१७ बैशाख २०८१, सोमबार

 

ग्लोबल आईएमई बैंक बन्यो सबैभन्दा बढी कर तिर्ने बैंक

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ ।

आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा बिहीबार आयोजना गरेको कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो । बैंकले आर्थिक वर्ष २०७८ र ७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कदर स्वरुप सम्मान पत्र प्रदान गरेका छन्। बैंकको विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ ।

हाल बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमईले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ।

बैंकले  गुणात्मक वृद्धिको लक्ष्य २०२५ अनुसार अनुशरण गरी कार्यसम्पादन गर्दै आईरहेको छ । बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य राखेको छ ।

बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्रबाट ४२ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्