१६ बैशाख २०८१, आईतवार

 

स्टालिनग्राद लडाइँको विश्वव्यापी महत्व

२ फेब्रुअरी १९४३ विश्व मानव इतिहासका लागि महत्वपूर्ण दिन हो। यसदिन तीन लाख ३० हजार नाजी सेनाको घेराबन्दीसँगै जर्मन फिल्ड मार्सल फ्रेडरिक भोन पाउलसले आत्मसमर्पण गरेका थिए र पूरा युरोपसँगै विश्व समुदायमा शान्तिको आशा पलाएको थियो।

मानव जातिको इतिहासमा हजारौं रक्तरंजित लडाइँहरू भएका छन्। यद्यपि, संसारको स्वतन्त्रताको भाग्यका लागि, सार्वभौमिकताको आकांक्षाका लागि, देशभक्तिका लागि लडिएका लडाइँहरूमध्ये स्टालिनग्रादको युद्धसमान अरू छैनन्।

जुलाई १९४२ मा सुरु भएर फेब्रुअरी १९४३ मा अन्त्य भएको सृष्टिको सबैभन्दा ठुलो लडाइँमध्ये एक ‘स्टालिनग्रादको लडाइँ’ २०० दिनरात चल्यो। यो मरणमारणको युद्धमा तीस लाखभन्दा बढी सैनिक एकअर्का विरुद्ध उत्रिए।

यो समर महान् देशभक्तिपूर्ण युद्धका क्रममा एक मोड साबित भयो र सोभियत सेनाको विजयसँग समाप्त भयो। सोभियत सेनाले यस संग्राममा प्रदर्शन गरेको अदम्य साहस, आत्म बलिदान र वीरताले सारा संसारलाई चकित गराइदियो र वर्षौंदेखि यातना शिविर र ग्यास च्याम्बरमा उकुसमुकुसिएको युरोपमा आशाको प्राण पलायो।

यस संग्रामको रणनीतिक महत्व यसकारण छ कि यो सफलतापछि सोभियत सेनालाई कहिल्यै पछि हट्नुपरेन। नाजीहरू, जो कुनै बेला रेड स्क्वायरमा मार्च गर्दै जर्मनीको विजयोत्सव मनाउने कुरामा विश्वस्त थिए, स्टालिनग्रादको पराजयपछि तिनैले जर्मनीमा तीन दिने शोक घोषणा गरे। साँच्चिकै विश्व मानव इतिहासकै त्रासदी र वीरतापूर्ण महाभारत थियो महान्दे शभक्तिपूर्ण युद्ध।

दोस्रो विश्वयुद्ध मानव इतिहासको सबैभन्दा रक्तपातपूर्ण र क्रूर युद्ध थियो। युरोप कब्जा गर्दै अघि बढिरहेका जर्मनलगायतका गठबन्धनले २२ जुन १९४१ को दिन बिहान झुल्किन नपाउँदै सोभियत भूमिमा आक्रमण गर्‍यो। योसँगै लाखौं घर, करोडौं नागरिक, सयौं सहर, हजारौं कारखाना र सङ्ग्रहालयहरू खरानी भए।

१४१८ दिन र रात चलेको यस युद्धमा सोभियत संघले लगभग दुई करोड ७० लाख मानिस गुमायो। ती दिनहरूले मानव समुदायलाई युद्धमा मारिएका, फासीवादी कैदमा यातना भोगेका, भोक र अभावबाट मरेका सबै क्षणहरूको दुःखद सम्झना गराउँछ।

युद्धले प्रत्येक परिवारमा शोक ल्यायो। भनिन्छ, सोभियत मुलुकमा एउटा पनि घर अछुतो छैन, जसको परिवारको सदस्य युद्धमा नमरेको होस्। हरेक घरले युद्धको पीडा भोगेको छ र बिछोडको साक्षी बनेको छ।

