३ जेष्ठ २०८१, बिहीबार

 

पीडित बचतकर्ताले ब्युताए इमेज सहकारी, अध्यक्षमा कृष्ण बहादुर सार्की

बागलुङ । इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारण सभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । विशेष साधारण सभाले कृष्ण बहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा बाल कुमारी केसी, सचिवमा सीता केसी, कोषाध्यक्षमा सरिता तिमिल्सिना कँडेल रहेका छन् । समितिको सदस्यमा गुप्त बहादुर खत्री, कृष्णा कार्की र अजिज उल मिया रहनु भएको छ ।

साथै हरि बहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । लेखा सुपरीवेक्षण समितिको सदस्यमा कुल बहादुर राना र गोमा विश्वकर्मा रहनु भएको छ ।

विशेष साधारणसभाले इमेज सहकारीलाई सम्पत्ती र दायित्वको एकीन गरि पीडित वचतकर्ताहरुको रकम फिर्ताका लागि पहल गर्ने निर्णय गरेको छ ।

सभाको उद्घाटन गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले गर्नु भएको थियो । सो अवसरमा बोल्दै पाठकले सहकारीको भावना विपरित काम गर्ने केही सहकारीहरुको बदमासीलाई देखाएर सिंगो सहकारी अभियानलाई कमजोर बनाउने काम भएको बताउनुभयो ।

उहाँले सहकारीमा बदमासी गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन र राम्रो गरेकाहरुलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जीत शेरचनले सहकारी अभियानमा देखिएको समस्या समाधानमा राज्यकै भूमिका कमजोर देखिएको बताउनुभयो ।

उहाँले सजिलो पर्दा अगाडि आउने र समस्या पर्दा सहजीकरण गर्न नसक्ने अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो । प्रदेश सरकारसंग समन्वय गरेर समस्या समाधानमा सहजीकरण लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता शेरचनले व्यक्त गर्नु भएको छ ।

बागलुङ नगरपालिकका प्रमुख बसन्त कुमार श्रेष्ठले प्रदेश सरकार र संघीय सरकारले अनुमति दिएका सहकारीहरुका कारण बागलुङका अन्य सहकारीहरुलाई समेत समस्या सिर्जना भएको बताउनुभयो ।

प्रदेश र संघबाट अनुमति लिएका दुईवटा सहकारीमा आएको समस्याका कारण बागलुङका अन्य सहकारी र व्यवसायीहरुलाई समेत समस्या भएको भन्दै श्रेष्ठले समस्या आएका सहकारीहरुका पीडितहरुलाई न्याय दिनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) , राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेफ्स्कुनका पूर्वकोषाध्यक्ष तथा अधिवक्ता नानीबाबु बुढाथोकी, बागलुङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरज बोसेल, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, इमेज पीडित वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्की, गलकोटका संयोजक मञ्जु शर्मा चालिसे, बुर्तिबाङका संयोजक याम बहादुर कुँवरले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका शेयर सदस्य बाल कुमारी केसीको अध्यक्षता, संघर्ष समितिका सदस्य शेखर खड्काको स्वागत र संघर्ष समितिका सचिव याम बहादुर पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

इमेज सहकारीका मुख्य जिम्मेवार व्यक्ति देवकुमार नेपाली फरार भएपछि बन्द रहेको संस्थालाई सुचारु गर्ने लक्ष्यका साथ विशेष सधारण सभा आयोजना गरिएको इमेज पीडित वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले बताउनु भयो ।

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीले सहकारीको डेढ अर्ब रकम हिनामिना गरि सपरिवार जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपाली विरुद्ध पीडित बचतकर्ताहरु निरन्तर आन्दोलनमा रहेका छन् ।

इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर नेपाली, सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका र अनीता बुढालाई जिल्ला अदालत बागलुङले थुनामा राख्ने आदेश दिएपछि कारागारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्