४ जेष्ठ २०८१, शुक्रबार

 

२०८४ को चुनावमा सबै क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री थापा

बागलुङ ।नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ सालमा सबै पालिका, सबै निर्वाचन क्षेत्र हार्नु परे पनि कांग्रेसले गठबन्धन नगर्ने दाबी गर्नु भएको छ । मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिले आयोजना गरेको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले गत स्थानीय निर्वाचनको गठबन्धन लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीतको भएको टिप्पणी गर्नु भएको हो ।

चुनावअघि गरिने गठबन्धनले लोकतन्त्रको मूल्य बिगार्ने भन्दै थापाले अहिले चुनाव जितेर पनि कार्यकर्तामा निराशा आउनुको परिणाम यही रहेको बताउनु भयो ।

२०८४ सालमा सबै पालिका सबै सिट गुमाएर चकटीमा बस्नु परोस्, तर कार्यकर्ताको शीर निहुरिने गरी अर्को दललाई भोट हाल्न लगाउने गरी गठबन्धन नहुने बताउनु भयो । उहाले भन्नुभयो, ‘सबै कम्युनिस्ट मिलून्, स्वतन्त्रहरु पनि मिलून् तर कांग्रेस एक्लै लड्छ ।’ त्यतिन्जेल एक्लै लड्न सक्ने कांग्रेस बनाउनेसमेत दाबी गर्नु भयो।

थापाले नागरिकले लडेर देशमा लोकतन्त्र र गणतन्त्र ल्याए पनि पार्टीमा गणतन्त्र नआएको बताएका धारण राख्नु भयो । चुनावका बेला नेताले टिकट दिने पद्धति सच्याएपछि मात्र कांग्रेसमा लोकतन्त्र आउने थापाको भनाई छ ।

‘वडा सभापति बन्न क्रियाशील कार्यकर्ताले भोट दिनुपर्ने, वडाध्यक्ष बन्न जिल्ला सभापतिले टिकट दिने यो लोकतन्त्र होइन,’ उहाले भन्नु भयो, ‘जबसम्म टिकटका लागि दाइ र भाउजूको चाकरी गर्नुपर्छ तबसम्म पार्टीमा निरंकुशता र राजावादी सोच बाँकी रहन्छ ।’

हरेक वडा, नगर र क्षेत्रीय सम्मेलनबाट वडाध्यक्ष, मेयर र अध्यक्ष तथा प्रदेश र संघीय संसद्को उमेदवार छनौट गर्न सकेमा मात्र कांग्रेस पार्टीभित्र गणतन्त्र आउने थपाको भनाइ छ । आगामी मंसिरमा हुने महासमितिको बैठकमा महामन्त्री थापाले उक्त एजेण्डा लगेर विधान परिवर्तन गर्न पहल गर्नेसमेत बताउनु भयो ।

१ सय ४ वर्षको राणा शासन र ३० वर्षको पञ्चायत फालेको कांग्रेसले आन्तरिक राजतन्त्र फाल्न नसकेको महामन्त्री थापाको टिप्पणी छ । ‘राजाबाट सार्वभौमसत्ता जनतामा ल्यायौं, तर पार्टीभित्रको प्रवृत्तिमा परिवर्तन भएन,’ उहाले भन्नु भयो, ‘जब कार्यकर्तामुखि कांग्रेस बन्छ तब पार्टीका नेता पनि जनमुखि बन्छन् ।’

थापाले आगामी महाधिवेशन समयमा गरेर एक वर्षभित्र क्रियाशील सदस्यता टुंगो लगाएपछि मात्र निर्वाचनमा जाने गरी फाइल पद्धति विकास गर्ने समेत बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार ढाल्ने षडयन्त्र प्रयास हुँदैछ भन्ने अभिव्यक्तिको पनि महामन्त्री थापाले खण्डन गर्दै जबसम्म कांग्रेसले साथ दिन्छ, त्यतिन्जेल प्रचण्ड प्रधानमन्त्री रहनुहुन्छ, कांग्रेसले अहिलेसम्म प्रचण्ड हटाउने निर्णय गरेको उहाले भन्नु भयो, ‘जसको आडमा प्रधानमन्त्री टिकिरहनु भएको छ, उसैलाई हटाउने षड्यन्त्र गरेको भन्नु प्रधानमन्त्रीको भूल हो ।’

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पादेवी खड्काले कार्यकर्ता एकताबद्ध हुन नसके पार्टी मजबुत बन्न नसक्ने बताउनुभयो । कांग्रेसमा रहँदै आएको गुट उपगुटको अन्य गरि जनताको कांग्रेस गराउनु पर्नेमा खड्काले जोड दिनुभयो । हरेक नागरिकको कांग्रेस बन्न अब पार्टी नेतृत्वले नयाँ ढंगबाट संगठन निर्माणमा लाग्नु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, नेपाली कांग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जीतबहादुर शेरचन, महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ अन्तर्गतका कार्यकर्ताले गुनासो राखेका थिए । सो अवसरमा क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेल र सचिव जयराम भारीले सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्षेत्रीय सम्मेलनमा वडा–वडाबाट आएका क्षेत्रीय प्रतिनिधि, जिल्ला र प्रदेश तहका पदाधिकारी समेत गरी १ हजारभन्दा बढी सहभागी भएका थिए । सम्मेलनमा सभापतिको राजनीतिक प्रतिवेदन, सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिननाथ गौतमको आर्थिक प्रतिवेदन पारित गरिएको छ।

कार्यक्रम क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, क्षेत्रीय उपसभापति हरिबहादुर जिसीको स्वागत र सचिव जयराम भारीको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्