१५ बैशाख २०८१, शनिबार

 

निलगिरि सहकारीको १६ औं साधारणसभा सम्पन्न

बागलुङ । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले सहकारी क्षेत्रलाई उद्योग, पर्यटनसँग जोड्नुपर्ने बताउनु भयो । बागलुङमा रहेको निलगिरि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री थापाले सहकारी क्षेत्रलाई साना तथा मझौला उद्योग र पर्यटन क्षेत्रमा पनि जोड्न आवश्यक रहेको बताउनु भयो ।

उनले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका निम्ति सहकारी क्षेत्र बचत र ऋणको मात्र कारोबार गर्नु भन्दा अन्य क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेको बताएका हुन ।

निलगिरि सहकारीका सल्लाहकार समेत रहेका थापाले पछिल्लो समयमा एकाद सहकारीको कारणले राम्रो गरेका सहकारीमा पनि यसको प्रभाव परेको बताए ।

‘केही सहकारीले धेरै राम्रो गरेका छन, गरिब तथा विपन्नको सारथी नै भएका छन, मन्त्री थापाले भने,“एक÷दुई सहकारीले कारोबार विगारेका कारण राम्रो गर्नेलाई पनि यसको प्रभाव परेको छ । यसले पछिल्लो समयमा सहकारी क्षेत्रका केही आरोह अवरोह आएको छ, खराब कारोबार गरेका सहकारी र संचालकलाई तुरन्त कारबाही गर्नका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको छ ।’

थापाले आफ्नो सहकारीको अवस्था कस्तो छ त्यसका बारेमा नियमित आफू अपडेट हुनपर्ने शेयर सदस्यको दायित्व भएको बताए । थापाले गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सहकारी क्षेत्रसँग सहकार्य गरेर केही मुख्य काम गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा निलगिरि सहकारी संस्थाका शेयर सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ सापकोटा, संस्थाका सल्लाहकार एवं बागलुङ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, संस्थाका शेयर सदस्य एवं जैमिनी नगरपालिका—७ का वडा अध्यक्ष केन्द्रबहादुर रसाईली, जिल्ला सहकारी संघ बागलुङका सचिव तेज प्रसाद शर्माले सहकारी क्षेत्रका विकासका निम्ति शेयर सदस्यकै मुख्य भूमिका हुने बताएका थिए ।

बागलुङ बजारमा मुख्य कार्यालय रहेको निलगिरि बचत तथा ऋण सहकारीले गत बैशाखदेखि पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र स्थापना गरेको छ । संस्थामा हाल १ हजार २ सय २८ जना शेयर सदस्य रहेका छ । संस्थाको हाल ३ करोड ७९ लाख ३४ हजार ८ सय शेयर पुँजी रहेको छ भने हालसम्म १ अर्ब ४९ करोड, ७२ लाख ८२ हजार २२० रुपैयाँको कारोबार गरेको छ ।

साधारणसभामा कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन, सचिव मिनबहादुर केसीको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता उपाध्यक्ष चित्रबहादुर केसिको स्वागत र सचिव मिनबहादुर केसी मिलनको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्