युगौंदेखि कैयन् युद्ध र झैझगडा झेल्दै बल्लतल्ल शान्तिपूर्ण संसारको निर्माणमा जुटेका सोभियतहरूको सपनालाई दुःस्वप्नमा परिणत गर्दै सोभियत संघमा आक्रमणको तीन महिनाभित्रै नाजी जर्मनीका सेनाहरू राजधानी मस्को नजिक आउन सफल भए।

राजधानी सहर कब्जा गर्ने तिनीहरूको सैन्य अपरेसनको नाम टाइफुन थियो। जसअन्तर्गत तिनीहरूले १९४१ नोभेम्बर ९ मा पर्ने अक्टोबर क्रान्तिको दिन आफूहरू रेड स्क्वायरमा परेड खेल्ने ऐलानसमेत गरे।

चारैतिर विनाश, पराजय र निराशाको कालो बादल मडारिएको यो बेला सोभियत जनतालाई यो युद्ध ‘सोभियत राज्यको जीवन र मृत्युको प्रश्न’ र ‘सोभियत जनता स्वतन्त्र हुने वा दासत्व स्विकार्ने’ भन्ने धर्मसंकटको विषय थियो।

राष्ट्रको जीवनमा आइपरेको यो कठिन र संकटको घडीमा सोभियत सर्वोच्च सुरक्षा कमान्डले सबै देशवासीलाई आह्वान गर्‍यो– ‘सम्पूर्ण देश रणमैदानका लागि, सबै विजयका लागि’।

यही नारा सन् १९४१ जुलाई १ मा राष्ट्रिय प्राव्दा दैनिकको पहिलो पृष्ठको हेडिङ बनेर बाहिर आयो। सरकारको यो नारालाई सम्पूर्ण सोभियत जनता, सबै वर्ग, सबै तप्का र सबै विचारधाराले समर्थन गरे। उनीहरूले आह्वानको प्रत्युत्तरमा ‘सबै मातृभूमिको रक्षाको लागि डट्ने’ भन्दै प्रतिबद्धताको शंखघोष गरे। यससँगै विभिन्न नारा तथा गीतहरू सिर्जना भए। तीमध्ये एक थियो–

‘मातृभूमि आमा बोलाउँदै छिन्

युवाहरू अघि बढ।’

यो गीत हामीले पहिलो वर्षमा रुसी भाषाको पुस्तकमा पढ्नुपथ्र्यो। त्यसैले अझैसम्म कण्ठस्थ छ।

दोस्रो विश्वयुद्ध जसलाई सोभियतहरू महान् देशभक्तिपूर्ण युद्ध भन्छन, जहाँ विभिन्न महासङ्ग्रामहरू भए। तीमध्ये स्टालिनग्रादको युद्ध सबैभन्दा ठुलो र सबैभन्दा भयङ्कर थियो।

दुईसय दिनरात चलेको यो युद्धमा होमिएका दुवै पक्षका अफिसर र सिपाही, ट्यांक, युद्धक विमान, तोप र मोर्टारहरूको संख्या, समर्पण र उत्सर्गको सन्दर्भमा स्टालिनग्रादको युद्धले पहिले गरिएका सबै सैन्य लडाइँहरूको रेकर्डलाई पार ग¥यो। स्टालिनग्राद युद्ध, जसको भयङ्करता र अवधिका लागि मात्र अद्वितीय छैन, बरु यो एक त्यस्तो युद्ध थियो जुन कुनै मैदानमा होइन, सहरको सीमाभित्र भएको थियो।

सुरुमा हिटलरले स्टालिनग्रादको कब्जालाई मामुली मानेका थिए। उसको मुख्य लक्ष्य त ककेसियाको कब्जा थियो। यद्यपि, सोभियत सेनाको दृढ प्रतिरोधका कारण स्टालिनग्राद युद्ध महासङ्ग्राममा परिणत भयो।

स्टालिनग्रादको युद्ध सोभियतहरूका लागि यसकारण पनि महŒवपूर्ण थियो कि यो सहर तिनीहरूका नेता स्टालिनको नामसँग र प्रतिष्ठासँग गाँसिएको थियो। स्टालिनलाई उनीहरू जनताका पिता भन्थे। युद्धको नारा पनि थियो– ‘सबै युद्धका लागि, सबै विजयका लागि, सबै स्टालिनका लागि’।

