२३ बैशाख २०८१, आईतवार

 

हाजिरी जवाफ प्रतियोगितामा नमुना आवासीय मावि प्रथम, चिल्ड्रेन लाइफ द्धितीय र न्यू ओएसिस तृतीय

बागलुङ । साविक धौलागिरी अञ्चल स्तरीय व्यवस्थापन संकायमा आधारित हाजिरी जवाफ प्रतियोगितामा पर्वतको नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका छन् ।

धौलागिरी बहुमुखी क्याम्पसको बिबिए गुणस्तर समूहको आयोजनामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा अन्य ८ विद्यालयललाई पछि पार्दै नमुना आवासीय माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका हुन् । प्रतियोगितामा बागलुङको चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुल द्धितीय र न्यू ओएसिस एकेडेमीका विद्यार्थी तृतीय भएका छन् ।

प्रतियोगितामा विजेता, उपविजेताले क्रमशः नगद १५ हजार, १० हजार, र ५ हजार तथा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिन बहादुर थापाले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परिक्षा नजिकिदै गर्दा उक्त हाजिरीजवाफ प्रतियोगिताको आयोजनाले विद्यार्थीको अध्ययनमा सहयोग पुगेकोमा जोड दिनुभयो ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. राम प्रसाद उपाध्याय, बैङ्कर्स बागलुङका अध्यक्ष तथा कार्यक्रमका प्रायोजक ग्लोबल आईएमई बैंक बागलुङ शाखाका प्रमुख हेमराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा व्यवस्थापन संकायतर्फ कक्षा १२ मा आधारित पाठ्यक्रम सहित सामान्य ज्ञान, समसामायिक, नेपाली, सामाजिक, अङ्ग्रेजी, अर्थशास्त्र, लेखाशास्त्र, अडियोरभिडीयो र र्यापिड फायर राउण्ड गरी ९ विधामा प्रश्न सोधिएको क्याम्पसका विविए कार्यक्रम संयोजक जोहन व्रजाचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा साविक धौलागिरी अञ्चल भित्रका पर्वत, बागलुङबाट ९ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रम विविए गुणस्तर समूहका अध्यक्ष नारायण दत्त खरालको अध्यक्षता, सचिव दिपसागर सुवेदीको सञ्चालन तथा कोषाध्यक्ष वीरेन्द्र सापकोटाको स्वागतमा सम्पन्न भएको धौलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य गणेश आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्