१७ बैशाख २०८१, सोमबार

 

महिला हित सहकारीले मनायो ६७ औँ राष्ट्रिय सहकारी दिवस

बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा कार्यसमितिका सदस्य, उपसमितिका सदस्य र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेको थियो । सहकारीको महत्व, कार्यालय व्यवस्थापन, सेयर सदस्यहरुसँग सहकारीको संम्बन्ध र कार्यसमिति र कर्मचारीको भूमिकाको बारेमा जानकारी दिइएको थियो ।

दिवसको दोस्रो दिन ७० वर्ष नाघेका जेष्ठ सेयर सदस्यहरुलाई सहकारीले पेन्सन वितरण गरेको महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताइन् ।

२२ जना जेष्ठ सेयर सदस्यहरुलाई १५ सयको दरले पेन्सन वितरण गरेको सहकारीका सचिव सावित्री केसीले जानकारी दिनु भयो । यसै गरी सेयर सदस्य, कार्यसमिति र कर्मचारीको बीच मनोरञ्जनको लागि घैटो फोर कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी देवी जिसी केसीको स्वागत र सचिव सावित्री केसीको संचालनमा सम्पन्न भएको थियो ।

२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिला हित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो । २५ जना महिलाको २ हजार ५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको थियो । सहकारीले ८ जना महिलाहरुलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्