८ जेष्ठ २०८१, मंगलवार

 

देश बनाउने हो भने जोखिम मोलेर काम गर्नै पर्छ : सांसद डिल्लीराम सुवेदी

बागलुङ । गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले नेपालीहरुमा केवल नकारात्मकतालाई देखाएर पन्छिने बानीले समस्या भैरहेको बताउनु भयो ।

स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङले आयोजना गरेको नवआन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रममा बोल्दै सुवेदीले सबैले समस्या देखाएर पन्छिएर देशको विकास हुन नसक्ने हुँदा देशको विकासका निम्ति जोखिम मोलेर सेवा गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

‘हामीले नकारात्मकताको बारेमा धेरै चर्चा गर्न सकौंला, दुःखको महाकाव्य लेख्न सकौंला तर औंसीको अध्याँरोमा कतै जुनकिरीको उज्यालो रहन्छ भने हामीले त्यो जुनकिरीको उज्यालो आफूलाई बनाउनुपर्छ,’उनले भने,‘केही पनि नभएको होईन आधा गिलास पानीलाई हामीले आधा भरिएको देख्ने कि आधा खाली देख्ने हाम्रो आँखामा भर पर्छ ।’

सुवेदीले कसै न कसैले प्रयास नगरी यो देश नबन्ने उल्लेख गरे । स्नातकोत्तर तह प्रथम वर्षमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रममा धौलागिरि क्याम्पसका सञ्चालक समिति अध्यक्ष प्रा.डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय, पूर्वस्ववियु सभापतिहरु हिराबहादुर केसी, कमल अधिकारी, चिरञ्जीवी गौतम, निवर्तमान स्ववियु सभापति मनबहादुर थापा मनिष थापा, त्रिवि प्राध्यापक संघ धौलागिरि क्याम्पस इकाई सभापति भक्तिराम न्यौपाने, त्रिवि कर्मचारी संघ धौलागिरि क्याम्पस इकाई सभापति शिव पन्त, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश पन्त, अखिल क्रान्तिकारी विप्लवका सुजन विक, विद्यार्थीहरु नारायण खरेल, बिमला रिजाल, एल्ड्रिन थापा नव आगन्तुक विद्यार्थी समिर सेन्चुरी लगायतले मन्तव्य राख्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्