१९ बैशाख २०८१, बुधबार

 

विद्यामन्दिर माविको भर्ना अभियानमा अभिभावक र विद्यार्थीको आकर्षण

बागलुङ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै चैत्र २३ गतेदेखि विद्यामन्दिर माध्यमिक विद्यालयमा भर्ना अभियान थालिएको छ । भर्ना अभियान सुरु भएको एक सातामै विममाविमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ ।

विद्यामन्दिर माविमा नेपाली र अग्रेजी माध्यमबाट पढाई हुने र क्रमश सुरु भएको शैक्षिक सुधार र शैक्षिक नतिजामा सकरात्मक परिणाम आउन थालेपछि यस विद्यालय प्रति अभिभावक र विद्यार्थीका आकर्षण बढ्न लागेको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले नयाँ विश्वलाई बताउनु भयो ।

शिक्षकहरुले टोलि बनाएर चैत्रको २६ गतेदेखि शहर गाउँको वस्तीहरुमा भर्ना अभियान सञ्चालन भएपछि भर्ना हुनेको संख्या बढ्ेको हो ।

बागलुङ नगरपालिका-३ को खहरे, सिम्ले, मूलपानी, बागलुङ नगरपालिका-६ लमगाउँ बागलुङ नगरपालिका-४ को उपल्लौर, पाकाथर, औडारचौर, बागलुङ नगरपालिका-१ को रामरेखा, वारि मालढुंगा, बागलुङ नगरपालिका-३ को गुठी, पेन्सन क्याप, वुद्ध चोक, लालिगुराँस चोक र श्रीनगर टोलमा भर्ना अभियान पुगेको र ९५ जना विद्यार्थीहरुले भर्नाको लागि फारम भरेको विद्यालयका सूचना अधिकारी शिक्षक कुलराज शर्माले जानकारी दिनु भयो ।

विद्यालयले वैशाख २ गते प्रवेश परीक्षा र बैशाख ६ गतेदेखि कक्षा सञ्चालन गर्ने जनाएको छ । बालबालिकालाई विद्यार्थी भर्ना अभियानका क्रममा स्कुल ल्याउन सहज भए पनि टिकाउन धेरै चुनौती थपिएकोले विद्यालयले जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरेको छ ।

विद्यालयमा विभिन्न शिक्षासेवीहरुले स्थापना गरेको अक्षय कोषबाट आउने व्याजको रकमबाट विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री र नगद सहयोगको पनि व्यवस्थापन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताउनु भयो ।

विगत वर्षहरुदेखि नै विद्यार्थी भर्ना अभियान सुरु भएपछि विद्यालयमा धेरै बालबालिका आए पनि उनीहरूलाई गुणस्तरीय शिक्षा दिलाउन र स्कुलमै टिकाइराख्न धेरै चुनौती रहेकोले विद्यालयले नियमित स्वास्थ्य परीक्षण, कोचिङ कक्षाको व्यवस्था, विभिन्न अतिरिक्त क्रियाकलापको व्यवस्था, शैक्षिक भ्रमण, सुविधा सम्मन्न विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था गरेको र मेहनती शिक्षकहरुबाट अध्यापनमा जोड दिएको अध्यक्ष शाक्यको भनाई थियो ।

विद्यामन्दिर माविमा शैक्षिक गुणस्तरमा सुधार हुन थालेपछि अभिभावक र विद्यार्थीहरुले विद्यालयलाई प्राथमिकतामा पर्न थालेको छ ।

विसं १९९७ सालमा राणा शासनको कठोर कालखण्डमा शिक्षासेवी ओमप्रसाद गौचन, मेघ कुमार वैध र उनका समकालिन साथीहरुले विद्यालयले स्थापना गरेका थिए । यो विद्यालय नभएको भए तत्कालिन धौलागिरि अञ्चलकै धेरै युवा पुस्ताहरु शिक्षाको उज्यालो घामबाट बन्चित हुने थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्