३ जेष्ठ २०८१, बिहीबार

 

बेलायतबाट टियाले पठाइन आफ्नो गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री

बागलुङ । आफ्ना आमाबाबुसँग बेलायतमा बस्दै आएकी बागलुङकी एक १३ वर्षीय बालिकाले आफ्नो गाउँको विद्यालयमा सहयोग गरेकी छन ।

बागलुङ नगरपालिका—१२ अमलाचौर ज्यामिरे घर भै हाल लण्डनको रिभर एकेडेमीमा अध्ययन गर्ने टिया आचार्यले आफ्नो नेतृत्वमा केही रकम संकलन गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामग्री पठाएकी हुन ।

टियाले बाबु चिरन आचार्य मार्फत अमलाचौरमा रहेको जगन्नाथ प्राविमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री र न्यानो कपडा पठाएकी हुन ।

गत वर्ष आफ्ना आमाबाबुसँग अमलाचौर आएको बेला सोही विद्यालयमा अध्ययनरत विद्यार्थीकासँग भेट्दै गर्दा उनले आफूले यहाँ अध्ययन गर्ने विद्यार्थीका लागि केही सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिईन ।

सोही अनुसार उनी बेलायत पुगेपछि केही रकम संकलन गरि आफ्ना बाबु मार्फत विद्यार्थीका लागि न्यानो ज्याकेट, ट्रयाक सुट, जुत्ता, झोला तथा स्टेशनरी सामान समेत सहित पठाएकी थिईन ।

उनले पठाएको सामाग्री आईतबार एक कार्यक्रममा बीच विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीका लागि हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

आइतवार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी र कृष्ण पाठकले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए ।

टियाका बाबु चिरन शर्माले एक वर्ष अघि छोरी नेपाल आउँदा देखेको बिद्यालयलाई सहयोग गर्न चाहेपछि यो वर्ष सहयोग लिएर आएको बताए । यो विद्यालयमा अधिकांस दलित विद्यार्थी पढ्छन् ।

कार्यक्रममा सुवेदीले अबका दिनमा सामुदायिक बिद्यालय बचाउन विद्यार्थी टिकाउन सक्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकेमा मात्र भोलीका दिनमा विद्यालय रहने भन्दै नत्र ग्रामीण तहका साना बिद्यालयहरुको अस्तित्व जोगाउन मुस्किल पर्ने बताए ।

त्यसकालागि अभिभावक र शिक्षक मिलेर गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए ।राज्यले अब माथिल्लो कक्षाका विद्यालय भने घटाएर खर्च कटौती गर्ने तथा आवासिय विद्यालय बनाएर धेरै बालबालिकालाई एउटै स्थलमा पढाउने तथा गुणस्तर बिकास गर्ने काम थाल्नुपर्ने सुझाव दिए ।

अब संघियता सँगै केन्द्रले विद्यालय हेर्ने नभइ स्थानीय सरकारलेनै हेर्नुपर्ने पनि बताए । उनले वित्तिय र प्रशासनिक क्षेत्रमा पनि संघियता लागू भएमा मात्र देशको विकास संभव हुने धारणा राखे ।

सांसद पाठकले बालबालिका पढाउने नाउँमा सहर पस्ने र बिदेश जानेबाट गाउँघरका विद्यालय सुनसान भएको भन्दै बेलैमा बचाउने अभियानमा अभिभावक लाग्नुपर्ने सुझाव दिए । उनले विद्यालयमा गुणस्तर पनि बढाउनुपर्ने भन्दै राज्यले शिक्षा क्षेत्रलाई प्राथमकिता दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, वडा अध्यक्ष कोपिलामणी शर्मा लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षता, चिरन शर्माको संचालन प्रधानाध्यापक बुद्धि चापागाईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच आइतवारै पृथ्वी हिरण्य माविमा पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले शिक्षा भौतिक पूर्वाधार बनेर मात्र गुणस्तर नहुने भएकोले त्यहाँका शिक्षक दक्ष बन्नुपर्ने, विद्यालयमा प्राविधिक शिक्षाको शुरुवात हुनुपर्ने जस्ता सूचक पुरा गर्न सक्नुपर्ने धारणा राखे ।

उनले उक्त विद्यालयको भवन आर्कषक बनिसकेकोले गुणस्तर सुधार हुने तथा विपन्न बालबालिकाको पढाइमा पहुँच बढाउने खालका कार्यक्रम जोड्ने काममा साथ दिने बताए ।

कार्यक्रममा शिक्षक, अभिभावक र जनप्रतिनिधिले विद्यालयको गुणस्तर सुधार गर्दै प्रविधिमय बनाउने योजना सुनाए । ती योजना पुरा गर्न स्थानीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

पिपुल्स खबरबाट

 

प्रतिक्रिया दिनुहोस्