३ जेष्ठ २०८१, बिहीबार

 

चिल्ड्रेन लाईफ बोर्डिङका विद्यार्थीद्वारा जेष्ठ नागरिक सम्मान

बागलुङ । चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको आयोजनामा र कक्षा ९ का विद्यार्थीको सहकार्यमा जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मानव जीवनको उत्तराद्र्धको अवस्थामा पुगेका ज्येष्ठ नागरिकको सम्मान प्रति नयाँ पुस्तामा जागरण ल्याउन कार्यक्रम आयोजना गरिएको हो ।

संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमशः विचलन भई एकल परिवारमा बस्ने संस्कृतिको विकास भएको बेला वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमशः उपेक्षित हुँदै गएको भन्दै विद्यालयले सामाजिक विषय अध्ययन गर्ने बालबालिकालाई थप जिम्मेवार बनाउन कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत छात्राहरु अपेक्षा श्रेष्ठ, अंकिता शर्मा र आईश्मा क्षेत्रीले सामाजिक तथा जेष्ठ नागरिक प्रति विद्यार्थीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

मानव जीवन चक्रमा एकपटक वृद्धावस्थामा पुग्नैपर्ने भएकोले माया, ममता, अनुभव र करुणाका खानी ज्येष्ठ नागरिकको चित्त दुखाउन नहुने बताएका थिए ।

ज्येष्ठ नागरिक बोझ होइनन्, हाम्रो सभ्यताको स्रोत भन्दै विकास निर्माणमा आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षता आदि अनुभवको प्रयोगबाट सहज रूपमा समाधान खोज्न टेवा पुग्ने छात्राहरुले जानकारी गाराएका थिए।

कार्यक्रमका अवसरमा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थी तथा समाजमा महत्वपूर्ण भूमिका खेल्ने ७ जना अभिभावक एंव जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

दुर्गा बहादु आचार्य, स्वामी रमेशानन्द केसरी, कृष्णराज शर्मा, दिल बहादुर पुन, जगत गौतम, भिम बहादुर खड्का, बम बहादुर श्रेष्ठ, लक्ष्मी शर्मा र कर्ण बहादुर बोहोरालाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख युक्त प्रसाद शर्माले जेष्ठ नागरिकहरुलाई गरिएको सम्मान भावनात्मक र साचो सम्मान भएको बताउनु भयो ।

जेष्ठ नागरिकहरुलाई गरिएको सम्मान कृतिम नभई भावनात्मक सम्मान भएको भन्दै यसले बालवालिकालाई जेष्ठ नागरिक र समाजप्रति उत्तरदायी बनाउन सहयोग पु¥याउने बताउनु भयो ।

समाजको आधुनिकिकारणले जेष्ठ नागरिक र वालवालिकाको दुरी बढ्दै गएको भन्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई जेष्ठ नागरिकसँग जोड्ने काम गरेको बताउनु भयो ।

कार्यक्रममा प्याप्सनका केन्द्रिय सदस्य तथा विद्यालयका प्रिन्सीपल नवराज श्रेष्ठ, सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपाल बागलुङका अध्यक्ष डिल्लीराज उपाध्याय, सम्मानित व्यक्तित्व कृष्णराज शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कक्षा १० का छात्रा अपेक्षा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अंकिता शर्मा र आइस्ना क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । विद्यार्थीलाई कितावसँगै सामाजिक विषय वस्तुको बारेमा जानकारी दिन यस्तो कार्यक्रम गरिएको सामाजिक शिक्षक जिवननाथ शर्माले बताउनु भयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्