५ कार्तिक २०८३, बुधबार

 

बरेङ गाउँपालिकाको बजेट ३८ करोड १५ लाख

- सडक, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनमा विशेष जोड

बागलुङ । जिल्लाको बरेङ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

बुधबार आयोजना गरिएको १३ औं गाउँ सभाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि ३८ करोड १५ लाख ११ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने बरेङ पहिलो स्थानीय तह बनेको छ ।

यसअघि यहाँका कुनैपनि स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट पारित गरेका छैनन् ।

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ करोड ७६ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँट ९वन रोयल्टी र विद्युत समेत० ७ करोड ५ लाख ९९ हजार ९९ सय, सशर्त अनुदान १८ करोड २७ लाख, ९९ हजार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८९ लाख १७ हजार, प्रदेश राजश्व बाँडफाँट ४० लाख ९५ हजार, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान २ करोड, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान ४० लाख र समपूरक अनुदान ६० लाख, गत आ।व।को अल्या ३५ लाख, पालिकाको आन्तरिक आय ४० लाख गरेर बजेट ल्याईएको हो ।

गाउँ सभामा बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले ‘समृद्ध बरेङ, सुखी बरेङबासी’को दिर्घकालीन लक्ष्य हासिल गर्न उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक, सामाजिक र मानविय विकासमा जोड, सुशासन, सामाजिक न्यायमा आधारित समता मूलक समाज सहितको गाउँपालिकाका रूपमा स्थापित गर्न बजेट केन्द्रित रहेको बताए ।

कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, सामाजिक विकास क्षेत्रलाई विशेष दिने, स्थानीय स्रोत साधनमा आधारित घरेलु तथा साना उद्योगहरू स्थापनाका साथै स्वरोजगरी सिर्जनाका लागि प्रोत्साहन गर्ने, समाजवाद उन्मुख व्यवस्था निर्माण गर्न सामाजिक न्यायसहित समतामूलक समाज र सामुहिकतामा आधारित कार्यक्रमहरूको व्यवस्था गर्ने, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि पर्याप्त लगानी वृद्धि गर्ने, आधारभूत स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, प्रभावकारी, गुणस्तरीय र सुविधायुक्त बनाउने र विकासमा गरिएको प्रतिफलले पुनः विकासमा टेवा पुर्याउने गरी बजेट विनियोजन भएको पुनले बताए ।

कृषि क्षेत्रमा ६० लाख, पशुपालनमा ५५ लाख, पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि १५ लाख र सहकारी शिक्षाका लागि पाँच लाख विनियोजन भएको छ ।

शिक्षा क्षेत्रका लागि १ करोड ५९ लाख ४२ हजार, स्वास्थ्य क्षेत्रका लागि १ करोड १८ लाख ८९ हजार, भाषा, संस्कृति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि १८ लाख र पूर्वाधार विकासका लागि ३ करोड ३० लाख, वन तथा वातावरणका लागि ५ लाख, सूचना प्रविधिका लागि ११ लाख ४० हजार र श्रम तथा रोजगारीका लागि आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

बजेट प्रस्तुत हुनुअघि अध्यक्ष शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सोही नीतिलाई कार्यान्वयन गर्ने गरी बजेट आएको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung