७ जेष्ठ २०८१, सोमबार

 

शैक्षिक संरचनाकै कारण अबको दशक झन् परनिर्भर र पछौटेपनतिर

दोस्रो विश्वयुद्धपछि विश्वको जनसंख्या लगभग चार गुणा बढेको छ । कृत्रिम बुद्धिमत्ता जबर्जस्त प्रभावी बनेर मानिसको मस्तिष्कमा आइसकेको छ । अहिले भूमण्डलीकरण र सामाजिक सञ्जालले संसारलाई पहिलेभन्दा निकै बदलेको छ । धेरै पहुँच हुनेहरू झनै केन्द्र भागमा पुगेका छन् र पहुँचबाट टाढाको समुदाय तीव्र रूपमा किनारीकृत हुँदैछ ।

शिक्षाले सीप र क्षमताका आधारमा योग्य बनाउँदै लगेको छ । एकैसाथ आयमा भएको असमानताका कारण समाज र देशभित्र विभेद बढेको छ । र, यो क्रम एक देश र अर्को देशको बीचमा पनि बढेको छ । अल्पविकसित र विकासोन्मुख देशमा हुने चुनावमा यो विषय प्रस्ट रूपले उठिसकेको छ ।

आजको संसारमा जताततै अस्थिरता, अनिश्चितता, जटिलता र अस्पष्टताहरू देखिन थालेका छन् । यो एक हदसम्म खुला बजार र धनी देशको राजनीतिमा देखिएको शक्तिको आधिपत्यका कारण हो । तसर्थ, नेपालले युवाहरूलाई यो समस्याबाट मुक्ति दिन कम्तीमा प्राविधिक र व्यावहारिक शिक्षा दिनुपर्छ । शिक्षालाई ज्ञानमा बदल्नुपर्छ । यो काम एक किसिमले आमूल परिवर्तनका लागि सञ्जीवनी नै हुनेछ ।

२१औँ शताब्दीको पहिलो दुई दशक हामीले बिताइसकेका छौँ । आज स्कुल, विश्वविद्यालय, उद्योग र समाजले शिक्षाका बारेमा आधारभूत प्रश्नहरू सोधिरहेका छन् । हामी एक पुरानो समयको युगबाट नयाँ र प्राविधिक युगमा जानैपर्ने भएको छ । तर, हामीमा भएको मानवतालाई जोगाउनुपर्छ ।

परिवर्तित जनसांख्यिकीय संरचना, आर्थिक-सामाजिक सम्बन्ध, वातावरणीय प्रभाव, राजनीतिक परिवर्तनका कारण हामीलाई हाम्रो शैक्षिक संरचनाबारे पुनस् परिभाषित गर्न बाध्य पारेको छ । तर पनि नेपालको अवस्था यस्तो नदेखिनुले हामीलाई अबको दशकमा झन् परनिर्भर र पछौटेपनतिर धकल्नेछ ।

२१औँ शताब्दी आँधीबेहरीको बीचबाट गुज्रिनेछ । प्रत्येक देशका युवाले भविष्यका बारेमा चिन्ता गर्नेछन् । नेपालमा रहदानी बनाउने भिडले त्यसै कुराको छनक दिइसकेको छ । प्रत्येक अवसर पाएको विद्यार्थीमा देखिएको शक्तिशाली हुने चाहना बढेको छ ।

नैतिक, रचनात्मक र आलोचनात्मक हुन बिर्साएको छ । मात्र भविष्यप्रतिको चिन्ता र प्रतिज्ञा प्रस्ट वा सुषुप्त देखिएको छ । यो तथ्यलाई समयमा बुझेर नेपालको स्थानीयदेखि, प्रदेश र संघीय सरकारले शिक्षालाई नयाँ किसिमले प्रस्फुटित पार्नुपर्छ ।

शिक्षा नागरिकले पाउने संवैधानिक अधिकार र सरकारको जिम्मेवारीभित्र पर्छ । हामीले नीति निर्माणकर्ताको रूपमा लिने निर्णयले नेपालको भविष्यका लागि कार्य गर्ने तरिकालाई आकार दिन मद्दत गर्छ । यसलाई शिक्षा मन्त्रालयले समयमा नै बुझ्नुपर्नेमा त्यसो हुन सकेको छैन ।

