४ जेष्ठ २०८१, शुक्रबार

 

पर्वतका सबै पालिकामा ‘जनतासँग माओवादी विशेष अभियान’ शुभारम्भ

पर्वत- नेकपा माओवादी केन्द्र पर्वतले पर्वत जिल्लाका ७ पालिका र २ नगरपालिकामा घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने मुल नाराका ‘जनतासँग माओवादी विशेष अभियान’ शुभारम्भ गरेको नेकपा माओवादी केन्द्र पर्वतकी जिल्ला इन्चार्ज बलावती शर्माले बताइन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। शनिबार पर्वतका सबै पालिकाहरु र वडाहरुमा जिम्मेवारी दिएका केन्द्रीय सदस्यहरुले तीन महिने विशेष रुपान्तरण अभियानलाई सफल बनाउन सबै तहका माओवादी केन्द्रका नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थकहरु जनताको घर दैलोमा जानु पर्ने बताउनु भयो ।

कुश्मा नगरपालिकामा जनतासँग माओवादी विशेष अभियान शुभारम्भ गर्नु हुँदै जिल्ला इन्चार्ज बलावती शर्माले भनिन् सहिदहरूले बगाएको रगत, हाम्रो बेपत्ता हजारौँ योद्धाहरूको त्याग र बलिदान र माओवादी केन्द्रको राजनीतिक एजेण्डाको बल र सरकारको जनपक्षिय कामहरुले नयाँ उत्साह र उमंग छाएको र धेरै जनताहरु माओवादी केन्द्रमा गोलबन्द हुने अवस्था सृजना हुन लागेको छ ।

उक्त कार्यक्रमको संचालन नगरसमितिका अध्यक्ष शंकर गिरीले गर्नु भएको थियो । सरकारले जनतालाई सुशासनको प्रत्याभुति दिन भ्रष्टाचार विरोधी अभियान चलाउदा जनविरोधी तत्वहरु आतंकित भएको नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष तथा फलेबास नगरपालिकाका इन्चार्ज ज्ञामनाथ गैर अनिलले बताउनु भयो ।

फलेबास नगरपालिका वडा न १० कुर्गामा सम्बोधन गर्नु हुँदै गैरेले अब हामी सबै नेता तथा कार्यकर्ताहरु एकताबद्ध भएर सरकारले गरेका राम्रा कामहरु र सरकारी सेवाहरुलाई जनताको घरघरमा पुर्रयाउन लाग्नु पर्छ । कार्यक्रम फलेबास नगरपालिका वडा नं १० कुर्गा वडा अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षता र सचिव राम चन्द्र पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

त्यसै गरी ७ नं वडा फलेबास नगरपालिकाका उपमेयर तथा फलेबास नगरसमितिका अध्यक्ष शोभा कुमारी क्षेत्री, वडा नं ५ खानी गाउँमा गण्डकी प्रदेश समिति सदस्य गंगा तिमिल्सिना, वडा नं ३ ठुलिपोखरीमा तारा रिजालले र वडा नं १ कार्किनेटामा दलित मुक्ति मोर्चा प्रदेश समितिका सहसचिव विष्णु विकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

माओवादीको तीनमहिने र ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनु भयो । माओवादीले पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन गरि नगर तथा गाँउपालिकामा खटाइएको छ ।

पर्वतका २ नगर तथा ५ गाउँपालिकामा खटिएका केन्दिय सदस्य तथा इन्चार्ज हरुले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजिटल माध्यमबाट उद्घाटन गरेको सम्वोधन सार्वजनिक गरेका थिए ।

पर्वतका ७ स्थानीय तहका ५९ वडामा कार्यक्रम भएको छ । त्यस्तै जलजला गाँउपालिकामा केन्द्रिय सदस्यहरु वखानसिङ तमु, विहादी गाउँपालिकामा पूर्ववन मन्त्री विपक चर्ची मगर, महाशिला गाउँपालिकामा खिम कुमार विक, पैयुँ गाउँपालिकामा कल्पना अर्याल र मोदी गाउँपाकिामा मधु अधिकारीको नेतृवमा अभियान उद्घाटन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्