३ जेष्ठ २०८१, बिहीबार

 

पर्वत सहकारी ठगी : थप ५ जना सञ्चालक कारागार चलान

बागलुङ । सहकारी ठगी आरोपमा पर्वतका थप ५ जना सञ्चालक कारागार चलान भएका छन् ।

पर्वतको कुश्मा बजारमा सञ्चालित ग्रामीण विकास कृषि सहकारीका ५ जनालाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्न पर्वत जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आदेश दिएको हो ।

ग्रामीण कृषि सहकारीमा ९ करोड बढी रकम अपचलन भएको रिपोर्ट छ । सहकारीको रकम अपचलन आरोपमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ६ जना पक्राउ परेका थिए ।

अध्यक्ष लेखनाथ शर्मा सहित उपाध्यक्ष विष्णु प्रसाद तिवारी, सचिव शालिग्राम पाध्या, पूर्वअध्यक्ष राजु शर्मा, सञ्चालक धनपति आचार्य र सफ्टवेयर प्राविधिक प्रतिमान पौडेल कारागार चलान भएका हुन् । प्रतिमान एकसाता अघि नै कारागार चलान भएका थिए ।

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीका सचिव विकास विश्वकर्मा र सफ्टवेयर डिजाइनर प्रतिमान पौडेल यसअघि नै कारागार चलान भैसकेका छन् । उपाध्यक्ष कृष्ण प्रसाद उपाध्याय र सहसचिव ओमकार कर्माचार्य ३०,३० लाख धरौटीमा रिहा भएका छन् ।

यो सहकारीमा २९ करोडभन्दा माथि हिनामिना भएको प्रहरी प्रतिवेदन छ । बचतकर्ताले रकम फिर्ता नपाएको गुनासो सहित उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्