दाताहरूको ठूलो रकम ऋण र सहयोग लिएर तयार पार्ने प्रतिवेदनले केही मानिसलाई खुसी पारे पनि सतहमा शिक्षामा समस्या नै देखाएको छ । यो तथ्य बुझ्न २०७८ को एसईईमा करिब ५० प्रतिशत विद्यार्थीहरूले पाएको ईु ग्रेडले नै बताउँछ ।

शिक्षाले ज्ञान, सीप र स्वभावमा परिवर्तन गराएर शिक्षार्थीलाई परिपक्वताको बाटोमा हिँडाउन तयार पार्नुपर्नेमा ५० प्रतिशतलाई पढ्नबाट वञ्चित गराउनु नै नेपालको शिक्षाको सबैभन्दा ठूलो चुनौती हो ।

शिक्षाले युवाहरूलाई नयाँ र कठिन परिप्रेक्ष्यमा आफ्नो दिमागको संसार खोलेर गतिशील रूपमा वर्तमान र भविष्यका खेल बुझ्न सक्ने बनायो कि बनाएन भन्ने बुझ्नुपर्छ । समाज परिवर्तन गर्ने तरिकामा नयाँ अवधारणाको विकास गर्न आशा र अवसरको सिर्जना गर्न सक्षम बनाउनुपर्छ ।

तर, नेपालमा त्यस्तो देखिएन । कारण नेपालमा करिब ८० अर्ब रकम लगेर यो वर्ष विद्यार्थीहरू विदेशिए । देशको भविष्यका लागि सपना बुन्न खोज्नेलाई शिक्षाले भविष्यका बारेमा सोच्न क्षमतावान् बनाउनु नै आजको समयको उद्देश्य हुनुपर्छ, तर भएन । २१औँ शताब्दीमा धनी, विकासोन्मुख र अविकसित देशहरूले आ-आफ्ना किसिमबाट यसबारे जानकार छन् । यहाँ तिनीहरूले भोगेका केही चुनौतीहरूलाई प्रस्तुत गरिएका छन् ।

आशा र सचेतनताको चुनौती

आजको समयमा नेपालका दूरदराजमा रहेका अविभावकदेखि काठमाडौंमा रहेका सबैको चुनौती भनेको शिक्षाको सचेतनताको चुनौती हो । यसमा आशा र अपेक्षा पनि छ । यसै कारण काठमाडौंं उपत्यकादेखि अरु शहर र बाह्य देशहरूमा समेत उत्कृष्ट नतिजालाई स्कुल सञ्चालकहरू बिक्री गरिरहेका छन् ।

धेरै तथाकथित् विकसित देशहरू र धेरैजसो स्कुलहरूमा विद्यार्थीहरूले उच्चस्तरको तनावका बारेमा गुनासो पनि गरिरहेका छन् । अविभावक छोराछोरीदेखि स्कुलको पढाइप्रति असन्तुष्टि पोखिरहेकै छन् ।

स्कुलले विद्यार्थीहरूलाई दिने गरेको बोझ अस्वस्थकर र बाध्यकारी पनि छ । यसमा अविभावकको पनि हात छ । नेपालजस्ता देशहरूमा स्कुलले स्थानीय आवश्यकता र ज्ञानभन्दा पनि बढी पश्चिमा शैलीलाई कक्षाकोठामा उतार्ने कामले पछि ठूलो समस्या ल्याउनेछ ।

स्कुल तहको परीक्षामा करिब ५० प्रतिशत विद्यार्थीले अंग्रजी, गणित, विज्ञानमा अन्तिम ग्रेड ल्याउने र बाँकी राम्रा भनेका विद्यार्थीमध्ये केहीले नेपाली भाषामा कमजोर क्षमता प्रदर्शन गर्दा हामी कता जाँदैछौँ भन्ने देखाउँछ रु यो नेपालको स्कुले शिक्षाको चुनौतीमा पर्छ । यो विषयमा हामी आलोचनात्मक हुनैपर्छ ।

नयाँ उमेरका युवामा आशा भर्न नयाँ सचेतनताको अभ्यासको माध्यमबाट जीवनलाई रुपान्तरणकारी बनाउने प्रयास गरिनुपर्छ । भविष्यको सम्भावित जोखिम र चुनौतीबारे ध्यान दिएर समाज, संस्कृति, खेल र कलाका क्षेत्रहरूमा जोड दिनुपर्छ । हिजो विद्यार्थीले खेलेका खुट्टे, गट्टा, डण्डीबियोले विद्यार्थीलाई गणित सिक्न र सिकाउन सहयोगी बनेकै थियो ।