भोल्गा नदीको किनारमा अवस्थित स्टालिनग्राद सहर रणनैतिक हिसाबले अत्यन्त संवेदनशील भूगोलमा उर्वर ककेसिया, अजरबैजानको पेट्रोलियम खानी र युरालसमेत प्रवेशको बिन्दु थियो।

सेप्टेम्बर १९४२ मा फासिस्ट समूहले सम्पूर्णजसो भूभाग कब्जा गरेको घडीमा सर्वोच्च सुरक्षा हेडक्वाटरले कमान्डर जनरल भासिली इवानोविच चुइकोभको नेतृत्वमा रहेको ६२औं पल्टनलाई ‘कुनै पनि मूल्यमा सहरको रक्षा गर्नु’ भन्ने आदेश जारी गर्‍यो। स्टालिनद्वारा हस्ताक्षरित आदेश नम्बर २२७ को अर्थ थियो– ‘एक कदम पनि पछाडि नहट्नु’।

यससँगै चारैतिर नयाँ नारा गुन्जियो– ‘जा भोल्गोइ दल्या नास जेम्ली नेट’ अर्थात् भोल्गापछाडि हाम्रा लागि पृथ्वी छैन। यी शब्द शपथजस्तै भोल्गाका रक्षकहरूद्वारा दोहो¥याइए र लालसेनाका सबै जवानहरूले राम्ररी बुझे– ‘भोल्गाभन्दा बाहिर हाम्रा लागि कुनै भूमि छैन।’ स्टालिनग्रादमा सोभियत सैनिकहरूले हरेक सडक, हरेक घर, भोल्गाका किनारको रक्षा गरे। उनीहरू मृत्युसम्म लडे र तिनीहरूका कमान्डर चुइकोभ अहोरात्र तिनीहरूसँगै डटे।

६२ औं पल्टनले आफ्ना नेताद्वारा आदेशित कार्य रक्तरंजित र गहन लडाइँसँग पूरा गर्‍यो। जमिन जित्ने प्रयासमा भयङ्कर लडाइँ भयो। एउटा पाभलोभ भवनको रक्षार्थ मात्र पनि सोभियत वीरहरूले ५८ दिनसम्म प्रतिरोध युद्ध छेडे र आफ्नो अनुपम बहादुरीको विश्वव्यापी प्रसिद्धि प्राप्त गरे।

यो युद्धको दौरान जर्मनहरूका लागि स्टालिनग्राद एक काल भूमरी साबित भयो, जसले आफ्ना हजारौं सैनिक र अधिकारीहरू, सैन्य उपकरणहरू, ट्यांकहरू र विमानहरू फसाइरहन्थ्यो र निल्ने गथ्र्यो। तिनीहरूले पत्रमा स्टालिनग्राडलाई पृथ्वीमा नरकका रूपमा वर्णन गर्थे र लेख्थे– ‘हामीले हरेक दिन आक्रमण गरिरहेका छौं।

तथापि हामी बिहान २० मिटर अगाडि बढ्न सफल भयौं भने रुसीहरूले हामीलाई बेलुका धपाइहाल्छन्।’ एउटा अर्को पत्रमा एक जर्मनले आफ्नी आमालाई लेखे, ‘रुसीहरूले हार मान्दैनन्, तिनीहरू अन्तिम मानिससम्म लडिरहेका छन्।’

आखिर नोभेम्बर १९, १९४२ सोभियतहरूका लागि सामरिक सफलताको दिन साबित भयो। यस दिन लालसेनाको दक्षिण पश्चिमी, डन र स्टालिनग्राद मोर्चाहरू, निकोलाई भाटुटिन, कोन्स्टान्टिन रोकोसोब्सकी आदिको नेतृत्वमा र भोल्गा नौसेनाको संयुक्त प्रयासमा ठुलो प्रत्याक्रमण सुरु भयो।

