५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगरपालिकामा बालमैत्री अभियानले तिब्रता पाउदै, वडा नम्वर ३ मा बाल सञ्जाल गठन

बागलुङ । बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत बागलुङ नगरपालिका वडा नम्वर ३ मा आईतबार बाल सञ्जाल गठन गरिएको छ।

२०८१ पौष मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउनका लागि नगरपालिकाको बालमैत्री अभियान वडा केन्द्रित भएसँगै बालमैत्री अभियानले तिब्रता पाएको छ ।

बालमैत्री वडा बनाउनका लागि आइतबार राधाकृष्ण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा बालमैत्री स्थानीय शासन विषयक सरोकारवाला बीच अभिमुखिकरण कार्यक्रम एवं स्थानीय शासन वडा समिति तथा बालसंञ्जाल गठन पुर्नगठन कार्यक्रम गरिएको छ ।

बालमैत्री पालिका बनाउनका लागि सरोकारवालाले प्रतिबद्धता सहित हस्ताक्षरसमेत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बालबालिकाको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि बालमैत्री नगर घोषणा गर्न लागिएको बताउनु भयो ।

सक्षम नेतृत्व उत्पादन गर्नका लागि नगरपालिकाले बालमैत्री स्थानीय शासनको परिकल्पना गरेको भन्दै बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

समग्र क्षेत्रको विकासका लागि शिक्षानै मुल आधार भएकोले भावी समाज सभ्य, सुसंस्कृत एवं जिम्मेवार बनाउन र बालबालिकालाई हरेक दुर्घटनाबाट बचाउनका लागि बालमैत्री स्थानीय शासन महत्वपुर्ण रहेको श्रेष्ठको भनाई छ। कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, विद्यामन्दिर माविका प्रधानाध्यापक छविरमण रेग्मी, नगरस्तरीय बाल सञ्जालका सदस्य संगम क्षेत्री लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बालमैत्री नगरको विषयमा नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल र महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा नगरपालिकाले आयोजना गरेको चित्रकला तथा तथा वक्तित्व कला प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम वडा नम्वर ३ का वडा अध्यक्ष सनी केसीको अध्यक्षता कार्यपालिका सदस्य धनमाया शर्माको स्वागत र कालिगण्डकी आवासीय मालिका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सुश्मीत पौडेलको अध्यक्षतामा २३ सदस्यीय वडा स्तरीय बाल संजाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रणिशा अर्याल, सचिवमा अस्मीता जिसी, सहसचिवमा आयुशा कुँवर, कोषाध्यक्ष संगम क्षत्री रहनु भएको सहजकर्ता विमला आचार्यले बताउनु भयो ।बालमैत्री वडा समिति पछि गठन गरिने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्