१६ बैशाख २०८१, आईतवार

 

सत्तारुढ दलको साझा संकल्प सार्वजनिक

सत्तारुढ राजनीतिक दलहरुले सरकारको मंगलबार साझा संकल्प सार्वजनिक गरेका छन् । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका हुन।

संकल्पमा कुनै पनि कालखण्डको भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि छानबिन गर्ने उल्लेख गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

‘भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएको विषयसँग सम्बन्धित विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी माथि कानुनी कारबाही गरी भ्रष्टाचारी एक दिन कारबाहीको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने’ साझा संकल्पमा भनिएको छ ।

फागुन २१ गते सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी छन्।

सरकार गठन भएको एक महिना नपुग्दै सरकार सञ्चालन गर्न सत्तारूढ दलहरूको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्