सोभियत सेनाहरूले शत्रुको केन्द्र भागमा प्रहार गरे र तिनका रक्षात्मक घेराहरू तोडे। अन्ततः नोभेम्बर २३ मा ती मोर्चा एकापसमा जोडिएर तीन लाख ३० हजार शत्रुसेनालाई घेरे। यो दोस्रो विश्वयुद्धमा पहिलो पटक हासिल भएको सफलता थियो।

यो प्रत्याक्रमण अपरेसन गोलो घेराबन्दीमा परिणत भएसँगै फिल्ड मार्सल फ्रेडरिक भोन पाउलसको सेना पराजित भयो। जनवरी १९४३ को अन्तमा जर्मन फौजी इकाइहरू स्टालिनग्रादको भग्नावशेषका बिच एक सानो क्षेत्रमा फसे।

३१ जनवरी, १९४३ मा फिल्ड मार्सल जनरल फ्रेडरिक पाउलस, जसलाई जर्मन साम्राज्य (रिच) को गौरव भनिन्थ्यो र नाजी प्रेसले उनलाई हिटलरको मनपर्ने र सबैभन्दा प्रतिभाशाली रणनीतिकारमध्ये एक भन्ने गथ्र्यो, ले स्टालिनग्राद डिपार्टमेन्ट स्टोरको तहखानामा आत्मसमर्पण गरे। यसको दुई दिनपछि जर्मनहरूले पूर्णरूपमा प्रतिरोध रोके र फ्रेडरिक भोन पाउलससहित २४ जर्मन जनरल, तिनका २५ सय अफिसर र ९१ हजार जर्मन सिपाही कैद भए।

स्टालिनग्रादको युद्ध सानदार सोभियत विजयका साथ समाप्त भयो र महान् देशभक्तिपूर्ण युद्ध एवम् द्वितीय विश्वयुद्धको विजयका लागि कोसेढुंगा साबित भयो। यस महायुद्धमा करिब पाँच लाख सोभियत वीरले ज्यानको आहुति दिए भने जर्मनतर्फ तीन लाखभन्दा बढी मान्छेको क्षति भयो।

स्टालिनग्राद रक्षाका लागि सोभियत लालसेनाले प्रदर्शन गरेको उच्च बलिदानको सम्मान गर्दै ग्रेट ब्रिटेनका राजा जर्ज छैटौंले स्टालिनलाई तरबार उपहार पठाएका थिए। २९ नोभेम्वर १९४३ मा तेहरान सम्मेलनका बेला चर्चिलले स्टालिनलाई पत्रसहित उक्त उपहार सुम्पे।

सन् २०१५ मा भएको आफ्नो युरोप भ्रमणको सम्झना गर्दै सोभियत रुसी कलाकार भासिली लानोभोइ लेख्छन्– ‘युरोपमा पत्रकारहरूले मेरो अनुहारमा हेर्दै भने– तिमी रुसीहरू सधैं किन ‘विजय विजय’ भन्दै त्यसका पछि दौडिरहन्छौ ? हामीले त त्यसलाई पहिले नै बिर्सिसकेका छौं। मैले तिनीहरूलाई सोधें– तिमीहरूको देशले कति दिन हिटलरको प्रतिरोध गर्‍यो त ? मेरो जवाफ सुनेर तिनीहरू चुप लागे।

मैले तिनलाई भनें– पोल्यान्ड २८ दिनमा कब्जा गरिएको थियो तर त्यही २८ दिनमा स्टालिनग्रादमा जर्मनहरूले केही घरहरू मात्र कब्जा गर्न सकेका थिए।

डेनमार्क नाजी आक्रमणबाट एक दिन मात्र टिक्न सक्यो र हिटलरले सम्पूर्ण युरोप तीन महिनामा कब्जा ग¥यो, जसलाई हाम्रा सिपाहीहरूले ठुलो मूल्य चुकाएर स्वतन्त्र गराउनुपर्‍यो। युरोपेलीहरूलाई फासीवादबाट मुक्त गर्नका लागि कराडौं सोभियत सैनिकहरूले जीवन दिए तर युरोपले यो गुनलाई बिर्सन खोजेको छ।’

