१६ बैशाख २०८१, आईतवार

 

सुशासनको प्रत्याभुति भएमा युवा पलायन रोकिन्छ : प्रदिप पौडेल

बागलुङ । कांग्रेस नेता प्रदिप पौडेलले नेपालमा सुशासन कायम गर्न सकेमा युवा पलायन रोक्न सकिने बताएका छन् ।

कांग्रेसले आफ्नै पार्टीभित्रबाट यो अभियान थालेर देशलाई सुशासन युक्त बनाउनुपर्ने आवस्यकता उनले औल्याए । सुशासन कायम गर्न सके पार्टी संगठन चुस्त बन्ने र विकासले फड्को मार्ने पौडेलको भनाइ छ ।

आइतवारदेखि बागलुङमा शुरु भएको समुदायमा कांग्रेस अभियानको थालनी गर्दै पौडेलले पार्टी भित्र पनि भ्रष्टाचारीलाई कारवाही गर्ने बताए । उनले कांग्रेसले भ्रष्टाचारी जोगाउने कुनै काम नगर्ने प्रष्ट्याए ।

‘पार्टी भित्र निरन्तर आवाज उठीरहेको छ, महासमिति बैठकले यो विषय अझै प्रष्ट पार्छ’ पौडेलले भने, ‘राजनीति गरेको कारण कोही अब उम्कन पाउँदैन ।’

जुन नेताले संरक्षण गर्न खोज्छ उनीहरुनै कमजोर बन्ने पौडेलको भनाइ छ । ठूलो व्यपारी हुँ भनेर पनि भ्रष्टाचारको केशमा उन्मुक्ती नहुने उनले प्रष्ट्याए ।

भौतिक विकास धेरै भएर पनि युवा पलायन भएको विषय दुःखद भएको उनको भनाइ छ । पौडेलले नेपालमा सुशासन कायम गर्न सकेमा युवा रोक्न सक्ने पनि बताए ।

‘२०४६ पछि धेरै बिकास भए, तर भ्रष्टाचारका कारण युवामा नैराश्यता बढेको हो’ उनले भने, ‘दैनिक ४ हजार युवा विदेशीने दर बढ्यो भने नेपाल खाली हुन्छ ।’

विदेशिने युवाको भावनाले पनि नेपालमा सुशासनको खोजी गरेको पौडेलको भनाइ छ । कार्यक्रममा कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिले प्रश्न सोधेका थिए ।

प्रश्नकर्ताको पक्षमा रहेर संसद र पार्टीमा सुशासनको आवाज उठाउने उनले प्रतिवद्धता जनाए । उनले कतिपय बिषयमा कर्मचारीतन्त्र बाधक बनेको उनको टिप्पणी थियो । भ्रष्टाचारको विषयमा आगामी महासमिति बैठकबाट पनि स्पष्ट धारणा आउने उनले बताए ।

‘वन ऐन’ लागयतका विषयले कतिपय विकास रोकिएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराए । ‘यो ऐनले दिएन, यो कानूनले दिएन भनेर विकास रोक्ने, बिनियोजित बजेट फ्रिज गर्ने प्रवृत्तिले युवा रोजगारीको बाटो पनि बन्द भएको छ’ पौडेलले भने, ‘जनताले अब यस्ता कुरा पत्याउने छैनन् ।’

यो समेत नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ । समुदायमा कांग्रेस अभियान जनताले उठाउने यस्तै क्रियाकलापको समाधान खोज्न ल्याइएको उनले प्रष्ट्याए ।

हरेक जिल्लामा केन्द्रीय प्रतिनिधि मार्फत दुइ देखि तीन,साता सम्म वडावडा तहसम्म समुदायमा कांग्रेसको कार्यक्रम चलाएर सुझावको दस्तावेज पार्टी र सरकारमा पु¥याउने योजना उनले सुनाए ।

त्यसबीचमा शिक्षा र स्वास्थ्यमा समाजवाद, दिगो बिकास, स्थानीय सरकार र संघिय सरकारका अधिकार बारे पनि उनले पार्टीमा स्पष्ट बनाउने बताए ।

पछिल्लो समय शिक्षाको गुणस्तर खस्किनुमा राजनीतिक भागबण्डाले विश्वविद्यालय चलाइएको उनको टिप्पणी थियो ।

अब योग्यता र क्षमताको आधारमा विश्वविद्यालयको पदाधिकारी ल्याउने नीति बनाउन समेत दवाव दिने उनले बताए । पार्टी भित्रका युवा नेता र कार्यकर्ताको बलमा यी बिषयलाई पार्टीको नीति र सरकारको कार्यक्रममा समेट्न सकिने उनको विश्वास छ ।

उनले पोखरालाई पर्यटकीय राजधानी बनाएर युवा पलायन रोक्ने योजना पनि सुनाए । ‘पर्यटकीय राजधानी बनाउँदा पोखरामा एकलाख रोजगारी थप्न सकिन्छ’ उनले भने, ‘आसपासमा चल्ने व्यवसायले लाखौं युवा स्वरोजगार बन्न सक्छन् ।’

ती बिषयमा समेत पार्टी र सरकारको कार्यक्रम तत्काल आउनुपर्ने गरी पार्टीमा दवाव सिर्जना गर्ने उनले बताए ।पोखरा बिमानस्थल छिटो अन्तराष्ट्रिय तहमा संचालन गर्ने, मुग्लिङ पोखरा सडक समयमा सक्ने, राष्ट्रिय गौरवका आयोजना पुरा गरेर दिगो बिकासका योजना अगाडि सार्ने काम नगरे नेपालका युवा बिदेशिएर सकिने डर भैसकेको उनको चिन्ता थियो ।

यस्ता बिषयको सुझाव मार्फत पार्टी र सरकारलाई उत्तरदायी बनाउन समुदायमा कांग्रेस अभियान थालिएको पौडेलको स्पष्टोक्ती छ । यो अभियानकालागि बागलुङमा पौडेल सहित अर्का केन्द्रीय सदस्य प्रकाश स्नेही खटिएका छन् ।

‘जनताले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र जनजीविकाको विषयमा कसरी आवाज उठाउँछन् त्यो संकलन गरेर केन्द्रमा पठाउने योजना छ’ पार्टी सभापति जितबहादुर शेरचनले भने, ‘कांग्रेसप्रतिको जनताको बुझाइ र आसा बारे प्रष्ट भएपछि मात्र कांग्रेसको संगठन सुदृढ बन्नेछ ।’

ती सुझावको आधारमा आगामी वर्षको नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने उनले बताए ।

पार्टी सभापति जितबहादुर शेरचनको अध्यक्षता, सचिव गण्डकी थापाको संचालनमा सम्पन्न कार्यक्रममा दर्जनबढी कार्यकर्ता तथा सामाजिक क्षेत्रका व्यक्तिले कांग्रेसको नीति, सिद्दान्त र काम गराइ प्रति प्रश्न राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्