३ जेष्ठ २०८१, बिहीबार

 

व्यापार बचत तथा ऋण सहकारीको ११ औं साधारणसभा सम्पन्न

बागलुङ । व्यापार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको ११ औ साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष नरेश कँडेलले सहकारी सघंसंस्था उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो ।

आर्थिक मन्दीको चपेटामा यहाँका उद्योगी व्यावसायी पनि पर्दै गएको चर्चा गर्दै उहाँले सहकारीहरु आर्थिक कारोबार तथा कर नीति सम्बन्धी स्पष्ट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कँडेलले सहकारी सघंसंस्थाले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा जिल्ला बचत तथा ऋण सहकारी सघंका सचिव ऋषिराम गौतम, व्यापार बचत तथा ऋण सहकारी संस्थाका जेष्ठ शेयर सदस्य कृष्णशंकर श्रेष्ठ र पत्रकार कोपिला कँडेल लगायले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका सचिव गोकुलप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रविन्द्र कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक घनश्याम शर्माले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाका अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य कृष्णशंकर श्रेष्ठलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो

। त्यसैगरी उत्कृष्ट कारोबारी ईन्द्रमणी पौडेल ,मंगल सुबेदी, जमुना सापकोटा कँडेल र रविन्द्र श्रेष्ठ, असल ऋणी मनोज कुमार शाह, नियमित बचतकर्ता उपेन्द्र शाह बानिया, नियमित अवधी बचतकर्ता शंकर प्रसाद शर्मालाई प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो । कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने निष्कर्ष श्रेष्ठ र शाया श्रेष्ठलाई उपहार र प्रशंसा पत्र सहित पुरस्कृत गरिएको संस्थाका सचिव गोकुल प्रसाद कँडेलले जानकारी दिनुभयो ।

संस्थाले चालु आर्थिक वर्षको असार मसान्तसम्म १७ करोड ७६ लाख ५४ हजार २ सय ११ रुपयाँको कारोबार गरेको कोषाध्यक्ष रबिन्द्र कुमार श्रेष्ठद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । १ सय ६३ जना शेयर सदस्य रहेको संस्थाको कुल शेयर पुँजी ५२ लाख ६७ हजार २ सय रहेको छ भने कर्जा लगानी १ करोड ४९ लाख २३ हजार रहेको छ । त्यस्तै कुल आम्दानी १५ लाख ५ सय ६१ रहेको संस्थाले जनाएको छ ।

कार्यक्रम व्यापार बचत तथा ऋण सहकारीका अध्यक्ष ईन्द्रमणी पौडेलको अध्यक्षता, उपाध्यक्ष विमल श्रेष्ठको स्वागत मन्तव्य र सचिव गोकुलप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्