५ कार्तिक २०८३, बुधबार

 

बडिगाड गाउँपालिकाको १५ औँ गाउँ सभा : हाईड्रोजन ग्यासको व्यवसायिक उत्पादन गर्ने

- शिक्षा, स्वास्थ्य, सडक, कृषि, पशुपालन, सहकारी र पर्यटनमा जोड

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८१ र ०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

समृद्ध बडिगाड, खुशी बडिगाडवासी भन्ने लक्ष्य सहित आर्थिक वर्ष २०८१ र ८२ को नीति तथा कार्यक्रम सार्वजनिक भएको हो ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले १५ औं गाउँ सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनप्रतिनिधि शासक होइन, जनताका सेवक हुन् भन्ने मान्यतामा रहेर काम गर्ने बताउनु भयो।

सुशासन तथा संस्थागत विकासमा भ्रष्टाचारमा शुन्य सहनशिलता सुशासनको प्रतिवद्धता भन्ने नारालाई अगाडि सारिएको नीति तथा कार्यक्रममा गाउँपालिकाबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन सेवाको मापदण्ड तय गरि कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ ।

गाउँपालिकाले बडिगाडको ईच्छा, गरी खाने शिक्षा भन्ने नारा सहित विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन र कक्षा घटाउने नीति अबलम्बन गर्ने जनाएको छ ।

त्यस्तै विद्यालयका प्रधानाध्यापकहरुलाई प्रोत्साहन गर्ने, स्थानीय पाठयपुस्तक कक्षा ४ देखि ८ सम्म पठनपाठन सञ्चालन गर्ने, पोषणमैत्री स्थानीय तह घोषणाका लागि थालनी गर्ने, विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकहरुका वास्तविक समस्या नजिकबाट बुझ्न र समस्या समाधान गर्न गाउँपालिका अध्यक्षसँग मेरा कुरा कार्यक्रम सञ्चालन गर्ने पढाई मेला आयोजन गर्ने, उत्कृष्ट शिक्षक पुरस्कृत गर्ने लगायतको नीति लिएको छ ।

त्यस्तै प्रत्येक विद्यालयमा योग शिक्षा सञ्चालन गर्ने र अनाथ बालबालिकाहरुका लागि गाँस, बास र कपास सहित निःशुल्क शिक्षाको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पर्याउन एकीकृत जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरी घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने, गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य बिमा गर्ने, १५ शैयाको अस्पताल सञ्चालनमा ल्याउने, विद्यालयहरुलाई जंगफुड मुक्त घोषणा गर्ने, खानेपानीको शुद्धता मापत गर्ने, विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने नीति लिएको छ ।

७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने, छोरीसँग गाउँपालिका अध्यक्ष कार्यक्रम मार्फत उच्च शिक्षा छिमेकी पालिकाका क्याम्पसहरुमा पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने, छोरीलाई सम्पति उपलब्ध गराउने अभिभावकलाई सम्मान गर्ने र एकल महिलाहरुका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकिरण, व्यवसायिकरण तथा कृषि उपजको बजारीकरणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषकहरुको तथ्यांक संकलन गरी कृषक परिचयपत्र वितरण गर्ने, कृषि अनुदानलाई व्यवस्थित गर्ने, परम्परागत तरकारीहरु निउरो, जलुका, भाँडे, बाँको, ढकाय, च्याउ, खोले सागलाई संरक्षण तथा उपयोगमा जोड दिने, भाँगो खेतीलाई नगदेबालीको रुपमा विकास गर्ने, जंगली जनावर र बाँदरबाट बालीनाली जोगाउन वनजंगलमा फलफुलका विरुवा रोपण गर्ने, एक करेसाबारी एक घर एक फलफुल कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

दूध, मासु, अण्डा, र माछा उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बनाउने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुलाई पुन ः एकीकरण कार्यक्रम सञ्चालन गरी तथ्यांक संकलन गर्ने, एक वडा एक पर्यटकीय गन्तव्य बनाउने, लक्षित वर्गका परम्परा, भाषा र बाजागाजा, रितिरिवाज, संंस्कृती संरक्षण एवम् संवद्र्धनमा सहयोग गर्ने, ढुंगाखानी उद्योग र स्थानीय मदिरालाई ब्राण्डिङ उद्योग सञ्चालन गर्ने, मद्यपहाडी लोकमार्गमा सडक वत्ति विस्तार गर्ने नीति गाउँपालिकाले लिएको छ ।

पालिकाले हाईड्रोजन ग्यासको व्यवसायिक उत्पादन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बडिगाड गाउँपालिका वडा न २ को गिरिड्दी खोला लघुजलविद्युत परियोजनाबाट ईनर्जी फाउन्डेसन नेपालसँग सहकार्य गरी हाईड्रोजन ग्यास उत्पादन गरी आम नागकिको घरमा पुर्याउनका लागि अगाडि बढिने अध्यक्ष थापाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung