बागलुङ । काठेखोला गाउँपालिकाले कृषि, शिक्षा, उद्यमशिलता र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको छ । शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष राजु थापाले प्राथमिकताका क्षेत्रलाई अध्यक्ष र उपाध्यक्षको नाम जोडेर कार्यक्रम र आर्कषक नारा समेत बनाएर प्रस्तुत गरे ।
अध्यक्षसँग दलित नागरिक स्वास्थ्य बिमा कार्यक्रम, सीप विकास कार्यक्रम, उद्यमशिलता परियोजना र शैक्षिक सुधार योजना समेत समावेश गरिएको हो ।
त्यस्तै उपाध्यक्षसँग सघन र नियमित अनुगमन कार्यक्रम समेत राखिएको हो । स्वास्थ्य तर्फ सबै वडामा भवन सहितको स्वास्थ्य सेवा दिने, दलित समुदायको निशुल्क बिमा लगायतका कार्यक्रम जोडिएको हो ।
त्यस्तै कृषि विकासकालािग पुस्तौ पुस्तादेखि गरिंदै आइएको कोदो, मकै र धानको बीउ नष्ट हुन नदिन बीउ संरक्षण अभियान पनि संचालन गरिने भएको छ ।
किसानले स्थापना गरेका साना उद्योगको संरक्षण गरिने छ । वडा नं। ८ का किसान चानसिंह श्रीषले स्थापना गरेको कोदोको बिस्कुट बनाउने उद्योगको प्रवद्र्धन र बजारीकरणमा साथ दिने भएको छ । श्रीषले नेपालमै पहिलो पटक कोदोको बिस्कुट उत्पादन गरेर बजारमा ल्याएका छन् ।
दुध किसानलाई प्रोत्साहन गरेर उत्पादन बढाउने नीति अनुसार समूहमा चिलिङ भ्याटको व्यवस्था गर्ने, त्यसका लागि कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संचालन गर्ने योजना सार्वजनिक भएको हो ।
तरकारी खेती गर्ने किसानलाई मिनिकिट अनुदान दिने, कृषि पकेट पूर्वाधार विकास कार्यक्रम, बीउ तथा विषादीमा ५० प्रतिशत अनुदान, मौरी पकेट क्षेत्र बनाएर उत्पादन गर्ने किसानलाई प्रोत्साहन गरिने छ । दलीत समुदायबाट दुध उत्पादन भएमा गाउँपालिकाले बजारीकरणमा साथ दिने र दूध विक्री हुने वातावरण बनाउने योजना थापाले सार्वजनिक गरे ।
किसान र उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा साथ दिन ‘काठेखोला कोसेली घर’ स्थापना गरिने भएको छ । किसान र उद्यमीको डिजिटल प्रोफाइल तयार गरेर अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम पनि ल्यााइएको हो ।
लोप हुन लागेको गोरु जोगाउने भन्दै ‘गोरुलाई पोषण, किसानलाइ प्रोत्साहन’ कार्यक्रमपनि सार्वजनिक गरेका हुन् ।
पशुपालनको लागि नै सामुदायिक वन र बाँझो जमिनमा फलफूल, गिठा भ्याकुर र कन्दमुल जस्ता फलफूल उत्पादन गर्ने नीति पनि बनेको छ ।
सुत्केरी सट्टा शिक्षक राख्ने, विद्यार्थीलाई नै सेनिटरी प्याड बनाउन लगाएर उपभोगमा प्रोत्साहन गर्ने र विद्यार्थीकै आम्दानी बढाउने तथा सिकाई परियोजना सफल बनाउन ठूली दिदी प्रोत्साहन कार्यक्रम संचालन गरिने छ । विद्यालय शिक्षाबाट पञ्चितलाई यो कार्यक्रमा जोड्न लागिएको हो ।
स्वास्थ्य तर्फ नसर्ने रोगले जटिल समस्या भएकालाई उपचारमा साथ दिने, समस्यामा परेकालाई मासिक ५ हजार उपचार खर्च दिने व्यवस्था गरिएको छ ।
स्मार्ट स्कुल, विद्यालयमा विद्युतीय हाजिरी लगायतका सुधारका कार्यक्रम पनि संचालिन हुने भएका छन् । प्रतिभा पहिचान कार्यक्रम र सृजनशिल शुक्रवार पनि विद्यालयमा संचालन हुनेन् ।
सुत्केरी भएर विद्यालय जान नसकेको अवस्थामा सट्टा शिक्षक राखिनेछ । लोप हुन लागेका गीत संगीत, जात्रा र संस्कृतिको संरक्षण, प्रवद्र्धन र उजागरमा जोड दिने योजना छ । आदिवासी जनजातीहरुको कला संस्कृतिको अभिलेखीकरण गर्ने, मगर बाहुल्य क्षेत्रमा भाषा कक्षा संचालन गर्ने योजना पनि छ ।
पूर्वाधार तर्फ भने मध्य पहाडी लोकमार्गको कालोपत्रेका लागि आम नागरिकले गरेको दवाव र आन्दोलनमा पालिकाको समर्थन भएको र योजना छिटो सक्न दवाव सिर्जना गर्ने र वडा मुकाम जोड्ने सडक स्तरीय बनाउने लक्ष छ ।
विपत व्यवस्थापन सँगै आन्तरिक कामलाई डिजिटल प्रविधिमा निरन्तरता दिने र अब्बल बनाउने लक्ष्य पनि राखिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुतीकरणपछि विधेयक समितिको तर्फबाट वृहस्पति कँडेलले नगर प्रहरी संचालन विधेयक, सामाजिक विकास समितिका संयोजक खड्क थापाले खानेपानी तथा स्वच्छता सम्बन्धी विधेयक, आर्थिक विकास समितिका संयोजक लक्ष्मण पुनले साझेदारीमा गर्ने काम सम्बन्धी विधेयक सभामा पेश गरेका थिए ।
गाउँपालिकाले समाजको विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान पनि गरेको छ ।
गाउँपालिकामा सेवा गरेका चन्द्रदत्त कँडेल, विस्कुट उद्यमी चानसिं श्रीष, किसान प्रेम कँडेल, स्काउटका अगुवा होमनाथ गौतम, खेलाडी बादल कार्की, किसान जिवराज शर्मासहित वार्षिक परीक्षामा उत्कृष्ठ हुने विद्यालय र विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
तस्बिर इपरिन्युजबाट

































































































































































































