बागलुङ । बागलुङमा नगरपालिकाले थोत्रो गाडी स्वीकार्दा नगरपाकिकालाई ६ लाख ६८ हजार नोक्सान हुने भएको छ । बागलुङ नगरपालिकाका तत्कालीन मेयर जनक राज पौडेलले दुई वर्षअघि वन तथा भूसंरक्षण विभागको २३ वर्ष पुरानो बा १ झ ७२०६ नम्बरको माज्दा कार स्वीकार्दा नगरपाकिलालाई उक्त रकम नोक्सान हुने भएको हो ।
उक्त गाडी काठमाडौं भएको र मर्मत नगरी ल्याउन सकिने अवस्थामा नभएको चालक कमलबहादुर कार्कीले जानकारी गराएपछि गाडी मर्मतको लागि तत्कालिन मेयर पौडेलले आदेश दिएका थिए ।
बागलुङ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तत्कालिन मेयर पौडेलको निर्देशनपछि गाडी मर्मतका लागि ललितपुरको चाकुपाटस्थित अटोमोवाइल सेन्टर छनोट गरेका थिए ।
उक्त अटोमोवाइल्सका प्रोपाइटर इन्तु रायले ४ लाख १२ हजार रुपैयाँको कोटेसन पेस गरेपछि नगरपालिकाले मर्मतका लागि स्विकृत दिएको थियो ।
बा १ झ ७२०६ नम्बरको थोत्रो माज्दा कारमा एक गियरमा मात्रै गुड्न सक्ने, चर्को आवाज आउने र धुँवा फाल्ने, हुत्तिनेजस्ता समस्या कायमै भएपछि २०७८ भदौ २ गते प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले पुनः ३ लाख २३ हजार थपेर मर्मत गर्न लगाएका थिए ।


तर यतिबेलासम्म गाडी मर्मतको खर्च ६ लाख ६८ हजार ६ सय ६४ रुपैयाँ पुगेपछि संचालक रायले नगरपालिकालाई उक्त रकमको बिल पेश गरेका थिए ।उक्त गाडी नगरपालिका लिन नगएपछि ग्यारेजमा १० महिनासम्म थन्किएर बसेको थियो । ज्ञवालीपछि आएका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले चल्दै नचल्ने गाडिको लागि मर्मतको भुक्तानी दिन मानेनन् ।
प्रोपाइटर रायले मर्मतको रकम नगरपालिकाबाट नपाएपछि ६ लाख ६८ हजार ६ सय ६४ रुपैयाँ आफ्नो खर्च भएकोले सो रकमको दुई वर्षको ब्याजसहित भुक्तानी माग गरेर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
गत असार ६ गते मुलुकी देवानी संहिता २०७४ को दफा ६६० बमोजिम बिल अनुसारको भुक्तानी दिनु भनि रायको पक्षमा अदालतले फैसला गरिदिएको छ ।
‘मर्मत खर्च दिनु भनि अदालतको फैसला आएपछि रकम भुक्तानी दिनैपर्ने अवस्था आयो ’ बागलुङमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले नयाँ विश्वलार्ई बताउनु भयो, ‘कामै नलाग्ने गाडी बनाउदा नगरपालिकालाई ६ लाख ६८ हजारको नोक्सान हुने भयो तर उक्त गाडीको एक पटक पनि उपयोग गर्न पाइएन।’ कँडेलले भन्नु भयो ।
‘तत्कालिन मेयर पौडेलको निर्देशनपछि गाडी मर्मत गर्न दिएको हो तर प्रोपाइटर रायले जुन इन्जुन र मोडेलको गाडी हो त्यहि अनुसार मर्मत नगरेको कारण गाडी संचालनमा आउन सकेन, मर्मतपछि उक्त गाडीको प्राविधिक जाँच गराउनु पर्ने थियोपछि मेरो सरुवा भएकोले सबै कुरा थाहा भएन ’ तत्कालिन प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीले नयाँ विश्वलाई बताउनु भयो ।
‘गाडीको वास्तविक अवस्था नबुझि र कण्डीसन नहेरी लिदा दुख पनि भयो, गाडीको गियर समेत फेर्न मिल्दैन, फेर्दा पनि गति नबढ्ने, चर्को आवाज निकाल्ने र धुँवा फाल्ने अवस्थामा छ, नगरपालिकालाई अनावश्यक रुपमा थप व्ययभार पनि थपियो । अहिले उक्त गाडि त्यत्तिकै थन्किएर बसेको छ’ चालक कमलबहादुर कार्कीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।
२५ वर्ष पुरानो यो गाडी नगरपालिकाले प्रयोग नै नगरी लिलामको सूचना निकालेको छ । सोमबार उक्त गाडी १० लाख ५० हजारमा लिलाम गर्न सार्वजनिक सूचना जारी गरेको नगरपालिकाले जनाएको छ ।
‘नयाँ गाडि किन्न धेरै बजेट लाग्ने भएपछि मैले वन तथा भूसंरक्षण विभागबाट गाडी मागेको हो । सुरुमा दुई तीन लाखमा बन्छ भनेपछि बनाएर चलाउने भनेको थिए तर धेरै खर्च गर्दा पनि गाडीले काम गरेन’ बागलुङ नगरपालिकाका तत्कालिन मेयर जनक राज पौडेलले नयाँ विश्वलाई बताउनु भयो । ‘ललितपुर अटोमोवाइलका प्रोपाइटर रायले नगरपालिकासँग भएको संम्झौता अनुसार काम नगरेपछि गाडी पनि मर्मत गराएर चलाउन सकिएन’ पौडेलले भन्नु भयो ।
‘वन तथा भूसंरक्षण विभागको गाडी नगरपालिकाले लिनुभन्दा पहिले यस्को मोडेल, कण्डीसन र सम्पूर्ण अवस्थाको बारेका प्राविधिक जाँच गरेर मात्र स्विकार्नु पथ्र्यो’ बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले भन्नु भयो ।
‘बनाउन दिएपछि पनि गाडी चलाएर विचार गर्नु पथ्र्यो तर यो कुनै पनि प्रक्रिया पुरा गरिएन । हामीले एक चोटी पनि गाडी प्रयोग नगरि ललितपुर अटोमोवाइलका प्रोपाइटर रायलाई भुक्तानी दिनु पर्ने भयो जस्ले नगरपालिकालाई ६ लाख ६८ हजारको रुपैयाँको धक्का लाग्ने भयो’ श्रेष्ठ भन्नु भयो ।























































































































































































