१७ बैशाख २०८१, सोमबार

 

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर-२०२३’ को उपाधि

काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर’ २०२३ को उपाधि प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो।

बैंकले एक विज्ञप्ति जारी गरी ‘बैंक अफ दि इयर’ २०२३ को उपाधि प्राप्त गर्न सफल भएको सुखद् खबर बाँड्न पाउँदा हामी अत्यन्त उत्साहित रहेको जनाएको छ । बेलायतमा बिहीबार साँझ भएको एक समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान प्राप्त गरेको जनाइएको छ ।

सन् २००० देखि ‘दि बैंकर’ ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो। ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् बैंकिङ उद्योगको ओस्कार मानिन्छ।

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरुको व्यवसायको विकास गर्न चुनौतीहरुको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्‍याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।

‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयरुबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । सम्मान प्राप्तिपछि बैंकका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए ।

‘वर्तमान आर्थतन्त्रको पृष्ठभूमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै  हैसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्नेछ,’ उनले भने।

सीईओ अशोक शेरचनले बैंकले प्राप्त गरेको सम्मान संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही, शुभचिन्तकका लागि मात्रै नभएर नेपालको बैंकिङ क्षेत्रकै सफलताको रुपमा दाबी गरेका छन् ।’आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुँदै जानेछन् भन्ने विश्वास समेत छ,’  उनले भने ।

‘यस सम्मानले हाम्रो मनोबल उच्च भएको, अगाडि बढ्न थप प्रेरणा मिलेको र दायित्ववोधका साथ बैंकिङ क्षेत्रको सेवालाई अझ अत्याधुनिक र प्रभावकारी बनाइने’ सीईओ शेरचनको भनाई थियो ।

प्रभु बैंकका ३ सय बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटिएम र ३१ लाखभन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रभु बैंकमा सेञ्चुरी बैंकसहित बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था यसमा गाभिएका छन्।हाल बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगेको छ।

प्रतिक्रिया दिनुहोस्