी र शिवशिखर सहकारीको समस्या समाधानमा प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिले साथ दिने बताए । उनले उजुरी नपरुन्जेल ढीला भएपनि अब भने प्रशासन पनि तातेर जनताको पैसा फिर्ता गराउनको लागि वित्तीय अपराध गरेर भाग्नेलाई कानुनको दायरामा ल्याउने बताउनु भयो ।

‘हामीले भनेका छौं, प्रशासन पनि तातेको छ’ उनले भने, ‘पीडितको उजुरी ढीला आएकोले कतिपय अनुसन्धान, पक्राउ पुर्जी जारी लगायतका काम ढीला भएको रहेछ ।’ इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली जेठ ५ गतेदेखि फरार छन् । सयौं पीडितले सडक संघर्ष र कानुनी उपचार खोजी रहेका छन् ।

यस अघि जिल्ला अदालत बागलुङले पीडितको पक्षमा हुने गरी संचालक समितिका पदाधिकारी बिरुद्ध पक्राउ पुर्जी जारी गनुको साथै थुनामा राख्ने आदेश दिएको छ ।

१ हजार ५ सय ४३ जनाले दिएको मुद्दाको आधारमा १ अर्ब ३० करोड बढी हिनामिना भएको ठहर सहित प्रहरी र सरकारी वकिलको कार्यालयले अदालतमा नेपाली सहितका संचालन विरुद्ध मुद्दा दिएको छ ।
कार्यक्रम प्रेस सेन्टर बागलुङको उपाध्यक्ष संजन सिंहको अध्यक्षता र सचिव अनिष खातीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्