१६ बैशाख २०८१, आईतवार

 

श्रीमान वुद्ध कुमार शाक्यको स्मृतिमा विद्यामन्दिर माविमा पाँच लाखको अक्षयकोष

बागलुङ । बागलुङ नगरपालिका ३ नयाँ बजार टोल जन्म घर भइ हाल काठमाडौं महानगरपालिका –१६ वनस्थलि निवासी श्रीमती चमेली शाक्यले श्रीमान वुद्ध कुमार शाक्यको स्मृतिमा विद्यामन्दिर माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ।

श्रीमानको स्मृतिमा श्रीमती चमेली शाक्य र छोरा बुहारी सिद्धार्थ शाक्य, जेनिसा बाएनकोबा र विजय शाक्य, राखि क्षेत्रीले शैक्षिक अक्षय कोष स्थापना गर्नु भएको हो ।

कोषबाट आएको व्याजले बालविकासदेखि १२ सम्मका विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने कार्यक्रम रहेको कोषका संस्थापक श्रीमती चमेली शाक्यले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

मैले यहि विद्यालयमा अध्ययन गरेर शैक्षिक योग्यता हासिल गरे आज अक्षयकोषको माध्यमबाट दिवंगत श्रीमानको नाममा सहयोगको आवश्यकता भएका विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेर उनीहरुको शैक्षिक भविष्य उज्ज्वल बनाउनु कोषको मुख्य लक्ष्य भएको शाक्यको भनाई थियो।

चमेली शाक्यका दाजु तथा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्वअध्यक्ष श्रवणलाल शाक्यले विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबु लाल शाक्यलाई विद्यालयको ८३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको थियो ।

छात्रावृत्ति वितरण गर्ने कार्यविधि बनाएर त्यही कार्यविधिमा आधारित भएर अक्षयकोषबाट आउने वार्षिक ब्याजले विद्यार्थीलाई सहयोग गरिने विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले जानकारी दिनुु भयो । व्यवस्थापन समितिको बैठकले खाता संचालनको निर्णयपछि अक्षयकोषको खाता खोलिने प्रधानाध्यापक रेग्मीले बताउनु भयो ।

‘श्रीमान वुद्ध कुमार शाक्यको सम्झनालाई जीवन्त राख्न चाहन्छु। मेरो परिवारको तर्फबाट स्थापना गरिएको अक्षयकोष उनकै सम्झनामा समर्पण गरिएको छ’, चमेली शाक्यले भन्नु भयो, ‘पढ्न नपाएका विद्यार्थीले सजिलै पढ्न पाउन, श्रीमानलाई सधैँ स्मरण गर्ने माध्यम बनोस्।’ उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्