२३ बैशाख २०८१, आईतवार

 

शैक्षिक ज्ञानमहायज्ञ सफल पार्न ताराखोलामा अन्तरकृया

ताराखोला । आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म गलकोट बहुमुखी क्याम्पसमा सञ्चालन हुने श्रीमद्भागवत शैक्षिक ज्ञान महायज्ञ सफल बनाउन ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरकृया गरिएको छ

।गलकोट बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक स्तरोन्नतीको लागि आयोजना गरिएको श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ कथा वाचक कमलनयन गौतमको प्रमुख वाचकत्वमा सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

महायज्ञ सफल पार्नको लागि मूल समारोह तथा प्रचार प्रसार समितिका पदाधिकारीहरु जिल्लाका दश वटै पालिकामा प्रचार प्रसार, भेटघाट, अन्तरकृया सँगै निमन्त्रणा दिन पुग्ने गरेका छन ।

शैक्षिक ज्ञान महायज्ञको दिन नजिकिदैं गर्दा आज ताराखोला गाउँपालिकामा भेटघाट तथा अन्तरकृया गरिएको छ । अन्तरकृयामा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट बहुमुखी क्याम्पस यस क्षेत्रकै शैक्षिक धरोहर रहेको र निकट भविष्यमा समय सापेक्ष क्याम्पसको विकास र स्तर उन्नति गर्न आयोजना गरिएको शैक्षिक ज्ञान महायज्ञ सफल पार्न पालिकाको तर्फबाट आवश्यक समन्वय र सहयोगको लागि अनुरोध गर्नुभयो ।

निमन्त्रणा पत्र दिंदै नगर प्रमुख गैरेले क्याम्पसको सेवा क्षेत्र समेत रहेको र संघियता पछि फरक पालिका भएपनि गलकोटे भावना आज पनि उत्तिकै प्रगाड रहेको स्मरण गर्नुभयो ।

निमन्त्रणा पत्र ग्रहण गर्दै ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विक हिमालले २ वटा पालिका बिच भौगोलिक, सांस्कृतिक अनि भाईचाराको सम्बन्ध रहेकोले गाउँपालिकाबाट आवश्यक सहयोग र समन्वय हुने उल्लेख गर्नुभयो ।

सो अवसरमा गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष हर्क पाण्डेले शैक्षिक ज्ञानमहायज्ञको उद्येश्य लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्री र ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्र घर्तीले आफना धारणा राख्नुभएको थियो ।

अन्तरकृयामा नेकपा माओवादी केन्द्रका गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, वाईसिएलका केन्द्रिय सचिव नरेश केसी, जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

यस अघि जिल्लाको बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भईसकेको छ ।

शैक्षिक ज्ञान महायज्ञको लागि गलकोट माद्यमिक विद्यालयको प्राङ्गणमा आवश्यक पूर्वाधार निर्माण भईरहेको गलकोट बहुमुखी क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्