१६ बैशाख २०८१, आईतवार

 

एकता सहकारीको पच्चिसौँ साधारणसभा सम्पन्न

बागलुङ । एकता सहकारी संस्था लिमिटेडको पच्चिसौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नु भएको थियो । सो अवसरमा बोल्दै श्रेष्ठले सहकारीलाई सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सक्रिय बनाउनका लागि नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका केही नकरात्मक घटनाहरुले सबै सहकारीहरु उस्तै हुन् भन्ने खालको अवस्था सिर्जना भएको भन्दै नगरप्रमुख श्रेष्ठले सहकारीका असल अभ्यास र क्रियाकलापहरु आम जनताका बीचमा लैजान आव्हान गर्नु भयो ।

सबै सहकारीहरु एउटै वा उस्तै होइनन्, धेरै सहकारीले सदस्यहरु लगायत समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेका छन्, केही सहकारीको गलत कार्यका कारण सबैलाई एउटै डालोमा हालेर नबुझौ, प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा संस्थाका संरक्षकहरु देवबहादुर श्रेष्ठ, पद्मचन्द्र राजभण्डारी, पूर्वअध्यक्ष कृष्ण शंकर श्रेष्ठ, कानुनी सल्लाहकार काजीगाउँले श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा सचिव महेन्द्र कँडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पवनलाल राजभण्डारीको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक एक बहादुर केसीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

कार्यक्रम सहकारी अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको स्वागत र सहसचिव सुनिता पुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

१७ सय २ जना शेयर सदस्य रहेको एकता सहकारीमा गत आर्थिक वर्षसम्म ९ करोड ५६ लाख शेयर रकम, २७ करोड १५ लाख वचत, ३३ करोड ऋण लगानी रहेको प्रवन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।

विसं २०५६ सालमा २७ जना शेयर सदस्यहरुको पहलमा बागलुङ बजार २ आवा रोडमा एकता सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो । यस सहकारीले २१ जना युवालाई रोजगारी दिएको छ ।

अहिले केन्द्रीय कार्यालयसहित उपल्लाचौर, काठेखोला गाउँपालिकाको रिजाल चोक, गलकोट नगरपालिकाको हटियामा सेवा केन्द्र सेवा प्रदान गरेको छ । सहकारीले मोबाइल बैकिंक र क्युआर सेवा पनि संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्