यसले उनीहरूलाई समाजसँग घुलमिल हुन सिकाएको थियो, जुन अहिले छैन । अहिलेकै अवस्था बढ्दै जाने हो भने जहाजमा ४५ दिनसम्म यात्रा गरेका यात्रीहरूले गैर(मानवको व्यवहार गरेको अनुभव चालकले गरेजस्तै अबका विद्यार्थीहरूले छिट्टै देखाउने व्यवहार त्यही हो ।

शिक्षाको चुनौती एकलोपन

मानिसले निर्माण गरेका मेसिनहरूले नै मानिसलाई नियन्त्रण गर्न थालेको छ । युवा व्यक्तिहरूमा नै उपकरणमाथिको निर्भरता बढ्दो छ । शारीरिक श्रमलाई मानसिक श्रमले विस्थापन गरेजस्तै अबको एक दशकमा उपकरणको प्रयोगले रैथाने सिकाइ र बुझाइलाई किनारा लगाउनेछ । यसले शिक्षाका लागि के प्रभाव पार्छ भन्नेबारेमा बेलैमा सोच्नु आवश्यक छ ।

नयाँ प्रविधिले मानिसलाई बदल्यो । समाजमा विभेद पनि बढायो । शिक्षाको ज्ञान सीपमा बदलिँदा यस्तो भयो । ज्ञानका आँखा बन्द भए र सीपका नेत्र खुले । तसर्थ हामीले स्कुलमा पूर्ण रूपमा सिकाइएको कुरामा पुनर्विचार गर्नु आवश्यक छ ।

अध्ययनअनुसार मानिस कृत्रिम बौद्धिकताको समयमा पुगेको छ । उसले सामाजिक र संज्ञानात्मक रूपमा तर्कका साथ भविष्यको बाटो निर्धारण गर्न सक्छ । कृत्रिम बुद्धिमत्ताले भनेअनुसार मानिसका अबका गतिविधिहरू यन्त्रद्वारा आउटसोर्स गर्न सकिन्छ भन्ने निचोड हो ।

यो कुराले हाम्रो समाज, हाम्रो संस्कृतिलाई चुनौती दिएर अन्ततस् मानिसलाई एक्लो बनाउनेछ । अब मानिसलाई मानिसले मात्रै सिकाइको सीप प्रयोग गरेर एक्लो पार्नबाहेक अरूले गर्न सक्दैन ।

तर, शिक्षालाई सामाजिक सम्बन्धसँग जोड्न सकेमा हाम्रा मानवीय पक्षहरू ध्वस्त हुने छैनन् । भोलि आउने कठिन चुनौतीलाई समाधान गर्न समाज(शिक्षा(विद्यार्थीलाई जोड्ने काम गर्न शिक्षा मन्त्रालय असफल नै छ आजसम्म । यी समस्याको हल प्रतिवेदन निकालेर दातालाई पढाएर हुँदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी थियो र छ ।

शिक्षा, विभेद र आतङ्कवाद

विभेद र बहिष्करण सबैको समस्या हो । जातका आधारमा, लिङ्गका आधारमा, रङका आधारमा, धर्मका आधारमा असुरक्षा हुनु हुँदैन । फेरि आतङ्कवाद एक वैश्विक समस्या हो । अझै अन्तर्राष्ट्रिय आतङ्कवादले क्षेत्रीय सन्तुलन र सामाजिक न्यायलाई बिथोलेको छ ।

वैश्विक शक्ति बन्नकै लागि आतङ्कवादको राजनीतिक धर्म, राजनीतिक विचारधारा र संस्कृतिसँग जोडेर अर्थ्याएका कारण नेपालजस्ता अविकसित, विकासोन्मुख र भूपरिवेष्ठित देशको राजनीतिक सन्तुलन र स्थायित्व निकै तरल बनेको छ । समाज र देशहरू आक्रमणको जोखिमबाट मुक्त बनेको बुझेका छन् ।

आक्रमणहरूको जवाफमा डर, अविश्वास र जेनोफोबियाका कारण विद्यालयहरूले कसरी युवाहरूसँग आतंकवादको समस्याको सामना गर्न र सामाजिक न्यायलाई स्थापित गराउने भन्ने सिकाउनकै लागि स्थानीय ज्ञान, क्षेत्रीय ज्ञानलाई वैश्विक बुझाइसँग मिलाउनुपर्छ ।

