२४ बैशाख २०८१, सोमबार

 

ढोँगी समाजलाई झापड हान्ने नाटक ‘वेडिङ एल्बम’

परिवारमा कसैकाे बिहे हुन लागेकाे घरको रौनक कस्तो होला ?

घर पाहुना र आफन्तले भरिएको, हाँसो ठट्टा र मजाकले रोचक माहोल, कामको चटारो बीचमा पनि नाचगान, हाँसखेल भन्ने लाग्छ हामीलाई । बिहेको बहानामै सही, टाढा रहेका परिवारजन र आफन्तहरू भेटिने, सुखदुःख साट्ने माहोल हुन्छ भन्ने पनि लाग्छ ।

तर बिहेको दिन नजिकिँदै जाँदा बिहे नै हुन्छ कि हुँदैन भन्ने अन्यौल कायम रहँदा कस्तो होला ?

परिवारभित्र वर्षौदेखि गाँठो परेर छिपेको रहस्यको पर्दा बिस्तारै खुल्दै जाँदा, अतीतका कुण्ठाका पोकाहरू खोलिँदै जाँदा कस्तो होला ?

एउटै घरभित्रका कोठाहरू पनि एउटा हिँउजस्तो चिसो, अर्को पथ्थरजस्तो कठोर अनि अर्को इन्द्रेणीजस्तो रङ्गीन कसरी हुन सक्छ ?

यस्तै प्रश्नहरूको उत्तर अनि हिन्दु समाजमा विशेष मानिने विवाहजस्तो सामाजिक परम्पराको ढोँग, पितृसत्तात्मक सोचाइ, महिलादोषी परम्परा र रीतिरिवाजको नाममा व्याप्त घनघोर कुरीतिहरूलाई च्यात्न र आम दर्शकसम्म उजागर गर्नैका लागि निर्माण गरिएको नाटक हो ‘वेडिङ एल्बम’ ।

घरमा कोइराला परिवारकी कान्छी छोरीको बिहेको तयारी धुमधाम सँग हुँदै छ । सारी छान्नेदेखि सुनका गहना जोड्नेसम्मको हतारो छ तर बिहे हुनेरनहुने भने अझै पक्का भइसकेको छैन ।

किनकि दुलहा अमेरिकामा बस्छ । केटा र केटीले एकअर्कालाई अनलाइनमा देखेको कुरा गरेको भरमै बिहे गर्न राजी हुन्छन् ।

लाग्छ, अहिलेको समाज मोडर्न भइसक्यो तर फेरि उता विकसित देशमा बसेर आएकी हेमा आफ्नो भाइ रोहितको क्रिश्चियन गर्लफ्रेण्ड छ भन्ने थाहा पाएपछि आफ्नै जात, धर्मकी केटी खोज्न गाउँछिन् ।

कोइराला परिवार शिक्षित छ तर परिवार भित्र वर्षौदेखि अल्झेर बसेको रहस्यबाट भने बेखबर छ ।

जस्तो कि, घरमा काम गर्ने कुसुम दिदी र आमाबीच सधै सानो-सानो कुरामा चर्काचर्की परिरहन्छ, तर त्यसको कारण कसैले खोज्दैन । उनीहरू कुन तहको मानसिक तनावबाट गुज्रिएका छन्, कसैलाई पर्वाह छैन वा थाहा पाएर पनि बुझ्न चाहँदैनन् ।

त्यस्तै बाबुको सरकारी जागिरले गर्दा सधैँ सरुवा भइरहनुपर्दा छोरीको पढाइ बिग्रेको, सधैँ अर्काको घरमा राख्दा छोरीले भोग्नुपरेको पीडा होस् या यौन शोषणबारे आजसम्म कसैलाई थाहा पत्तो छैन ।

आमाले कुरै कुरामा घरमा काम गर्ने रमेश अहिलेको कुशुम दिदीभन्दा धेरै ठीक थियो, जवाफ पनि फर्काउँदैन थियो भन्दा विदुषी आफ्नी दिदीलाई भन्छे, त्यसले जवाफ त फर्काउँदैन थियो तर जामा त फर्काउथ्यो नि ।

अनि त्यसको जवाफमा दिदीले भन्छे, तँलाई पनि त्यसो गर्‍यो ? यसबाट के थाहा हुन्छ भने छोरीहरू आफ्नै घरमा आफैंले विश्वास गरेको मान्छेबाट त सुरक्षित छैनन् अनि यो कुरा परिवारले कहिल्लै बुझेन वा बुझ्न खोजेन ?

