१५ बैशाख २०८१, शनिबार

 

१४ वर्षकी बलात्कृत बालिकाले धौलागिरि अस्पतालमा छोरीलाई जन्म दिइन्

बागलुङ । बलात्कारपछि गर्भवती बनेकी बागलुङको निसीखोला गाउँपालिका-३ झिवाखोलाकी १४ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छन् । धौलागिरि अस्पताल भर्ना भएकी उनले शनिबार बिहान ३ बजे छोरी जन्माएकी हुन् ।

धौलागिरि अस्पताल बागलुङका अनुसार उनले २.२ केजीको बच्चालाई जन्म दिएकी हुन् । अहिले बच्चालाई एनवीआइसीमा राखेर उपचार भइरहेको छ । बच्चा महिना नपुगी जन्मेकाले एनआइसीयूमा राख्नुपर्ने हो तर, यहाँ एनआइसीयू नभएपछि एसएनसियुमा राखेर उपचार भैरहेको छ ।

आमाको अवस्था सामान्य रहेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रवि रञ्जन प्रधानले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

बालिकालाई सुत्केरी व्यथा लागेपछि हिजो धौलागिरि अस्पतालमा भर्ना गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीले जानकारी दिनु भयो ।

उपाध्यक्ष घर्तीकै पहलमा बालिकालाई बिहीबार धौलागिरि अस्पतालमा भर्ना गरिएको हो । पीडित बालिकाकी आमाले शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका छन् ।

शुक्रबार निसीखोला गाउँपालिका-१ का विजय मल्लले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।गर्भपत गराउने प्रयास असफल भएपछि शाही फरार भएको जनाइएको छ ।

जाहेरी दर्ता भएसँगै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका मल्ल फरार भएका छन् । फरार युवकको खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।

परिवारले १ डेढ महिना पहिला घटनाबारे थाहा पाएपनि पीडक पक्षकले गाउँमै मिलाउन प्रयास गरेको कारण घटना ढिलो गरि बाहिर आएको कँडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्