२३ बैशाख २०८१, आईतवार

 

न्यू एभरेष्ट एकेडेमीको १८ औँ वार्षिकोत्सव सम्पन्न

बागलुङ । गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले हाम्रो शिक्षाले देश विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन गर्नुपर्ने बताएकी छिन् ।

असल नागरिक बन्न प्रेरित गर्ने क्षेत्रको रूपमा शिक्षण संस्थाहरुलाई विकास गर्न सके उच्च शिक्षाको लागि विदेशिनु पर्ने विकराल अवस्थाको अन्त्य हुन्छ’ शनिबार न्यू एभरेष्ट एकेडेमी बागलुङको १८ औँ वार्षिकोत्सव, विद्यार्थी तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उपसभामुख थापाले भनिन्, ‘रोजगारीका लागि विदेश होइन स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्वन गर्नुपर्छ ।’

बहसमा रहेको संघीय शिक्षा ऐनले नीजि क्षेत्रका विद्यालयहरुलाई सम्बोधन गर्नुपर्ने बताउँदै थापाले विश्वमा बिक्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्बन गर्न सके मात्र देशमा बढ्दै गइरहेको शैक्षिक बेरोजगार र विदेश पलायन रोक्ने सकिने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा अधिवक्ता ममता देवी शर्मा, विवाईसीका अध्यक्ष तोयानाथ गौतम, बानपा १ का वडा सदस्य शान्ति देवी शर्मा, अभिभावक धनबहादुर परियार, एन प्याब्सनका केन्द्रीय सदस्य वालकृष्ण शर्मा विद्यार्थीहरु सुहाना पन्त, सुमन गौतम, डेनिस क्षेत्री र अनुषा कँडेललेले मन्तव्य राखेका थिए ।

उक्त अवसरमा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए । नेपालको शिक्षा नीतिमा नीजि क्षेत्रको योगदानको कदर हुने गरी शिक्षा नीति बनाउनुपर्ने समेत प्रतिवेदनमा उल्लेख थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव चापागाईको संचालन सम्पन्न भएको थियो।

कार्यक्रममा विद्यालय यसअघि संचालन गरेको कक्षा ७ सम्मका विद्यार्थी बीचको फुटसल प्रतियोगिताका विजयी खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बालबालिकाले विज्ञान प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्