२४ बैशाख २०८१, सोमबार

 

देवकुमार नेपाली फरार भएको ८ महिनापछि पक्राउ गर्न रेड कर्नर नोटिस जारी

बागलुङ । इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।

बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरी गत जेठ ५ गतेदेखि फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मदन केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले संसारभरका प्रहरीहरुको अन्तरराष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) मार्फत् रेड कर्नर नोटिस जारी गरेको हो ।अब नेपाली विदेशमा रहेको भए प्रहरीले पक्राउ गरेर नेपाललाई सुर्पुदगी गर्छ । नेपाली फरार भएको ८ महिनापछि बल्ल रेड कर्नर नोटिस जारी गरेको हो ।

सहकारीको रकम हिनामिनामा नेपाली र उनकी श्रीमतीसहित ८ जना संचालकविरुद्ध जिल्ला अदालत बागलुङमा मुद्दा चलिरहेको छ । पीडित बचतकर्ताहरुले लामो समयदेखि विदेशमा लुकेर बसेको आशंका गरिएका नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गर्दै आएका थिए ।

जिल्ला अदालत, बागलुङले गत जेठ २४ गते अध्यक्ष नेपालीसहित ८ जना संचालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । इमेज सहकारीका अध्यक्ष नेपालीले १ हजार ५ सय ५० भन्दा धेरै बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरि सपरिवार गत जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए ।

यस अघि नै इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर नेपाली, सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका र अनीता बुढा जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ ।

संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको छ । सहकारीका अध्यक्ष नेपाली विरुद्ध पीडित बचतकर्ताहरुले लामो समयदेखि निरन्तर आन्दोलन गरि रहेका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको छ ।राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंकामा सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गर्दै आएका थिए ।

बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ, डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’

उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।

मुद्दाकै आधारमा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् । संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत प्रहरीले बिहीबार ललितपुरबाट पक्राउ गरेको छ ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम सो सहकारीमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्