१६ बैशाख २०८१, आईतवार

 

नाच्नेडाँडामा छमछमी !

गलकोट । तीज आयो कि नाच्नेडाँडाको रौनक फेरिइहाल्छ । तीज पर्वसँग यसको पुरानो साइनो छ ।

तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा बर्सेनि तीज मेला लाग्छ । स्वतःस्र्फूत ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ ।

यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला चल्यो । आइतबार गाउँका छोरीचेली भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । घैँटोफोडलगायत खेलमा रमाए । सोमबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए ।

प्रतियोगितामा सात समूहले भाग लिएको नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ, समाजसेवी महिला र आगन्तुक चेलीलाई अभिनन्दन गरिएको उहाँले बताउनुभयो । “सँधैझैँ यो वर्ष पनि नाच्नेडाँडामा भेला भई दिदीबहिनीहरुले उल्लासपूर्वक तीज पर्व मनाउनुभयो”, अध्यक्ष मरासिनीले भन्नुभयो ।

मेलामा गण्डकी प्रदेशसभाका उपसभामुख बीना थापा मगर, नेत्र चिकित्सक प्राडा सल्मा केसी राईलगायत विशिष्ट व्यक्तिले सहभागिता जनाएका थिए । सोही ठाउँमा अवस्थित दुई सय ७० वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको छ ।

तीजमा महादेवको ब्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । स्थानीयवासी तिलकुमारी थापाले आफू सानै हुँदादेखि नाच्नेडाँडामा तीज मेला लाग्ने गरेको सुनाउनुभयो ।

“टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो”, ८० वर्षीया उहाँले भन्नुभयो, “गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व छ ।”

अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो ।

“त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।”

दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेको समाजका अध्यक्ष मरासिनीले बताउनुभयो । “परापूर्वकालदेखि नै नाच्ने डाँडामा तीजको कार्यक्रम हुँदै आएको हो, पछिल्लो समय मेलाको रुपमा निरन्तरता दिएका छौँ”, अध्यक्ष मरासिनीले भन्नुभयो ।

बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, महिला घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिएको छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजले जनाएको छ । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने विश्वास लिइएको छ ।

तीजमा आउने ब्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले श्रद्धालुलाई लक्ष्य गरी मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको बताउनुभयो । भक्तजन र दाताको सहयोगमा झण्डै रु. ४० लाख खर्चेर सो मण्डप तयार गरिएको हो ।

त्यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । विसं १८१० मा मन्दिर निर्माण भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् ।

उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना त्यहाँ बन्नेछन् । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ

प्रतिक्रिया दिनुहोस्