२१ बैशाख २०८१, शुक्रबार

 

विद्यामन्दिर महिला फिडर छात्रावासका विद्यार्थीलाई पुस्तक उपहार

बागलुङ । विद्यामन्दिर महिला फिडर छात्रावासका विद्यार्थीलाई पठन संस्कृति र सकारात्मक सोचतिर प्रेरित गर्न पुस्तक उपहार दिइएको छ ।

नयाँ विश्वको सातौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार नयाँ विश्वका प्रधानसम्पादक निर्मलबहादुर श्रेष्ठले विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी र छात्रावासका ईन्चार्ज शिक्षक मन्जु थापालाई पुस्तक प्रदान गर्नु भएको हो ।

विज्ञान, साहित्य, इतिहास, दर्शन, उद्योग, स्वास्थ्य, जीवनीलगायत विधाका २६ थान पुस्तक छात्रावासलाई हस्तान्तरण गरिएको नागरिक सञ्चारका अध्यक्ष माधव शर्माले जानकारी दिनु भयो। पुस्तक रु दश हजार मूल्य बराबर रहेको छ । विभिन्न विधाको पुस्तकले विद्यार्थीहरुको कल्पनाशिलता र ज्ञानको दायर बढ्ने प्रधानाध्यापक रेग्मीले बताउनु भयो ।

पुस्तक ग्रहण गर्दै ईन्चार्ज थापाले विद्यार्थीलाई लक्षित गरी जीवनपयोगी र ज्ञानबद्र्धक पुस्तक दिएकोप्रति नयाँ विश्वलाई धन्यवाद दिनु भएको थियो । आर्थिक र सामाजिक रुपमा पछि परेका छात्राहरुलाई पुस्तकसँग नजिक बनाएर उनीहरुको जीवनमा सकरात्मक परिर्वतन ल्याउन यस खालको कार्यक्रमले सहयोग पुग्ने थापाको भनाई थियो ।

महिला फिडर छात्रावासमा बागलुङ, मुस्ताङ, मनाङ, म्याग्दी र पर्वत जिल्ला गरी २० जना छात्राले आवासिय सुविधा लिएर विद्यामन्दिर माविमा अध्ययन गरिरहेका छन् ।

विसं २०३६ सालमा प्राथमिक तहमा महिला शिक्षकको संख्या बढाउने र उनीहरुको उच्च शैक्षिक योग्यता हासिल गर्न सहयोग पुगोस भनि छात्रावास स्थापना गरिएको थियो । यस खालको दशैभरी २० वटा छात्रावास सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्