२१ बैशाख २०८१, शुक्रबार

 

दलित आन्दोलनका अगुवा रामशरण सय वर्षमा

दलित आन्दोलनका अगुवा बागलुङका रामशरण घमाल विश्वकर्मा शुक्रबार सय वर्षमा प्रवेश गरेका छन्।

तत्कालिन मुलपानी पञ्चायत वडा नम्बर ३ घमालथर हाल बागलुङ नगरपालिका-६ घमालथर निवासी घमाल बुवा पूर्णवीर र आमा इन्द्रशेभाका सुपुत्रका रुपमा विसं १९८१ चैत २ गते जन्मेका थिए ।

उनी नेपालको दलित आन्दोलन तथा बागलुङमा सुनचाँदीको व्यवसायिक कालिगढको काम सुरु गर्ने व्यक्तिको रुपमा चिनिन्छन्।

उनले विसं २००० सालमा बागलुङ बजारमा सुनका गरगहना बनाउन सुरु गरेका थिए । १००औं जन्मोत्सवका अवसरमा उनको परिवारले शुक्रबार बागलुङ नगरपालिका-२ गोल्डेन गेट चोकस्थित निवासमा बैदिक विधि अनुसार अष्ठचिरञ्जीवी रुद्री तथा लक्ष्यवर्ती पूजा आयोजान गरेका छन् ।

त्यसको लागि उनका शुभचिन्तक, इष्टमित्रहरु भेला हुँदैछन् । दीर्घजीवनका लागि स्वस्थ आहार र निरन्तरको चिन्तन मनन आवश्यक रहने घमालको अनुभव छ।

नेपालको दलित आन्दोल, शिक्षाको ज्योती छर्न गाँउमा विद्यालय स्थापना, संस्कृतिको संरक्षण र विकास तथा बागलुङमा सुनचाँदी व्यवसायको क्षेत्रमासमेत योगदान दिएका घमाल नेपालमा मात्र नभइ भारतमासमेत सम्मानित भएका छन् ।

जसले गोठबाट सुन पसल सुरु गरे

घमालले आजभन्दा ८० वर्ष पहिले विसं २००० सालमा बागलुङ बजारमा व्यवसायिक रुपमा सुनका गहना बनाउन सुरु गरेका थिए ।

कामको लागि म्याग्दीको बेनी पुगेका घमाल त्यहाँ सुनका गहना बनाउने सिप सिकेपछि बागलुङ आएका थिए । उनले बागलुङ नगरपालिका-३ माझटोलको एक नेवारी परिवारको गोठमा सुनका गहना बनाउने काम सुरु गरेका थिए ।

तत्कालिन समयमा विवाहलगायतका शुभकार्यमा गहना बनाउँदा अधिकांशले घमाललाई सम्झन्थे र उनले घरघरमै पुगेर गहना बनाउने कामसमेत गर्दथे ।

भगत सर्वजीत विश्वकर्माका साथी

नेपालको पहिलो दलित विद्रोह बागलुङबाट सुरू भएको थियो । विसं २००३ सालतिर देशमा राणा शासनविरोधी आन्दोलन सुरू भएको थियो। आन्दोलनको प्रभाव दलित समुदायमा पनि देखिन थालेको थियो।

सोही समयमा दलितहरूको पहिलो संगठित आन्दोलन सुरु गरेका भगवत सर्वजीतसँगै दलित विद्रोहमा रामशरण पनि सच्चा सहयात्री थिए र दलित आन्दोलनको सुरुवात गरेका थिए ।

विश्वकर्मा समुदायका पण्डित

दलित आन्दोलनको अगुवा तथा दलित समुदायका पण्डितको रुपमा परिचित भगत सर्वजीतको संगतले उनले पनि दलित समुदायमा पण्डितको काम गरे । अध्ययनमा सँधै रुची राख्ने उनी धर्मग्रन्थका पुस्तकहरु अध्ययन गरे र आफैं पण्डित बने।

दलित समुदायमा हिन्दु परम्परा अनुसारका विवाह ब्रतबन्ध, न्वारन गर्ने शुभसाइत हेर्नेलगायत काम गरेर उनी विश्वकर्मा समुदायका पण्डितको रुपमा परिचित छन् ।

जसले ज्वाइँबाट शिक्षा लिए

आजभन्दा ७५/८० वर्ष पहिले शिक्षा लिने भन्ने कुरा धरै टाढाको विषय हो । त्यो बेला धेरै नेपाली पढ्न बनारस जाने प्रचलन थियो ।

त्यसमा पनि दलित समुदायको व्यक्तिमा चरम गरिबी, अभाव र शिक्षा दिने व्यक्तिकोसमेत अभाव हुने गर्दथ्यो ।

सोही समयमा रामशरणलाई पढ्नुपर्छ भन्ने ज्ञान आयो । आफ्ना बहिनीज्वाइँ हिक्मतसिँह विश्वकर्मा भारतीय सेनामा कार्यरत थिए ।

