समस्याग्रस्त घोषित शिवशिखर सहकारी संस्थाको ललितपुरको गोदावरी-१४ ठैबस्थित गार्डेन मार्ट लिलामीमा बिक्री गरिने भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै एक रोपनी २ आना जग्गामा रहेको मार्टको संरचना, भित्र भएका सामान तथा सहकारी संस्थाका फर्निचर, कम्प्युटर बिक्रीमा राखेको हो। न्यूनतम एकमुस्ट मूल्यांकन १ करोड १५ लाख ७८ हजार ८ सय ३५ रुपैयाँ तोकिएको छ।
ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४ ठैबस्थित गौरीलाल श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ३२८ को क्षेत्रफल १ रोपानी २ आना जग्गामा संस्थाबाट संरचना निर्माण गरी गार्डेन मार्ट तथा सहकारी संस्था शाखा सञ्चालनमा रहेको थियो ।
मूल्यांकन रकमभन्दा कम नहुने गरी बढीबढाउमा सकार्न चाहे सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र समितिको कार्यालयमा उपस्थित भई गोप्य शिलबन्दी निवेदन दिन समितिले आह्वान गरेको हो ।
समितिले देशभरिका अन्य मार्टमा रहेका समान पनि मागदाबी फिर्ता लिने सर्तमा बचतकर्तालाई लिन आवदेन दिने गरी सूचना प्रकाशित गर्ने तयारी गरेको सदस्यसचिव केशवप्रसाद पौडेलले बताउनु भयो । सम्बन्धित स्थानीय तहको सहकारी शाखामा निवेदन दिनुपर्ने र समितिका कर्मचारी तथा पदाधिकारी उपस्थित भएर मूल्यांकन गरी सामान दिइने पौडेलले बताउनु भयो ।
२५ भदौ २०८० मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शिवशिखर सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्दै सम्पत्ति तथा दायित्व राफसाफ गर्न समितिमा पठाएको थियो । सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा भए पनि सहकारी सञ्चालक समिति खारेज भएर सञ्चालक समितिले गर्ने सम्पूर्ण अधिकार व्यवस्थापन समितिले गर्ने व्यवस्था छ ।
समस्याग्रस्त घोषणा भएको एक वर्षसम्म समितिले बेवारिसे छोड्दा देशभरि रहका २२ मार्टमा सबै सामान काम नलाग्ने र चोरी समेत भइसकेको समितिका कर्मचारी बताउँछन् । अहिले समितिले जग्गा भाडामा लिएर सहकारी मार्ट सञ्चालनका लागि बनाएको संरचना र कार्यालयमा रहेका फनिर्चर लगायत सामान लिलाम गर्न लागेको समिति सदस्यसचिव केशवप्रसाद पौडेलले बताए ।
















































































































































































































