१५ बैशाख २०८१, शनिबार

 

इमेज सहकारीका सेयर सदस्यले माघ ६ गते बोलायो विशेष साधारणसभा

बागलुङ । इमेज बचत तथा ऋण सहकारी बागलुङका पीडित सेयर सदस्य र बचतकर्ताहरुलेले विशेष साधारणसभा गर्ने भएका छन् ।

गण्डकी प्रदेश सहकारी ऐन २०७५ को दफा ३६ को उपदफा ४ बमोजिम सेयर सदस्यहरुको बहमुत उपस्थितिमा सम्पन्न हुने गरी माघ ६ गते बागलुङ बजारमा विशेष साधारणसभा बोलाउने निर्णय गरिएको इमेज बचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

सेयर सदस्यले गत मंसिर ४ गते भेला गरी विशेष साधारणसभा बोलाउने निर्णय गरेका थिए । पीडित बचतकर्ताहरुले गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, सहकारी रजिष्ट्रार भेषराज रिजालसँग पुस १३ गते गरेको छलफलका पश्चात माघ ६ गतेका लागि विशेष साधारणसभा बोलाएको संयोजक कार्कीले बताउनु भयो ।

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीले सहकारीको डेढ अर्ब रकम हिनामिना गरि सपरिवार जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपाली विरुद्ध पीडित बचतकर्ताहरु निरन्तर आन्दोलनमा रहेका छन् ।

इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर नेपाली, सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका र अनीता बुढालाई जिल्ला अदालत बागलुङले थुनामा राख्ने आदेश दिएपछि कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्