८ जेष्ठ २०८१, मंगलवार

 

शैक्षिक ज्ञान महायज्ञको प्रचार प्रसार तिव्र

गलकोट । गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका-३ ले श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ सफल गराउन देश तथा विदेशमा प्रचारात्मक अभियानलाई तीव्र पारेको छ ।

आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने शैक्षिक ज्ञान महायज्ञ २०८० सफल पार्नको लागि महायज्ञ मूल समारोह समितिका संयोजक घनश्याम शर्माको नेतृत्वमा आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख प्रशासकिय अधिकृत थम्मनसिंह गौतम, गलकोट नगरपालिका- ८ को वडा कार्यालय, जनजागृती माद्यमिक विद्यालय, शिव माद्यमिक विद्यालयका शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको गलकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चुडामणि शर्माले जानकारी दिनुभयो ।

गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक स्तरोन्नतीको लागि आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म कमलनयन गौतमको प्रमुख वाचकत्वमा श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

त्यस्तै राजधानी काठमाडौँमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रभु बैङ्कका सिईओ अशोक शेरचन लगायतसँग छलफल तथा अन्तरक्रिया गरीएको र उहाँहरुले महायज्ञ सफल पार्नको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष हर्क बहादुर पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै आजै चितवनमा बागलुङ गलकोट समाज गैडाकोटका अध्यक्ष कमल गौतमको नेतृत्वमा गलकोटबाट गैडाकोट बसाई सरी गएका गलकोटबासीहरुसँग र भरतपुरमा गैरे समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्