६ जेष्ठ २०८१, आईतवार

 

नव गायिका सिम्रन परियारलाई बागलुङ नगरद्वारा ३० हजार नगदसहित सम्मान

बागलुङ । नव गायिका सिम्रन परियारलाई बागलुङ नगरपालिकाले  सम्मानका तथा आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका वडा नं ६ तिनतले घर भएकी गायिका परियारलाई बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगद ३० हजार रुपैयाँ सहित सम्मान गरेका छन ।

नगरपालिकाले गायिका परियारको सांगितिक यात्रा र शैक्षिक यात्रामा उर्जा प्रदान गर्नका निम्ति नगद सहित सम्मान गरेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।उनले नगरपालिकाले कला, साहित्य, संगीत र खेलकुद क्षेत्रमा लागेकालाई थप प्रोत्साहनका लागि सम्मान गर्दै आएको बताए ।

सिम्रनको गीत संगीतको मोह र उनको क्षमतालाई नगरपालिकाले सधै साथ दिने नगरप्रमुख श्रेष्ठको भनाई छ । सिम्रनले बागलुङकै विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयको अध्ययन गर्छिन । पढाईमा पनि अब्बल सिम्रनको पढाइको अतिरिक्त गायन क्षमतालाई उजागर गर्ने वातावरण बनाउन सकेमा भविष्यको उत्कृष्ठ कलाकार बन्न सक्ने क्षमता रहेको नगरप्रमुख श्रेष्ठको भनाई थियो ।

परियारलाई सांगितिकसँगै शैक्षिक क्षेत्रलाई पनि सँगसँगै अगाडि बढाउन नगरप्रमुख श्रेष्ठले सुझाव दिएका थिए । नगरपालिकाको सम्मानले आफूमा थप हौसला प्रदान भएको सिम्रनको भनाई छ । उनले सवै अग्रजहरुबाट पाएको सम्मानले सांगीतिकसँगै शैक्षिक क्षेत्रमा समेत थप उर्जा प्रदान भएको बताईन ।

१८ वर्षीया सिम्रन सानैदेखि गीत गुनगुनाउने गर्थिन मेचिकाली खबरका भोजराज थापाले लिएको युट्युब अन्तवार्तापछि उनी चर्चामा आएकी थिइन् । दुई साता अगाडि सामाजिक सञ्जालमा भाइरल भए पश्चात उनी गीत गाउनका लागि काठमाण्डौ गएकी थिईन ।

उनले गाएका ‘मुटुमै घाउ छ’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत युट्युबमा सार्वजनिक भइसकेका छन् । हालसम्म १५ वटा गीत रेकर्ड गरिसकेको सिम्रन बताउँछिन । सामाजिक सञ्जालमा चर्चामा आएपछि गायनमा आएकी उनकोे स्वरलाई धेरै दर्शक श्रोताले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्