आतङ्कवादको शैक्षिक दृष्टिकोणले आतङ्कवाद के हो र किन भन्ने बुझाउनुपर्छ । सचेतनपूर्ण सिकाइ, पहिचान र सम्मानको दृष्टिकोण, समाजमा विश्वासको वातावरणको माध्यमबाट मानिसहरूलाई आतङ्कवादी बाटोमा लाग्न निरुत्साहित गर्न शिक्षाले साथ दिनुपर्छ ।

तर, यो काम गर्नबाट एक्काइसौँ शताब्दीको शिक्षा सफल छैन । धर्मकै नाममा धर्मनिरपेक्ष्य पश्चिमी दृष्टिकोणले समाजलाई विभेदतिर धकेल्नु ठीक छैन । सामाजिक ज्ञानशून्य शिक्षाले सजिलै मानिसलाई पीडित वा पीडक र रिस(रागको सम्भावित पक्षमा धकेल्छ । समाजमा गरिब, महिला, अल्पसंख्यकले पनि बराबरी सुरक्षित ठान्नुपर्नेमा त्यसो हुन सकेको छैन । यसबारेमा शिक्षाको भूमिकालाई सामाजिक न्याय र कानुनी न्यायसँग जोडेर सिकाउने काम राज्य सरकारले गर्नुपर्छ ।

शिक्षा र दीर्घकालीन हरियो विकास

दीर्घकालीन हरियो विकासको विलोपीकरण एक्काइसौँ शताब्दीको ठूलो समस्या हो । शिक्षाले खुला बजारलाई केन्द्रमा राख्यो । खुला बजारले पैसा मात्र देख्यो । चौर मासिए । नदी किनारमा बस्ती बसे । हिमाल पग्ले । रैथाने जनावर, चराचुरुङ्गी हराए र वनजङ्गल पनि त्यस्तै अवस्थामा पुगे ।

हामी अहिले ग्रहको जीव क्षमतालाई घाताकीय दरमा चित्रण गरेका छौँ । यो समयको व्यवहार चाँडै रोकिएन भने हामी रहनु र नरहनुको कुनै अर्थ हुने छैन । अहिलेको गतिमा हामी चाँडै पृथ्वीका स्रोतहरू निकालेर सक्नेछौँ । अनि खुला बजार र मानवीय अस्तित्व एकैसाथ सकिनेछ ।

मानिसले त्यसपछि संसाधन अभावको सामना गर्नुपर्नेछ । गरिबी बढ्नेछ । विभेद, बहिष्करण र आतङ्कवाद बढ्नेछ । स्कुलहरूले उक्त घातक समय बमलाई सुस्त सुस्त चालमा परिस्कृत गरेका छन् । तर, शिक्षाले यस खतरातिर ध्यान दिन सकेन ।

हाम्रो ग्रहका लागि सबभन्दा खतरा हाम्रै व्यवहारले जैविक क्षमता विलुप्त हुन सक्छ । यो धेरै टाढा र अमूर्त सम्भावना हैन । समाजलाई दिगो राख्न मानिस(गैरमानिस(प्रकृतिको बीचमा सन्तुलन हुनैपर्छ । यो अवस्था कायम राख्न शिक्षा चुकेको छ । हरियो विकासका लागि दिगो कार्य लामो समयसम्म टिकाउन हामीले शिक्षामा आजीवन दीर्घकालीन दृष्टिकोण बनाउनुपर्छ । सामाजिक भावना र बौद्धिक दृष्टिकोणलाई शिक्षाले जोडेरे हिँडाउनुपर्छ ।

हामीले तर्क गर्छौं कि हामीले गरेका सिकाइ अनुभवले बजारमा रोजगार बढाएको छ । तर, मानिसहरूले प्रकृतिलाई माया गर्ने कुरा निकै घटाएको कुरा बुझेनौँ । यसै कारण बा(आमा(छोराछोरीको सम्बन्धमा तनाव ल्यायो । पैसालाई ठूलो बनायौँ ।