त्यस्तै विदुषीको जन्मदर्तामा आफ्नो बाबुको नाम हुनुपर्नेमा काकाको नाम हुन्छ, जुन भुलवश भएको भने हुँदैन अनि गल्तिलाई सच्याउनुपर्ने भन्दा आमाले गल्ति भइहालेछ, भो यत्तिकौ छोडिदिम् भन्छिन् ।

छोरीको जन्मदर्तामा बाबुको नाममा फरक पर्दा पनि केही फरक नपर्ने कुराले कतै आमा र काकाबीच नाजायज सम्बन्ध पो थियो कि भनेर प्रश्न पनि उठ्छ । यो कुरा नाटकमै विदुषी र हेमाले पनि जिकिर गर्छन् तर त्यसको रहस्य नाटकको अन्तसम्म पनि खोलिँदैन ।

त्यस्तै बिहेको केही दिन अगाडिसम्म पनि विदुषी एक क्याफेको एकान्त अँध्यारो कोठामा परपुरुषसँग फोनमा अश्लिल संवाद गर्छे, आफ्नो यौन चाहाना पूरा गर्छे ।

त्यही बेला केही युवाहरूले उसलाई रङ्गेहात फेला पार्छन् र त्यसको भिडियो फोटो खिचेर ब्याल्कमेलु गर्न खोज्छन् ।

यो कुरा वर्तमान समाजमा अनेक काण्डु चलाएर सामाजिक सञ्जालमा भ्युज खोज्ने र अरूको निजी जीवनमा हस्तक्षेप गर्ने मनोवृत्तिलाई देखाउन खोजिएको छ ।

क्याफेको उक्त कोठाको भित्तामा एउटा सेतो परेवा छ, जसको पँखेटाबाट रगत बगेको छ । आकाशमा निस्फिक्री उड्न चाहान्छ, विदुषीजस्तै किनकि उसले चुनौति मोलेर, दाम्पत्य जीवन सुखी नहुने प्रशस्त जोखिम हुँदाहुँदै पनि अमेरिका बस्ने केटासँग बिहे गर्न सहमति दिएकी छे । उताको समाज खुल्ला छ, उताको आकाश स्वतन्त्र छ ।

नाटक ‘वेडिङ एल्बम’ मुख्यतः कोइराला परिवारको वरिपरि नै घुम्छ, जहाँ समाजका अन्य पात्रहरू मिसिन आइपुग्छन् । लमीले भनेकै भरमा, छोरीको बिहेको हल्ला टोलभरि फैलाएर, केटाको घरमा टीकोटालो गर्न आइपुग्छ केटीपक्ष ।

जबकि केटाको बिहेमा कुनै इच्छा नै छैन । केटालाई घर, सम्पत्तिको लोभ देखाएर हुन्छ कि छोरीको चरित्रको गुनगान गाएर हुन्छ, बिहे गर्न उक्साइन्छ ।

त्यतिले पनि काम नगरेपछि बरू केटाको खुट्टा नै ढोकेर छोरीको बिहेको भीख मागिन्छ । उनीहरूको विचारमा समाजमा आफ्नो इज्जत बचाइराख्नु छ, नत्र भोलि छोरीसँग बिहे कसले गर्ने ?