अचानक उनको स्वाथ्यमा समस्या आयो र उनले भारतीय सेनाको जागिरबाट अवकाश पाए र घर आए ।

हिक्मतले भारतमा रहँदा अध्ययन गरेका थिए र त्यहाँबाट प्राप्त शिक्षाबाट उने आफ्ना जेठान रामशरणलाई कखरा सिकाएका थिए ।

ज्वाइँबाट सामान्य शिक्षा र भगवत सर्वजीतसँगको संगतले धेरै कुरा सिक्ने तथा विभिन्न पुस्तक अध्ययनसमेत गरेर शिक्षा प्राप्त गरे ।

विश्वकर्मा माविका संस्थापक कोषाध्यक्ष

दलितलाई तल्लो जातमा राखेर अमानवीय व्यवहार भइरहेको बुझाउन भगत सर्वजीतले स्कुल खोल्ने निर्णय लिए। स्कुल चलाउन त्यतिबेला भवन थिएन।

दलितलाई पढाउने सरकारी नीति पनि थिएन। गाउँनजिकै हिलियापानीमा एउटा चौतारो थियो। त्यही चौतारोमा दलित केटाकेटी जम्मा गरेर भगत सर्वजीतले पढाउन थाले। स्कुलको नाम राखे, विश्वकर्मा प्राथमिक विद्यालय ।

दलितले पढ्न थालेको देखेर गैरदलितले जिल्लाका प्रमुखलाई खबर गरिदिए। जिल्ला प्रमुख चौतारीमै आए।

चौतारीमा पठनपाठन भइरहेको देखेर जिल्ला प्रमुखले के हो यो भनेर सोधेपछि भगत सर्वजीतले यहाँ हामीले स्कुल खोल्ने हो भन्ने जवाफ दिए।

त्यो देखेर जिल्ला प्रमुखले आफ्नो कार्यालयमा आएमा विद्यालयको स्वीकृत दिने बताए र दलित आन्दोलनबाट जन्मेको देशकै पहिलो दलित विद्यालयले स्वीकृति पायो।

तत्कालीन जिल्ला प्रमुखले भगत सर्वजीतको समूहलाई स्कुल खोल्न स्वीकृति मात्र दिएनन्, आर्थिक सहायता भनेर पाँच सय रूपैयाँ पनि दिएका थिए।

थप पैसाका लागि दलितहरूले घरघरै पैसा उठाउन थाले। कसैले पाँच रूपैयाँ चन्दा दिए त कसैले ३० रुपैयाँ। उनै रामशरण जसले पाँच सय रूपैयाँ चन्दा दिएका थिए ।

स्कुल खोल्न स्वीकृति पाएपछि उनीहरूले चौतारो भएकै ठाउँमा भवन बनाउन थाले र भगत सर्वजीतले स्कुल निर्माण समिति बनाए।

त्यसको कोषाध्यक्ष रामशरण बनेका थिए । विसं २००७ सालमा प्रजातन्त्र स्थापनापछि सरकारले विश्वकर्मा प्राथमिक विद्यालयलाई स्थायी स्वीकृति दियो।

सो विद्यालयको उनी विसं २०२२ सालसम्म संस्थापक कोषाध्यक्ष भएर काम गरेका थिए ।

विभिन्न संगठनको नेतृत्व

उनी भगत सर्वजीत विश्वकर्माको अगुवाईमा विसं २००६ सालमा गठित श्री विश्वकर्मा सर्वजन संघको केन्द्रीय संगठनमन्त्री भएका थिए ।

विसं २०१५ सालमा मनावीर विश्वकर्माको नेतृत्वमा गठन भएको विश्व सर्वजन सुधार समितिको केन्दीय सदस्य भएर काम गरेका थिए ।

विसं २०४९ सालमा श्री ज्योति पुञ्ज प्राथमिक विद्यालयको संस्थापक तथा अग्रणी सहयोगदाताबाट व्यवस्थापन समिति सदस्य र विसं २०६९ सालमा गर्ग गोत्रीय घमाल आचार्य कुल मूल सेवा समितिको वरिष्ठ सल्लाहकार भए ।

उनकै अग्रसरतामा विसं २०७१ सालमा गर्गगोत्रीय घमाल आचार्यको वंशावलीसमेत तयार गरिएको थियो ।

देशविदेशमा सम्मानित

विसं २०६६ साल मंसिर २३ र २४ मा भएको पच्चीसौँ राष्ट्रिय दलित साहित्यकार सम्मेलनका अवसरमा भारतीय दलित साहित्य एकेडेमीब डा अम्बेडकर फेलोसिप राष्ट्रिय सम्मानबाट सम्मानित भएका थिए । त्यस्तै बागलुङ उद्योग वाणिज्य संघबाट विसं २०६८ सालमा ज्येष्ठ नागरिक सम्मानबाट सम्मानित र विसं २०६८ सालमै नेपाल विश्वकर्मा समाजबाट पनि सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्