आदर भावना समाजको बहुमूल्य पक्ष हो भन्ने कुरा बिर्स्यौं । आजको उपेक्षित ज्ञान र जीवनको कदर नगराउने सीपले समाजमा नकरात्मकता बढायो । आज पनि नेपालको आदिवासी संस्कृतिमा ज्ञान र जीवनको सकारात्मक पक्ष पाइन्छ । तसर्थ दिगो शिक्षाले विद्यार्थीहरूलाई वातावरणीयताको स्थानीय आवश्यकताका बारेमा सचेत गराउँछ । यो चुनौतीलाई चटक्कै बिर्सेर युवाहरूलाई शिक्षा दिँदा समाजको विकास दिगो हुने छैन ।

शिक्षा र उत्तर मानव समयको राजनीति

२१औँ शताब्दीदेखि संसार उत्तर मानव युगमा गैसकेको छ । क्लोन, जनावरको अंग मानिसमा प्रत्यारोपणकै कारण मानिस मानिसजस्तै बनेको छैन । रामायणमा लेखिएको १० टाउके रावणको कथा २१औँ शताब्दीको उत्तर(मानव युगको कृत्रिम सत्यको समय हो । यसले राजनीतिक घटनाक्रमलाई बद्ने तर्क गरिँदैछ । सञ्चार रणनीतिले मानिसलाई क्वान्टम युगमा धकेलेको छ ।

आइन्स्टाइनले भनेअनुसार प्रकाशको गति तीव्र हुन्छ भन्ने कुरालाई क्वान्टम वैज्ञानिकले असत्य बनाए । यसो हुनुमा पनि शिक्षाको हात छ । यस्तै गतिमा आएको नयाँ छलफलले समाजको पुरानो सत्यलाई हटाउँछ र नयाँ सत्यलाई निर्माण गर्छ । अतः यो पूरै बिनिर्माणको समय हुनेछ ।

हामी तर्क गर्छौं कि २१औँ शताब्दीको प्रजातान्त्रिक राजनीति सफल भयो । यसको बयानबाजीपछि यति भनिन्छ कि यसले समृद्धि दियो । तर, समानतालाई लुटेको कुरा भन्न छाड्यौँ । यसबारे अबको शिक्षाले कसरी लिने भन्ने नयाँ चुनौती समाजमा थपिएको छ ।

शिक्षाको नयाँ चुनौती र ज्ञान

नयाँ प्रविधिले मानिसलाई बदल्यो । समाजमा विभेद पनि बढायो । शिक्षाको ज्ञान सीपमा बदलिँदा यस्तो भयो । ज्ञानका आँखा बन्द भए र सीपका नेत्र खुले । तसर्थ हामीले स्कुलमा पूर्ण रूपमा सिकाइएको कुरामा पुनर्विचार गर्नु आवश्यक छ । ज्ञानलाई सीप र सीपलाई ज्ञानमा बदल्नुपर्छ ।

समाजको सन्तुलित विकासका लागि अधिक समय खर्चिनुपर्छ । अवसर मात्र सबै हैन । ज्ञान र सीपले मात्र समाजमा चमक दिन्छ । यो तथ्यलाई स्थानीय आवश्यकतासँग जोडिनुपर्छ । २१औँ शताब्दीमा ज्ञान पहिलेभन्दा बढी आवश्यक छ । ज्ञानलाई समाज विज्ञानको पर्यावरणसँग मिलाउनुपर्छ । यसले समाज र आजका विद्यार्थीहरूलाई गलत दिशामा जान दिँदैन ।

समाजमा मानविकी, साहित्य र कलासँग हाम्रो समयको आवश्यकताका लागि ज्ञान मुख्य हुन सक्छ । हामीले सामना गर्ने वैश्विक चुनौतीहरूको कुनै प्रतिक्रियाको केन्द्रमा एक व्यक्तिको चरित्रको प्रश्न आउँदैन । यसले हाम्रो नैतिकता, परिस्थितिमा आउन सक्ने परिवर्तन र मानिसहरूको प्रतिक्रियाको दायरा निर्धारण गर्छ । आजको संसार द्रुत रूपमा परिवर्तन बने पनि भोलि निकै अनिश्चितजस्तै छ ।

समाजमा बसेपछि सामाजिक अनुशासन, नैतिकता र भावनात्मक एकताले मानिसलाई मानिसजस्तै बनाउँछ । यसमा अबको शिक्षाको भूमिका खोज्नुपर्छ । ुप्रकृति न कदापि खण्डिताु भन्ने संस्कृतको श्लोकलाई मानेर शिक्षा दिनुपर्छ । प्रकृतिबाहेक कुनै वस्तु सत्य छैन भन्ने मानक दिगो बनाउनु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्