४ जेष्ठ २०८१, शुक्रबार

 

क्षेत्रीय सम्मेलन गर्दै बागलुङ कांग्रेस क्षेत्र नं १, महामन्त्री थापा आउने

बागलुङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले यही भदौ १९ गते गर्ने क्षेत्रीय सम्मेलन गर्ने तयारी पुरा भएको जनाएको छ । पार्टीको संगठनलाई टोल टोलमा बलियो बनाउन र कार्यकर्तालाई प्रशिक्षण प्रदान गरी जागृत गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको सबै तयारी पुरा भएको जनाएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनको बारे जानकारी दिदै क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलले क्षेत्रीय सम्मेलनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी १ हजार जनाको सहभागिता रहने जानकारी दिनु भयो । नेपाली काँग्रेसका केन्द्रिय महामन्त्री गगन थापाले सम्मेलनको उद्घाटन गर्ने क्षेत्रीय सभापति पौडेलले जानकारी दिनु भयो ।

नेता कार्यकर्तालाई उच्च मनोबलका साथ संगठनलाई बलियो बनाउनका लागि कार्यक्रम गर्न लागेको क्षेत्रीय सभापति पौडेलले बताउनु भयो । सम्मेलनमा सांगठनिक प्रतिवेदन, संगठन सुद्धिकरण, गठबन्धन, अन्य दलसँगको सम्बन्ध, कार्यकर्ता र जनतालाई विकास निर्माणसँग जोड्ने लगायतका विषयमा छलफल हुने बताउनु भयो । पौडेलले पार्टी भित्र उद्यमशिलता, पार्टीको नीति तथा कार्यक्रम लगायतका विषयमा पनि छलफल गरिने बताउनु भयो ।

पत्रकार सम्मेलनको सञ्चालन क्षेत्रीय सचिव जयराम भारीले गर्नु भएको थियो।

नेपाली कांग्रेस बागलुङले वडादेखि जिल्ला तहसम्मको सम्मेलन गर्ने अभियानमा रहेको छ । साउन ४ गतेको कांग्रेस बागलुङको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका पाँच वटै तहमा सम्मेलन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम वडा, नगर तथा पालिका र प्रदेश सभा क्षेत्र तहको सम्मेलन सम्पन्न गरेको कांग्रेसले १९ गते प्रतिनिधि सभा क्षेत्र १ को सम्मेलनको तयारी गरिएको हो ।

सवै तहमा सम्मेलन सकिएपछि असोज ६ गते जिल्ला सम्मेलन गर्ने नेपाली कांग्रेस बागलुङले तयारी गरेको छ । सम्मेलनमा पार्टीका सवै तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा हुनेछ । जहाँ राजनितिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी वर्षका कार्ययोजना समेत प्रस्तुत हुने कांग्रेस बागलुङले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्