हाम्रो समाजमा त्यस्तो परिवार नि छ, जहाँ छोरी आफूले नदेखेको, नभेटेको केटासँग बिहे गर्न राजी छे । बाहिर क्याफेको अन्धकार कोठामा अरू कसैको लागि निर्वस्त्र हुन पनि तयार छे भने उता समाजमा कुरा चलेपछि केटा पक्षले बिहे गर्न मनिदिएन भने छोरीको चरित्रमा दाग लाग्ला, इज्जत जाला भन्ने डर पनि छ ।

यो हाम्रो समाजको कस्तो बिसंगति हो, यो कस्तो ढोँग हो ? वास्तवमै वेडिङ एल्बम वर्तमानमा हामीले बाँचिरहेको ढोँगी समाजको यथार्थमाथिको गतिलो झापड हो ।

नाटकमा उपस्थित पात्रहरूको आ-आफ्नै चरित्रका लेअर छन् । यस्तो लाग्छ, कोइराला परिवार एउटा प्याज हो । बाहिरबाट हेर्दा सबै ठीकै छजस्तो ।

तर पात्रहरू निस्किँदै जाँदा तिनमा आफ्नै जटिलताहरू देखिँदै जान्छन् । ती पात्रहरू आफैँमा असमानजस्यपूर्ण छन् । उनीहरू जीवन बाँचिरहेर पनि जीवन्त नरहेजस्तो ।

जस्तो कि बाबुलाई सरकरी जागिरले गर्दा परिवारलाई समय दिन नसकेको पीडा, आमालाई छोरीहरूको बिहे तामझामसँग गर्न नपाएको पीडा, हेमालाई आफ्नो छोराछोरी अस्ट्रेलियामा छोडेर आउनु परेको पीडा अनि आफ्नो लोग्नेको अरूसँग सम्बन्ध रहलाकि भन्ने पिर, रोहितले

आफ्नो प्रमिकालाई छोडेर परिवारले रोजेकै केटीसँग बिहे गर्नुपरेको बाध्यता अनि बिदुषीलाई आफ्नो अन्धाकार भविष्यको ज्ञात हुँदाहुँदै पनि त्यसमै रमाउनपर्ने बाध्यता ।

एउटै परिवार दिनरात सँगै रहेर पनि हरेक सदस्यहरूको आफ्नै समस्याहरू, सन्नाता, एउटा चिसो कोठा । ओहो १ यही त हो नि हाम्रो समाजको वास्तविकता ।

कथित सुखी परीवारको वास्तविकता । यसमा निर्देशकको भूमिकामा आकाङ्क्षा कार्की अब्बल देखिएकी छन् ।

त्यसो त नाटक वेडिङ एल्बमुमा बिहेका कुरा मात्र छैनन्, बिहेअघिका कुण्ठाहरू, मनमा दबिएर बसेका दुःख र घरेलु हिंसाका पोका पुन्तुराहरू, बाल यौन शोषण, मानसिक स्वास्थ्य अनि बिहेपछि सम्बन्धमा थपिएका शंका, उतार चढाब र बाध्यताका भीमकाय पहाडहरू छन् ।

नाटकमा प्रयोग गरिएको सेट डिजाइन, प्रकाशको संयोजन र ध्वानीको प्रयोग साथै आर्ट वर्क प्रशंशायोग्य छ । पात्रहरूको भेषभुष्षा, लवज र संवादको टाइमिङलाई पनि निकै ध्यान दिइएको छ ।

अभिनयमा पनि हरेक पात्रहरू जीवन्त लाग्छन्, जसमा बाबु (अशान्त शर्मा) र कुसुम दिदी (सोविता अधिकारी) को चरित्रले धेरै नबोलेरै पनि कथालाई जीवन दिएका छन् ।

आमा (लुनिभा तुलाधर), रोहित (सुदाम सिके), हेमा (केनिपासिंह पहरी) र विदुषी (रञ्जना भट्टराई) को अभिनय अब्बल छ भने सहयोगी भूमिकामा रहेका अन्य कलाकारहरू ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठी, नवीनचन्द्र अर्याल, विनिता लामा गुरूङको अभिनय पनि सम्झन लायक छ । यो नाटक आगामी असोज २७ गतेसम्म कौशी नाटकघरमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्