८ जेष्ठ २०८१, मंगलवार

 

पौँदीटारी आधारभूत विद्यालयको ४९ औँ वार्षिकोत्सव सम्पन्न

गुल्मी । पौँदीटारी आधारभूत विद्यालय बडिगाड गाउँपालिका ५ ग्वालिचौर बागलुङको ४९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयले आफ्नो स्थापनाको ४९ औँ वार्षिकोत्सवमा विभिन्न आन्तरिक खेलकुद तथा सांस्कृतिक र प्रतियोगितात्मक कार्यक्रम सहित सम्पन्न गरेको छ ।

सोमबार सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले शिक्षालाई सीप र व्यवहारसँग जोड्नुपर्ने भन्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले असिमित आवश्यकता र सिमित श्रोत र साधनका कारण चाहेर पनि भनेजति सहयोग गर्न नपाएको उहाँको भनाई थियो ।

शिक्षकहरुलाइ मागमा आधारित तालिम र सीप प्रदान गर्ने गरी गाउँपालिकाले योजना बनाएको भन्दै गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा मुख्य प्राथमिकता दिएर अगाडी बढिरहेको थापाको भनाई थियो ।

गाउँपालिकाले अधिकतम नागरिकका अपेक्षा पुरा गर्ने गरी काम गरेको भन्दै एकीकृत ग्रामीण मोबाईल स्वास्थ्य सेवा कार्यक्रम मार्फत टोलटोलमा स्वास्थ्य परीक्षण, अशक्त वृद्दहरुलाई घरमै पुगेर प्राथमिक उपचार प्रदान गर्ने तथा नागरिकका अपेक्षा र सुझाव संकलन गर्ने गरी जनतासँग पालिकासँग अध्यक्ष कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।

राज्यले दिने सेवा सुविधा वास्तविक नागरिकले पाउनुपर्ने भन्दै सोही बमोजिम योजना बनाएर अगाडी बढ्ने उहाँको भनाई थियो । फरक प्रसंगमा अध्यक्ष अधिकारीले विपन्न नागरिकहरु र एकल महिलाहरुका लागि उद्यमसँग जोडेर आर्थिक उपार्जनसंग जोड्न कार्यविधि निर्माण हुँदै गरको बताउनुभयो । त्यस्तै उहाँले बडिगाड गाउँपालिकाले ढुंगाखानी सञ्चालनका लागि पहल गरिरहेको भन्दै प्रदेश र संघ संरकारसँग दर्ता प्रक्रिया सहज र सहुलियत हुनुपर्ने माग राखेको उहाँले बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवम् मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीहरुले उप्रेरणामूलक मन्तव्य व्यक्त गर्दै विद्यार्थी, अभिभावक र शिक्षकहरुले गर्नुपर्ने कार्यहरुका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक टिका बहादुर भुजलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०३१ सालमा स्थापना भएको विद्यालयमा २०६१ सालदेखि अंग्रेजी माध्यममा पठनपाठन थालेको र हाल कक्षा १ देखि ८ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा अध्यापन हुँदै आएको बताउनुभयो । उहाँले विद्यालयको समग्र भौतिक, शैक्षिक प्रगति तथा उपलब्धी प्रस्तुत गर्दै, विद्यालयको आयव्यय, भावि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका अंग्रेजी माध्यम संयोजक राम बहादुर कुँवर नविनले विद्यालयलाई यो अवस्थासम्म ल्याई पुर्याउन विभिन्न माध्यमबाट सहयोग गर्ने सहित जग्गादाता, चन्दादाता र सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । त्यस्तै विद्यार्थीद्धारा निर्मित विभिन्न हस्तकलाका सामग्रीहरु शैक्षिक प्रदर्शनीमा राखिएको थियो । वार्षिकोत्सवको समापन समारोहको अवसर पारेर विद्यालयले आन्तरिक प्रतियोगीतामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, वडा नं २ का वडाध्यक्ष ढाल प्रसाद शेरचन, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक वुद्ध परियारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्