१७ बैशाख २०८१, सोमबार

 

शिक्षा विधेयकको विरोधमा हजारौँ शिक्षकहरु आन्दोलनमा

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलन सुरु गरेको छ। सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै बुधबार देशभरिका विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो।

माइतीघर मण्डलादेखि सुरु गरेको र्‍यालीले माइतीघरदेखि बानेश्वरसम्म यातायात ठप्प भएका थिए। शिक्षकहरूको सडक आन्दोलनले काठमाडौंको सडक अस्तव्यस्त भएको थियो ।७७ वटै जिल्लाबाट आएका स्थायी, राहत, करार, बाल विकासका शिक्षक र कर्मचारीहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएका छन्।

विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा लगायतका विषयमा शिक्षा विधेयकले सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन थालेको हो।

महासंघले विगतको सहमति अनुसार विधेयक नआएको र विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेका छन् ।विधेयकको विरुद्ध देशभरबाट आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।

संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले अन्यत्र नोकरी गर्न नहुने, हड्ताल गर्न नहुने, प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने, दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने,

कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने लगाएतका प्रावधानहरु हटाउनु पर्ने माग महासंघले गरेको छ ।

विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, अस्थायी प्रकृतिका शिक्षकहरु राहत, साविक उमावि, अस्थायी र करार, शिक्षक सिकाए

अनुदान, विशेष शिक्षा, प्राविधिक धार लगायतका शिक्षकहरुको लागि आन्तरिक परीक्षाबाट स्थायी हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, ट्रेड युनियनको अधिकारलगाएत १७ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको हो ।

विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका महासंघका नेतृत्वलाई शिक्षा मन्त्रालयले वार्तामा आउन आह्वान गरे पनि उनीहरु वार्तामा गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्