तिनीहरूले हाम्रो विजयलाई निस्तेज पार्ने प्रयास गरेका छन्, र यसलाई सम्पूर्ण पुस्ता र जनताको सम्झनाबाट मेटाउन उद्दत छन्।

सबैभन्दा महत्वपूर्ण सम्झनलायक कुरा यो छ कि दोस्रो विश्वयुद्धमा डेनमार्क ६ घण्टा, लक्जेमबर्ग एक दिन, हल्यान्ड पाँच दिन, युगोस्लाभिया ११ दिन, बेल्जियम १८ दिन, ग्रिस २४ दिन, पोल्यान्ड २७ दिन, फ्रान्स ४२ दिन, नर्वे ६१ दिन मात्र जर्मन सेनाविरुद्ध टिक्नसके, जब कि स्टालिनग्रादमा यौटा पाभलोभ भवनको रक्षाका लागि मात्र ५८ दिनसम्म लडाइँ भयो।

त्यसविपरीत सोभियत संघले चार वर्षसम्म युद्ध गर्‍यो र युद्धको समाप्ति पनि शत्रुलाई उसकै उद्गम थलोमा पु¥याएर ग¥यो। जर्मनीले आत्मसमर्पण ग¥यो। यो सबैले याद गर्नुपर्छ। हामीले हाम्रा छोराछोरी र नातिनातिनालाई यसबारे बताउन आवश्यक छ, ताकि सबैले वास्तविकता जानून्। यही कारणले हामी सधैं विजय विजय भन्ने गर्छौं।’

दोस्रो विश्वयुद्ध रुस, बेलारुस र युक्रेनको साझा दुःख, पीडा र बलिदानको इतिहास हो। नाजीहरूले आक्रमणको सुरुआत नै युक्रेनको किभमा बमबारी गरेर गरेका थिए। त्यसमा सहादत पाउनेहरूमध्ये एक करोड युक्रेनी थिए।

हामीलाई त्यो अतीत तितो लागे पनि त्यति बेलाको पिंढीका लागि तिनीहरू वर्तमान हुन्।

वर्तमान युक्रेन युद्ध अत्यन्त पीडादायी छ। ककसको स्वार्थले द्वन्द्वको यो अग्निमा घिउ थपिँदैछ रु यसको मूल्याङ्कन इतिहासले गर्ला तर पीडा युक्रेनी नागरिकहरू भोगिरहेछन् र युक्रेनी–रुसी सैनिकहरू मरिरहेछन्।

हिजो जुन भाइ भाइ स्टालिनग्रादको युद्धमा सँगसँगै होमिएका थिए, आज एकापसको मरणमारणमा उत्रिएका छन्। इतिहासमा योभन्दा ठुलो पीडादायी क्षण के हुन सक्छ।

सबैभन्दा पीडादायी अर्को कुरा इतिहासको त्यो गौरवमय गाथा, प्रमाण, तथ्य र बलिदानलाई आज तोडमरोड गर्दै, उल्ट्याइँदै, पुनर्परिभाषा गरिएको छ। हिजोका फासिस्टहरूलाई नायकीकरण गर्न थालिएको छ र खलनायकहरूको महिमा गाउन थालिएको छ। योसँगै हिजोको सर्वमान्य शालिक र प्रतिमाहरू उखाडेर फालिँदैछ।

आज विश्वमा नवनाजीवादले एक वा अर्को रूपमा टाउको उठाएर विभिन्न रूपमार्फत फेरि फासीवादको सर्वोच्चता सिद्ध गर्ने प्रयत्न गरेको बेला स्टालिनग्राड विजयको सम्झनाको विराट महत्व छ।

विश्वभर इतिहासको चिहानमा दफनाइएका फासीवादीहरूले धर्म, जात र रङलाई हतियार बनाएर कमजोर वर्गलाई ठुँगीरहेको अवस्थामा स्टालिनग्राड लडाइँको पाठ झनै सान्दर्भिक छ।

प्रतिक्रिया दिनुहोस्